कोसेली : उमा सिजापती ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,फागुन ७ ।
गाउँ फर्किनुअघि काकीलाई भेट्न पाटन गएकी थिएँ । घरभित्र नछिर्दै ठूलो आवाज प्रष्ट सुनेँ, ‘यो मैचा, कटि माट्टिएको हो कटि । नाटीहरुको सानो भा लुगा लैजा भेनेको ट्यसलाई पुगिसरी आ छ । के लान्छ ?’ यति सुनिसक्दा नसक्दै म भित्र पसेँ । मलाई देख्ना साथ भन्नु भयो, ‘यो आएछ । ठीकै बेलामा आइस् । ‘मसिना लुगाहरुको थुप्रो देखाउदै भन्नु भयो ‘यो लगेड गाउँमा बाडि दे ।’ मनमनै खुसी लाग्यो । गुदपाक त किनी सकेकी थिएँ । छोराको सानो भएको लुगाहरु पनि छानिदिएकी थिएँ । अझै थपिने भयो । केही समय फाटेको लुगा त लगाउनु पर्दैन् । काकीलाई भने, ‘अब सबै लुगा लगेर सोनु र छेदियालाई बाडिदिने छु ।’
म काठमाडौं आउने बेला सोनुले भनेको थियो, ‘फुपू हामीले कहिले गुदपाक खाएको छैनौ । कोसेली त्यही ल्याईदिनु होस् ल !’
छेदियाले भनेको थियो, ‘फूपू हामीलाई कोसेली लगाउने लुगा ल्याईदिनुहोस् ल ! यी हाम्रो लुगा हेर्नुहोस् त !’
वर्षाको दिनमा पानीले भिजेको लुगा भए पनि जिउमा नै सुक्ने गर्थ्यो।सायद चिसो गाडिएकोले होला नाकबाट पहिलो सिँगान स्वात्त तल झार्थे । फेरि माथि स्वा गर्दै तान्थे । कहिले फाटेको बाहुलामा सिं गरेर पुछ्थे ।
मैले छिमेकी बहिनीको मोबायलमा फोन गरेर छेदियालाई बोलाउन लगाए ।
‘तिमीहरु दुवैले भनेको कोसेली ल्याईदिने भए नि ! ‘छेदियाले रुन्चे स्वरमा भन्यो, ‘हामीलाई कोसेली गुदपाक चाहिदैन । बरु चाढै आउनु होस् न !’
अचम्म लाग्दै मैले सोधे ‘किन नि ?’
उसले बतायो,’ आमा, बाबुको अहिले काम छैन । पेट भरि नखाएको धेरै भैसक्यो । तपाईं हुँदा त भोकै बस्नु परेको थिएन नि !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक