दिव्य पारौँ : गङ्गा आचार्य सापकोटा ( कविता )

दिव्य पारौँ : गङ्गा आचार्य सापकोटा ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ २९।

पाखा पखेरा फगटा र फाँट
बारी बिरौटा भिर टार खेत
चौतर्फका ती परिवेश हाम्रा
सौन्दर्यले छन् भरिपूर्ण राम्रा ।१।

ज्यादै चमत्कार दिने कला छन्
चाँदी जडेका हिम शृङ्खला छन्
माया फिँजाई भवमा अनेक
बस्छन् त्यहीँ देव उमाउमेश ।२।

पन्छीहरू छन् पशु छन् प्रशस्त
रम्दै घना जङ्गलभित्र मस्त
रङ्गी बिरङ्गी वनफूल फुल्छन्
मौरी हमेसा रस चुम्न डुल्छ्न् ।३।

भाका मिलाई नित कल्कलाई
बग्छन् नदी नादहरू सुसाई
धर्ती र आकाश दुबै सुरम्य
यो भूमिझैँ दिव्य कहाँ छ अन्य ?।४।

मान्छेहरू छन् बहु जात भाषी
बस्छन् मिली आपसमा तथापि
संस्कारमा संस्कृतिमा छ गर्व
छन् भिन्न आफ्नै सब धर्म कर्म ।५।

छ्न् द्रव्य खानी पनि यत्रतत्र
भौतारिँदै छौँ नबुझेर मात्र
हामी हुँदै छौँ मृगका समान
आफ्नै सुगन्धी पहिचान छैन ।६।

राम्रो भएमा मनसाय हाम्रो
यो देश बन्नेछ सदैव राम्रो
माटो झनै पौरखले सुधारौँ
पाल हाम्रो अझ दिव्य पारौँ ।७।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।