मेरो देश : कृष्ण काफ्ले ( कविता )

कपन अनलाइन
काठमाण्डौ ,माघ २९।

भन्छन सतिले सरापेको देश
मतदाता भन्दा म त माग्ने धेरै भएको देश
जनता भन्दा जनप्रतिनिधी धेरै भएको देश
ब्यपारी भन्दा नेता धनी भएको देश ।।
मेरो देश
कलाकार परोपकारि भएको देश
कर्मचारीले चाकरी गरेको देश
अङ्ग्रेजी बोल्नेलाई सभ्य मान्ने देश
सन्तान बिदेशमा बस्दा गर्ब गर्ने देश ।।
मेरो देश
सासू र बुहारीलाई सधै बैरी देख्ने देश
ज्वाइलाई मधुमेह लागुन्जेल ख्वाउने देश
आफ्नो कुनै राष्ट्रिय भेषभुषा नभएको देश
प्रजातन्त्र लोकतन्त्र गणतन्त्र भएको देश ।।
मेरो देश
पिच सडक मा धुलो उडने देश
धुलो सडकमा महङो मोटर कुद्ने देश
पहुँच अनुसार कर छुट पाउने देश
नेता जतिलाई राज्यले उपचार गरिदिने देश ।।
मेरो देश
राष्ट्र निर्मातालाई बिर्सिएको देश
धर्मको किनबेच हुने देश
इतिहास लाइ अभिसाप मान्ने देश
बिद्वानले नबुझेको देश ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।