पैसाको मुख : जेबी खत्री (लघुकथा )
यसले जग्गा किनेर घर बनाउँन सुरू गरेपछि आफन्त छरछिमेक सबै छक्क परे । यसले कहाँबाट ल्यायो यत्रो घर बनाउँने पैसा । पेशाले त्यत्रो ठुलो जागिरे पनि हैन । घरको अवस्था पनि कता हो कता राम्रो छैन । भाग्यमा छ भने त धन कमाउँन टाढा जानु पर्ने रहेनछ । हिजो अस्तिसम्म सडकमा खालि खुट्टा हिड्ने मान्छे आज गाडी चढेर हिड्न थाल्यो । हेर्दाहेर्दै कत्रो प्रगति कत्रो परिवर्तन । सबै दङ्ग पर्थे उसको रवाफ देखेर ।
पैसा कमाएपछि शत्रु बढ्छन् भने झैं छरछिमेक र आफन्तहरू ऊसँग टाढिँदै गए । कति त डाहा गर्थे । कति चाहिँ गरिखानेलाई गरिखान दिनु पर्छ भन्थे । हौसला प्रशंसा पनि गर्थे । घर बनाई सकेपछि उसको चुरीफुरी घट्दै गयो रिण गरेर ल्याएको पैसा सकिएपछि ऊ विस्तारै पहिलेकै अवस्थामा
झ¥यो । साहुहरू घरमा आउँन थालेपछि छरछिमेकहरू र आफन्तहरू पनि नजिकिन थाले । सबैसँग राम्रो हुन थाल्यो । बोलचाल नभएकाहरू पनि बोल्न र आउजाउ गर्न थाले ।
दिनदिनै साहुले चेप्न थालेपछि एक दिन उसले त्यो घर बेच्यो र ऊ त्यहाँबाट हिँड्यो । त्यसपछि तिनै आफन्त छरछिमेकीहरू भेला भए दुखेसो गर्न थाले । राम्रो मान्छे थियो गयो विचरा भनेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक