सानो मान्छे सानो चोर ठूलो मान्छे ठूलै चोर : महेन्द्र चालिसे ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,माघ २२।
बिदेशी ठेकेदार कम्पनिको मातहतमा सडक निर्माण भैरहेको थियो । जतिसक्दो छिटो काम सक्नुपर्ने दवाब थियो ठेकेदारलाई । त्यसैले ऊस्ले कामदार र निर्माण सामाग्री अनी साधनहरु अत्यधिक परिचालन गरिरहेथ्यो ।
अधिकांश निर्माण सामाग्री, निर्माणमा प्रयोग हुने साधन र जनशक्ति उसले आफ्नै देशबाट ल्याएको थियो । यहाँको त उस्ले नपुग सामान र केही जनशक्ति मात्र लिएको थियो ब्याक अप को रुपमा ।
उस्को आफ्नो देशका कामदारहरुको कुनै समस्या थिएन । थियो भने केवल यहाका नेपाली कामदारहरुको । किनकि यहाका कामदारहरुको दिमागमा स्वतन्त्रताको किरा धेरै नै सलबलाई रहेको हुन्थ्यो । बात बातमा झगडा, कुटाकुट । बेला न कुबेलाको हड्ताल आदि ।
ठेकेदारलाई जति सक्दो छिटो काम सक्नुपर्ने भएकोले सकुन्जेल उनीहरुका जायज नाजायज सबै मागहरु पुरा गरिदिन्थ्यो । प्रायः नेपाली कामदारहरुमा ठेकेदारसँग भन्दा पनि आफु आफु बिचमै समस्या भैरहन्थ्यो । देशका राजनितिक दलका राजनिती उनीहरुमा पनि थियो विभिन्न दलका भातृ संगठनको रुपमा ।
ठेकेदारको अफिस प्रांगणको एक कुनामा कवाडी समानहरु थुपारि राखेको थियो । ती सामानमा अलकट्टाका केही थोत्रा ड्रमहरुपनि थिए ।
एउटा मजदूरलाई एउटा थोत्रो ड्रमको आबश्यकता थियो तर खरिद गर्न उस्को तत्कालिक आर्थिक हैसियतले
दिँदैनथ्यो र ठेकेदारसँग माग्न उस्को
आँट पुग्दैनथ्यो । एक त ठेकेदारसंग पुग्ने उस्को पहुँच नै हुदैनथ्यो भइहाले पनि ड्रम माग्दा जागीरै जान्थ्यो कि त्यही डरको कारण उसको आँट पुगिरहेको थिएन ।
एक दिन जे त होला भन्ठानेर उस्ले कसैले नदेख्नेगरि एउटा ड्रम त्यो कुनाबाट झिकेर आफुले बेलुका घर फर्कदा लग्न सक्ने र कसैले नदेख्ने ठाउमा लगेर राख्यो तर त्यो दिन उस्ले लाने आँट गर्न सकेन र भोलिपल्ट बिहान झिसमिसेमै आएर ढोका खोलेर त्यो ड्रम लिएर गयो । अघिल्लो दिन ढोका पालेले उस्लाई ढोकाको साँचो जिम्मा लगाउदै त्यो दिन ऊं अलि ढिलो आउने भएकोले ढोका खोलिदिन सहयोग माग्दै ढोकाको साँचो दिएको थियो ।
तर यो कुरा खै कसरी हो त्यो मजदुरको नेपाली सुपर भाईजरले थाहापायो । उसलाई जागीर खोसिसिने धम्कि दिदै सो ड्रम ल्याउन आदेश दियो । विचरा मजदुर डरले काँप्दै आफूले बिहान लगेको अलकत्राको थोत्रो ड्रम फिर्ता ल्याएर राख्यो तर सुपरभाईजरलाई त्यतिमा चित्त बुझेको हो र ?
सुपरभाईजरले त्यो मजदुरको कठालो समाउदै झन्डै झन्डै घिच्याएको पारामा ठेकेदारको अफिसमा लैजान्छ । बिदेशी ठेकेदार टुटेफुटेको नेपाली भाषामा सोध्छ ‘किन के भयो र यो मजदुरलाई यसरी घिच्याएर ल्याएको ?’
सुपरभाईजर ठूलै युद्ध जितेसरी भन्छ ‘साब, यस्ले त्यो कबाडी राखेको ठाउबाट एउटा थोत्रो ड्रम चोरेर लगेछ त्यसैले यस्लाई यस्को कामबाट हटाउनु पर्यो भनेर रिपोर्ट गर्न आएको ?’
अनी ठेकेदार त्यो मज्दूर तिर हेरेर सोध्छ ‘तिमीले कि न त्यो थोत्रो ड्रम चोरेर लगेको, के काम लाग्छ त्यो फाटेको थोत्रो ड्रम ?’
त्यो मजदुर डराउदै रुन्चे स्वरमा भन्छ ‘साब, हाम्रो आफ्नै घर छैन, यही कम्पनीले दिएको छाप्रोमा बस्छौ, त्यहाको झ्याल खसेर खुला छ यो जाडोमा साना साना २ वटा नानीहरु छन् । राति सधै जाडो भयो भन्छन र थरथर काप्छन । सुपरभाईजर साबलाई धेरै चोटि भनिसक्यौ तर झ्याल बनेको छैन त्यसैले यो थोत्रो ड्रम लगेर काटेर झ्याल थुनौ भनेर एउटा लिएर गएको हो साब । माफ पाउ साब, अब आईन्दा यस्तो गर्ने छैन । मेरो जागीर गयो भने श्रीमति र २ नानी भोकभोकै पर्छन् ।’
मजदूरको कुरा सुनेर ठेकेदार सुपरभाईजरलाई गालि गर्छ र मज्दूरहरुको समस्या तुरुन्तै समाधान गर्न आदेश दिन्छ । अनी सो मजदूरलाई दुईवटा ड्रम लिएर जीनु भन्छ ।
जब सुपरभाईजर र त्यो मज्दूर त्यहाबाट जान्छन् तब उसको मुखबाट ‘नेपालमा सानो मान्छे सानो चोर ठूलो मान्छे ठूलो चोर’ भन्ने शब्द निस्कन्छ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक