भाकल : गंगा खड्का ( लघुकथा )

भाकल : गंगा खड्का ( लघुकथा )

कपन अनलाइन
काठमाण्डौ ,माघ २२।
‘ओहो भाउजू ! आजकाल त निकै धर्मकर्ममा जुट्नुभएको छ नि त ? आज पनि तयारी हेर्दा त मन्दिर प्रस्थानकै लागि जस्तो देखिन्छ नि ?’ मैले मेरी फुपूकी बुहारीलाई गाडीमा भेटेपछि सोधेँ ।
उहाँले निकै जोसिएर भन्नुभयो, ‘हो नि, दुइटै छोराहरु विदेश जाने भन्छन् । रहर गरिहाले, उनीहरूको भिसा लागोस् भनेर भाकल गरेकी थिएँ, हिजो दुबैको भिसा आयो अनि आज भाकल पूजा गर्न हिँडेको ।’
केही महिनापछि मेरो पनि विवाह
भयो । उहाँसँग भेट नभएको नि दसौँ वर्ष भइसकेको थियो । एकदिन मनकामना मन्दिरमा उहाँसँग मेरो भेट भयो । उहाँ पहिलाको जस्तो हँसिली खुसिली देखिनुहुन्नथ्यो । उहाँको अनुहारको रङ पूरै उडेको थियो । ‘अहो ! भाउजू पनि यहाँ ?’ मैले अनायासै प्रश्न तेर्साएँ ।
‘के गर्नु त नानी, पहिला छोराहरु विदेश गए केके नै हुन्थ्यो जस्तो गरियो । अहिले वर्षौँ भइसक्यो , घरको दैलो टेकेका छैनन् । उतै बिहेवारी गरेर बसेका छन् । न घरको माया छ तिनीहरूलाई न त बाउ आमाको । त्यसैले छिट्टै फर्केर आऊन् भनी मातासँग प्रार्थना गर्न आएको ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।