भोको चोर : रञ्जना पराजुली लम्साल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,माघ २२।
बाह्र बजे दिउँसोको मध्य घाम जेठको महिना । जताततै चकमन्न लकडाउनको समय । कोरोनाको पहिलो लहर अलिकति शान्त भएपछि अस्तब्यस्त भएको आफ्नो सानो ब्यवसायलाई मिलाउदै थिए बरुणले । लगत्तै सुरु भयो कोरोनाको दोस्रो लहर । पहिलो लहरको आठ–नौ महिनाको बसाईमा जनतन चार जनाको परिवारलाई धानेका बरुण दोस्रो लहर लड्दा आतिन थाले । अझै तेस्रो, चौथो, पाचौँ भन्दै गरेका अनावश्यक हल्लाले बरुण मात्र होईन सबैको मनमा त्रास फैलिन थाल्यो ।
एक छोरा एक छोरी र श्रीमती बिहानको खाना खाएर थान्को मुन्को गरि टिभी हेर्दाहेर्दै निदाएछन् । अलिक दिन त बरुण पनि निदाए दिउँसोमा । पछि पछि भने निन्द्रा होईन चिन्ता आउन थाल्यो । के गर्दा कसो गर्दा ठिक होला । कसरी व्यबहार टर्ला भन्दै भित्र
बाहिर गर्दागर्दै दिन कट्थ्यो ।
यसैगरी गेट खोलेर बाहिर निस्की पर–पर हेर्दै थिए । घाम बेस्सरी चर्किएको थियो । छेउछाउका रुखका पात कति हल्लिएका थिएनन् ।
‘हावा चलेको भए पो यी बोटका पातहरु हल्लिउन । उफ, कति गर्मी बढेको’ भन्दै बरुण भित्र पसे गेट बन्द गरेर ।
सुनसान घर । मस्त निदाएका श्रीमती र छोराछोरी उठेका थिएनन् । त्यही बेला भान्सामा आएको स¥याक–सुरुक, स¥याक–सुरुक आवाज सुनेर बरुणका कान ठाडा भए र बिस्तारै भान्सामा छिरे बिरालो पो पस्यो कि भन्दै ।
‘चोर‘.चोर‘.चोर‘.चोर ।’
चिच्याए बेसरी । बरुणको स्वरले ज¥याक–जुरुक उठे छोराछोरी र श्रीमती । वल्लो पल्लो घरका पनि दौडदै आएर खै चोर भन्दै सामाजिक दुरि कायम गरि सोध्न थाले । बरुणकि श्रीमती र छोराछोरीले परैबाट छिमेकीलाई चोर देखाए ।
बिचरो चोर दायाँबायाँ हेर्नू त के सासै नफेरी खपाखप भातको गाँस मुखमा हालि भोको पेट भर्दै थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक