शहीद शान देशको : त्रिलोचन आचार्य (कविता )

शहीद शान देशको : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

उठी जुरुक्क, देश यो बनाउने कुरा गर्यो
समान हौँ सबै भनी, मनाउने कुरा गर्यो

छु माथि भन्दथे, सँगै बसाउने कुरा गर्यो
शहीद शान देशको, मरेर त्यो पुरा गर्यो  ।

हुँदैन खप्नु ज्यादती, भनेर उर्लियो सधैँ
अगाडि क्रान्तिमा स्वयं, रहेर कुर्लियो सधैँ
बनेर चेतना टुकी, बलेर चम्किँदै रह्यो
शहीद शान देशको, नभन्नु त्यो मर्यो , गयो ।

समाजका कुरा ग¥यो, गरेन स्वार्थका कुरा
विचारका कुरा भ¥यो, भरेन व्यर्थका कुरा
हिमालझैँ उठ्यो सधैँ, झुकेन दासता चुमी
शहीद शान देशको, छ श्रेय त्यो जहाँ तहीँ ।

डटी रहे दरो बनी, सकिन्छ तोड्न जञ्जिर
चुली चढिन्छ आँटले, हुँदैन भन्नु तक्दिर
भनेर जो सधैँ हिँड्यो, भुलेर भोक प्यास नै
शहीद शान देशको, मरेर बाँच्छ जो सधैँ ।

शहीदकै छ नाम यी, स्वतन्त्र पात पातमा
शहीदकै छ सिर्जना, विकास खात खातमा
छ पूर्ण गान देशको, शहीदकै अठोटले
शहीद शान देशको, हराभरा सुवासले ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।