बुढानीलकण्ठ महोत्सवको तयारी तीब्र, विश्वकै सबैभन्दा ठूलो डमरु ल्याइँदै
कपन अनलाइन\०७१, चैत्र १७
नेपालको धार्मिक पर्यटनका लागि अति विख्यात बुढानीलकण्ठ मन्दिर तथा यस भेकका अन्य विषयलाई प्रबद्र्धन गर्नका लागि आगामी बैशाख १ गते बुढानीलकण्ठ महोत्सव हुने भएको छ । लिच्छवीकालमा निर्मित एउटै शिलाबाट बनेको बुढानीलकण्ठको मूर्ति तथा यससँग सम्बन्धित अनेकानेक विषयलाई उजागर गर्ने हेतुले यो महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । बुढानीलकण्ठ मन्दिर तथा यस आसपासका बिभिन्न मौलिक सांस्कृतिक स्वरुपका पहिचानलाई यस महोत्सवमा प्रस्तुत गरिनेछ । यसैगरी विश्वमै राजधानीबाट सबैभन्दा नजिकमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रमुख हिस्सा र यसबाट उपलब्ध हुने बिबिध पर्यटकीय तथा वातावरणीय विषयलाई पनि महोत्सवले प्राथमिकताका साथ उजागर गर्ने बुढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष तथा आयोजक समितिका संयोजक जयराम थापाले बताए ।
कार्यक्रमका बारे जानकारी दिन आयोजना गरिएको एक पत्रकार भेटघाट कार्यक्रममा उनले यस महोत्सवका लागि विश्वकै सबैभन्दा ठूलो डमरु ल्याउन लागिएको जानकारी दिए । राजधानीभन्दा बाहिरबाट ल्याउन लागिएको यो डमरुलाई बुढानीलकण्ठ परिसरमा भित्र्याउन विशेष कार्यक्रम आयोजना गरिन लागेको पनि थापाले जानकारी दिए ।
नवनिर्मित बुढानीलकण्ठ नगरपालिकामा पर्ने बुढानीलकण्ठ मन्दिर परिसर तथा नगरपालिका भरीका अन्य सांस्कृतिक पक्षका साथ कृषि, वातावरण एवम् जैविक विविधता, साहित्य, संगीतलगायतका पक्षलाई महोत्सवमा विशिष्ट रुपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवमा विविध पक्षलाई समेट्नका लागि एक हजार एक सदस्यीय समिति बनाइएको छ । बैशाख १ गते गरिने महोत्सवका लागि सांस्कृति झाँकी, नेवारी बाजा, धिमे बाजा, बुद्धिष्ट बाजा, लाखे नाचको विशेष प्रस्तुति गराइने बताइएको छ । बुढानीलकण्ठ मन्दिरमा विशेष पूजासहित औपचारिक कार्यक्रमका साथमा विशेष सांगीतिक प्रस्तुति पनि आयोजना गरिनेछ । महोत्सव कार्यक्रम प्रधानमन्त्रिका हातबाट समुद्घाटन गर्ने तयारी भैरहेको संयोजक थापाले जानकारी दिए ।
कार्यक्रम व्यवस्थित गर्नका लागि १९ वटा उप समितिहरु बनाइएको छ । कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी बनाउन बिभिन्न उपसमितिले सम्बन्धित पक्षसँग दैनिक मिटिङ गरिरहेको कुरा पनि आयोजकले जनाएको छ । महोत्सवको मूल आयोजक बुढानीलकण्ठ क्षेत्र विकास समिति हो भने बुढानीलकण्ठ सांस्कृतिक तथा पर्यटन समिति सहआयोजक हो । कार्यक्रम सफल बनाउन बुढानीलकण्ठ नगरपालिकाले विशेष भूमिका निर्वाह गर्ने छ ।
महोत्सवका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रमका केही तस्वीरःतस्वीर- बसन्त गौतम)