ओखती : छविलाल खडका ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,पौष १४ ।
नलिना बिरामी परिन् । उनका बुवाआमा अस्पतालभन्दा झार, फुक र वैद्य असल ठान्थे । उनको घरमा धामी आयो । नाडी छाम्यो । अक्षता जप्दै, मन्त्र फुक्दै भन्यो, ‘भूत लागेको !’
छिमेकीले प्याच्च भनी, ‘हो हो, भूतै हो ! मैले धेरै पटक राती उज्यालो बालेर उसको झ्यालतिर गएको देखेकी छु ।’
धामी बक्न थाल्यो, ‘हेर मनुवा, राँके भूतले मेरो मदुरोको मुटुमा वाण हान्यो । कोखामा सिल छेड्यो । साह्रो पार्यो । न निद्रा, न भोकप्यास छ । हे परमेश्वरी ! दूधको दूध, पानीको पानी छुट्टयाइदेऊ ।’
उपाय सुझाउँदै धामीले भन्यो, ‘उत्तर दिशातिर गएर कालो बोका भोग दिन पर्यो ।’ कालो बोका तयार गरियो । राँकेभूत धपाउन सबै धामीसँग जुके खोलातिर लागे । बिरामी कुरुवामा छिमेकी जुठे र आमा बसे ।
‘आमा, मलाई त दही खान मन लाग्यो ।’ नलिनाले भनी । आमा दही लिन दोकानतिर गइन् । तत्कालै नलिनाले जुठेलाई अङ्गालोमा बाँधेर भनी, ‘मेरो राँके भूत यत्रो दिनसम्म कहाँ गएका थियौ, मेरो चिन्ता लागेन ?’
उसले भन्यो, ‘मायाले तान्यो र त तिमी बिरामी भएको खबर सुन्नासाथ दौडिएर आएँ ।’
आमा र धामीको टोली पनिआइपुगे । उनी उठेको देखेर सबैले धामीको जयकयकार गरे । तर परिवारजन र धामी चाहिँ नलिनाको हिस्टोरियाको बिरामीबारे बेखबर थिए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक