सुरभि साहित्य प्रतिष्ठानको १३१ औँ शृङ्खला सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर २०।
सुरभि साहित्य प्रतिष्ठानको १३१ औँ शृङ्खला २०७८ साल मङ्सिर १८ गते शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको अध्यक्षतामा सञ्चालन भएको यस कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कणाद महर्षि रहेका थिए । त्यस्तै विशिष्ट अतिथि अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा विमल अर्याल, अच्युत चालिसे, रमेशजङ्ग थापा रहेका थिए ।
प्रतिष्ठानका कोषाध्यक्ष रामकुमार पण्डित क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको यो कार्यक्रममा १२ जना कथाकारहरूले आ–आफ्ना कथा वाचन गरेका थिए । सो अवसरमा कणाद महर्षि, रमेशजङ्ग थापा, गोविन्दप्रसाद घिमिरे वेदमणि, अच्युत चालिसे, मेनका पोखरेल आचार्य, प्रमोद प्याकुरेल, कात्यायन, सुरेश सुवेदी, रञ्जना पराजुली लम्साल, सङ्गीता ढुङ्गाना दाहाल र परशुराम पराशरले कथा बाचन गरेका थिए।
कार्यक्रममा वाचित कथाहरूको टिप्पणी कथाकार प्रमोद प्याकुरेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव अच्युत घिमिरेले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि कणाद महर्षिले कथाको विषयवस्तु हाम्रै वरिपरि हुने कुरा हुन्, आफैमा घटेका घटनाहरू हुन्, भन्दै त्यसमा थपिने कला र प्रस्तुतिले त्यसलाई कथा बनाउने हो भन्ने कुरा उदाहरण सहित व्यक्त गरेका थिए ।