कथाकार गङ्गा कर्माचार्य र उनको ‘मौन प्रश्न’ : पूर्णप्रसाद अधिकारी ( पुस्तक समिक्षा )

कथाकार गङ्गा कर्माचार्य र उनको ‘मौन प्रश्न’ : पूर्णप्रसाद अधिकारी ( पुस्तक समिक्षा )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३।

१. परिचय
नेपालको पश्चिमाञ्चल अहिलेको राजनैतिक भूगोलअनुसार गण्डकी प्रदेशको स्याङ्जा जिल्ला पूर्णतया पहाडी भूभाग भएको जिल्ला हो तथापि स्याङ्जालीहरू तराई, मधेश, मेची–महाकाली र विदेशका सबैजसो देशमा पुगेका छन् । आन्तरिक बसाइँ–सराइको क्रममा पोखरा र काठमाडौँमा सङ्गठित रूपमा नै सञ्जाल विस्तार गरेका छन् । नेपाली साहित्यका क्षेत्रमा स्याङ्जाली माटोले जन्माएका विशिष्ट साहित्यकारहरू पनि छन् । पुरानो पुस्तादेखि पछिल्लो पुस्तासम्म विशिष्ट ख्याति कमाएका र नेपाली साहित्यमा योगदान पु¥याएका स्रष्टाहरूमा देवीप्रसाद वनवासी, विश्वप्रेम अधिकारी, महेश्वर शर्मा, शारदा शर्मा, भूपति ढकाल, डा. अच्यूतरमण अर्याल, प्रा.डा. गार्गी शर्मा, डा. यमबहादुर क्षत्री, डा. रजनी ढकाल, केदार ढकाल, मणिराम शर्मा, भेषराज शर्मा, टीकाराम वाग्ले, त्रिभुवन शर्मा, चिन्तु गिरी, घनश्याम ढकाल, कपिल अज्ञात, डा. घनश्याम शर्मा न्यौपाने, मित्रलाल पँज्ञेनी, डा. सुकुम शर्मा, डा. ज्ञानबहादुर कार्की, गङ्गा कर्माचार्य, प्रा.डा. शेषकान्त अर्याल, गायत्री परिरोशनी, मिलन समीर, प्रा( जगदीशचन्द्र भण्डारी आदि पङ्क्तिकारले सम्झेका नाम हुन् । समय–समयमा स्याङ्गाको साहित्यिक पत्रिका जनमत र भानुले समेत ‘स्याङ्जा साहित्य विशेषाङ्क’ प्रकाशन गरी त्यस जिल्लाको साहित्यिक माटोलाई ऊर्जाशील बनाएका छन् ।
सन्दर्भ स्याङ्जाको दहथुम हाल भिरकोट न.पा.–१ मा जन्मएकी गङ्गा कर्माचार्य पौडेलको मौन प्रश्न लघुकथासङ्ग्रहमा केन्द्रित भई उनको व्यक्तित्वको सन्दर्भमा कथासङ्ग्रहको विवेचना गरिने छ । जन्मजातरूपबाट नेवार परिवारमा जन्मिएर पनि ब्राह्मण प्रजातिका हेम पौडेलसँग विवाह सम्बन्धमा जोडिएकी गङ्गाको साहित्यिक क्षेत्रमा अभिन्न योगदान पु¥याउने उनका श्रीमान् पनि वरिष्ट कलाकार तथा चराविशेषज्ञ भएका कारण यी दुई जोडीको सुखद् दाम्पत्य जीवन र पारिवारिक विशेषता रमाइलो छ । गङ्गा शारीरिकरूपले अपाङ्ग भए पनि मानसिक रूपले पूर्णतया सबलाङ्गी छन् । साहित्यिक योगदानको मात्र कुरा गर्दा कवितासङ्ग्रह दुई, निबन्ध (स्वदेशी यात्रा संस्मरण) सङ्ग्रह एक, स्याङ्जाका नेवारहरूको इतिहास (२०७८) एक, बालसाहित्यसँग जोडिएका कथा, उपन्यास, चित्रकथा, बाल साहित्य इतिहास, बालनियात्रा गरी बाइसवटा पुस्तकहरू प्रकाशित छन् । यस बाहेक लघुकथासङ्ग्रह मौन प्रश्न २०७६ सालमा बजारमा आएको छ । नेपाली लघुकथाको इतिहासमा यसको छुट्टै महŒव र विशेष पहिचानसमेत भएका कारण समीक्षाको विषय बनाइएको हो । यस कथासङ्ग्रहको भौतिक स्वरूप र आन्तरिक कथ्य के छ ? भन्ने विवेचनीय कुरा भएका कारण त्यसतर्फ लाग्नु युक्तिसङ्गत देखिन्छ ।
२. मौन प्रशन लघुकथासङ्ग्रहको समीक्षा
यो लघुकथासङ्ग्रहको प्रकाशन २०७६ सालमा भएको हो । डिमाइ साइजको हलुका कागजमा आवरण पृष्ठबाहेक १०४ पृष्ठमा यसको सामग्री अटाएको छ । अमूर्त चित्रमा मौनता प्रतिबिम्ब अग्रभागमा छ भने पश्चभागमा लेखिकाको रङ्गीन अर्धकदको चित्रसँगै हाल (२०७६) सम्म प्रकाशित कृतिहरूको नाम र प्रकाशन वर्ष उल्लेख छ । यसमा व्यक्तिगत विवरण भन्नाले लामो नभई जन्म, शिक्षा र पारिवारिक विवरण मात्र छ । सुरभि साहित्य प्रतिष्ठानको प्रकाशन, कथाकारको सर्वाधिकार, वसन्तराज अज्ञातको आवरण कला, प्रतिष्ठानका अध्यक्ष बाबुराम पौडेलको प्रकाशकीयभित्र सारमा लघुकथाहरूको कथ्यसार समेटिएको छ । माया ठकुरी र श्रीओम श्रेष्ठका अभिव्यक्तिले लघुकथाको मर्म, औचित्य, उपयोगिता र लेखकको योगदानमाथि प्रकाश पार्ने काम भएको छ । “लघुकथा लेखनमा गङ्गा कर्माचार्य पौडेल” शीर्षकमा डा. पुष्करराज भट्टले उनको भौतिक भावनात्मक साहित्यिक, पारिवारिक परिचयका साथै उनको साहित्यिक योगदानको उच्च मूल्याङ्कन गरेका छन् । उनका समग्र लघुकथा लेखनलाई समीक्षात्मक मूल्याङ्कनका साथ तीनवटा समीक्षात्मक उपशीर्षक छन् । स्मरण रहोस् भट्टजी नेपाल लघुकथा समाजका अध्यक्ष पनि हुन् । लेखकीयभित्र आप्ना अग्रज, अनुज सबैका प्रति कृतज्ञता प्रकट गर्दै आफ्नो लघुकथा लेखनको साधना, सीप र श्रमकाप्रति कृतज्ञता व्यक्त गरिएको छ । यो सङ्ग्रहमा पचासवटा लघुकथाहरू छन् । ती सबैको सूत्रात्मक विवेचना यस आलेखमा गरिने छ ।
“स्वार्थ” शीर्षकको लघुकथाले यस्तो झड्का दिएको छ – सामान्य अवस्थाबाट प्रणयको बीजारोपण भएको मीना र विक्रमका बीचको सम्बन्धलाई मीनाले कुन हदसम्म स्वार्थप्रेरित प्रेम गरेकी छन् भन्ने सन्देश यसभित्र छ ।
“राहत वितरण” शीर्षकको कथा दैवी विपत्तीबाट सताइएका मान्छेहरूको दयनीय अवस्था र सहयोगी हात भनिनेहरूको कृत्रिम व्यवहार नग्नरूपमा देखिएको छ ।
“फेरि धोका” शीर्षकको कथामा विकासको नाममा चर्का भाषण गर्ने नेताको चरित्र र जनताहरू झुक्याउने उनीहरूको प्रवृत्तिलाई नग्नरूपमा चित्रण गरिएको छ । यो कस्तो चलन हो ! लघुकथामा ९१ वर्षका बृद्ध पिता छोरा–बुहारी, केटाकेटी लगायतको उपस्थिति छ । बृद्ध बाबाले सह्मालेर राखेको रूपैया बुहारीले खर्च गरिदिनु, छोराले बाबाकै गल्ती देख्नु, बुद्ध बाबाआमालाई जीवित अवस्थामा पूर्ण रूपले उपेक्षा गर्ने र मरेपछि श्राद्ध गर्ने कथिन नाटकीय परम्परालाई यस कथाले प्रतिनिधित्व गरेको छ ।
“वातावरण दिवस” यस शीर्षकको कथामा वातावरण संरक्षणको नाममा गरिने सरकारी चरित्र र व्यवहारलाई नाङ्गेझार बनााइएको छ । वातावरण संरक्षणको नाममा हुने गरेका भनाइ र गराइको नाङ्गो चित्र यस कथामा आएको छ । “थुइक्क” शीर्षकको कथाले चुनाव जितेको नेतालाई कुनै व्यापारी वा तस्करसँग लम्किरहनु र आफ्नो गाउँबाट आएको परिचितलाई नचिनेको अभिनय गर्ने बेइमानी राजनेताको चरित्रलाई थुइक्क भनिएको छ ।
“कविको दशैँ” यस शीषैकको कथामा कवि हुनुको पीडा र नियतिमाथि प्रकाश पार्नु । “सिमाना” शीर्षकको कथामा वर्तमान नेपाल–भारत सीमा विवाद लिपुलेक र कालापानीसँगै अनुरूपनि सीमाबारे विद्यार्थी र शिक्षकबीच संवाद भइरहँदा वर्तमान सरकारको दोधारे राष्ट्रवादको धज्जी उडाइएको छ ।
“विश्वासघात” शीर्षकको कथामा अन्तर्जातीय विवाह गरी लोग्ने विदेश जानु, आफ्नी श्रीमती आफ्नै सतित्वमा रहेकी सोचका बीच श्रीमती चन्दालाई अन्य कुनै प्रेमीसँग निर्वस्त्र रूपमा कसैसँग समेटिएको देखेपछि आफ्नो जीवनमा भूकम्प आएको अवस्थाका बीच कथाको अन्त्य भएको छ । “पसिनाको स्वाद” शीर्षकको कथामा अल्छी मान्छेलाई श्रमशील बन्नुपर्दछ भन्ने सन्देश प्रवाह गर्दै निरोगी बन्नका लागि परिश्रमी बन्ने चेतना दिनुमा कथाको सार छ । आमाको उपेक्षा गर्ने सन्तान, कुलटा श्रीमती र आमा गुमाएको पीडा बावुवाको घरमा छ भने बुद्ध–बृद्धालाई नबुझ्ने युवाजमात र कर्मचारीतन्त्रको चित्रण गर्दै साहसी बृद्धको कदमलाई स्वीकृत गर्दै नतमस्तक बनेको कर्मचारी तन्त्रलाई देखाइएको छ ।
बनावटी चरित्र, मिसावटयुक्त खाद्यसामग्री, दशैँ मान्ने नेपाली चरित्रका बीचको नक्कली युगलाई “कस्तो जमाना आयो” शीर्षकको कथामा देखाइएको छ भने मित्रता मित्रताजस्तो नभई अवसरवादी चरित्रमा रूपान्तरण भएको सन्दर्भजन्य घटनाा “आखिर उनी को हुन् ?” शीर्षकको कथामा आएको छ । भ्रष्टचारी कर्मचारीले त्यसकै माध्यमबाट अकूत सम्पत्ति र भोग–विलासी चरित्र प्रदर्शन गर्नु र श्रीमतीले ऊजस्तै चाकडी गरी भ्रष्ट बन्ने प्रवृत्ति सिकाउँदै गर्दा प्रहरीबाट समातिएको अवस्थाजन्य भ्रष्ट प्रवृत्तिको चित्रण “फर्मुला चाचायु” मा देखाइएको छ ।
लोकतान्त्रिक मूल्यको उपहास र शहीदहरूको अपमान हुने र उनीहरूलाई बिर्सने नेपाली राजनेताको चरित्र “शहीद दिसव” मा देखाइएको छ । मापसे मालपोत अधिकृत लोग्ने, छट्टु श्रीमती, सामान्य किराना व्यापारीका बीच गहनाको लेनदेनमा भएको विचलन “सापटी” मा आएको छ । जुवाडे लोग्ने र बेइमान नारीको नाङ्गो चरित्र यस कथामा देख्न पाइन्छ । सुरक्षा जाँचको नौटङ्की गरी गरीब यात्रीलाई सताउने पुलिस र जाँच गर्दा केही नपाएको फोस्रो सुरक्षाकर्मीसँगै विस्फोटक पदार्थ बोक्ने मान्छे फुत्किएको स्थिति यसमा आएको छ । रङ्गीविरङ्गी सपनामय जीवन देख्ने नारी, काठमाडौँको पानीको समस्या र कचकचे घरबेटी, दुःखी श्रीमती र बच्चा ती सबैको दर्शक श्रीमान्का घटनालाई “सपना” नाम दिइएको छ ।
ह्रासोन्मुख उमेर, मन्दिर दर्शन गर्ने बृद्धि, सँगै गएकी श्रीमती र बूढालाई गाडीले ठक्कर दिई मरणासन्न बनेको समयमा सधैँ अछुत भनेर अपमान गर्ने पात्रद्वारा गरिएको रक्तदाताले आपूm बाँचेको अवस्थामा अश्रुपूर्ण अञ्जलीबाट रक्तदातालाई गरिएको श्रद्धालाई रगत सबैको रातो हुन्छ भन्ने सन्देश दिएको छ । छोरा, बुहारी र नातिको घटना र माया, हजुरआमाको नातिमोह, नातिको शोकमा तड्पिएकी हजुरआमाको संवेदना, छोराबुहारीको उपेक्षाभावबाट जीवन गुमाउने स्थिति रहेको अवस्थाविशेषलाई “आफन्त नै पराइ भए” शीर्षक दिइएको छ । कथासङ्ग्रहको नाम नै मौन प्रश्न हुनु, साहित्यिक स्रष्टाको सम्मान र पुरस्कार, योग्यता र योगदानभन्दा भनसुन र चाकडीमा लाग्नेहरूको हुन्छ, साहित्यको अवमूल्यन पनि यही हो भन्दै सन्देश दिनुमा कथा केन्द्रित छ ।
माओवादी द्वन्द्व, शासक र विरोधीबाट सताइएका पीडित नागरिकको मनोदशा, लोकतान्त्रिक आन्दोलनका उपलब्धिको अपूर्ण सपना र विस्थापित भई सुकुम्बासी बन्नु परेको नियतिलाई यसमा देखाइएको छ । आखिर मान्छे त परिस्थितिकै दास हो नि त । कुनै छिमेकीले गरेको उन्नति र प्रगतिमा इष्र्या गर्नेलाई डाहा भनिएको छ । चेतनशील मान्छेले जडवत स्कुसमाथि गरेको विध्वंश आफैँमा निर्दोषलाई सजाय दिनु हो । गुड्ने खोर काठमाडौँ उपत्यकामा चल्ने माइक्रोबस र त्यसमा हिँड्न बाध्य नेपालीको दशा–दुर्दशालाई यसमा देखाइएको छ । नेपालको कर्मचारीतन्त्रका उपज निर्मल र विमलको मानसिक शत्रुतालाई देखाउँदै प्रतिशोधले गर्दा अर्कोलाई सिध्याउँछुभन्दा आफैँ समाप्त भइन्छ भन्ने सन्देशका रूपमा यसलाई लिइन्छ । “सम्मानको मूल्य” कथामा देवर तथा भाउजुको आर्थिक तथा पारिवारिक समस्याको चित्रणसँगै महेश साहित्यिक कार्यक्रमबाट सम्मानित भई घर आउनु र त्यसको प्रकाशक मूल्य बुझ्न खोज्नुले मानवीय सम्मानको अवमूल्यनलाई प्रतिबिम्बित गर्दछ । कवि बन्ने रहर, साधना र समर्पणबिना कवि बन्न खोज्ने वर्तमानका तथाकथित टपरटुइँया कविहरूप्रतिको व्यङ्ग्यका रूपमा यसलाई लिन सकिन्छ । “नियम कडा छ” नामको कथामा विवेकहीन वनपाले र गरीब वनपैदावार उपयोग गर्ने ग्रामीण नारीका बीचको समस्यासँगै नेताहरूले वनप्रति गरिने भ्रष्टाचारको चुरोलाई यसमा विषय सामग्री बनाइएको छ । सुशील स्वभावको सुदीप छोराले गुणवती सुशील कन्या ल्याउने सोचको परिणाम पहिलो लाग्नेपट्टिको बच्चासहित नारीलाई विवाह गरिएको सन्दर्भका बीच निरास र खिन्न भएकी आमाको मनोदशालाई यसमा देखाइएको छ ।
“डि.भी. पर्यो ” शीर्षकको कथामा विनायोग्यता डि.भी. को अर्थ छैन भन्दै यो कार्यक्रम नबुझेर वा असफल डि.भी. प्राप्त व्यक्तिसँग जोडिएको सन्दर्भ यसमा निहीत छ । आफ्नो पैतृक सम्पत्तिमा गरिएको भागबण्डाका बीच दाइले छलकपट गरी मालपोतबाट आफ्नो बनाउन लागेको स्थितिलाई जानकारी दिने कुवेर नामको कर्मचारी र आफ्नो दाजुको कुत्सित नियतलाई “मनको तराजु” भनिएको छ । “माटोको माया” शीर्षकमा सुविधासम्पन्न अमेरिका बसेर पनि मानसिक शान्तिका अभावमा आफ्नै देशलाई सम्झिरहेको दृश्यचित्रले गर्दा नेपाल आउन प्रेरित भएको प्रसङ् यसमा निहीत छ । “भविष्यवाणी” शीर्षकको कथामा उद्दण्ड स्वभावको छोरा गुण्डाको नाइके बनेर लुटेरा डन बनेको सन्दर्भ छ । जन्मँदा ज्योतिषले ठूलो मान्छे बन्दछ भन्नु र आज दुर्गुणयुक्त ठूलो बनेको कथ्यका बीच कथाको सन्देश छ । “मुक्तिमार्ग” शीर्षकमा अर्ति–उपदेश दिने महात्मा र कर्मशील बन्न इच्छुक युवाबीचको संवादका साथ सबै मान्छे कर्मशील बन्नु पर्दछ, त्यो नै मुक्तिमार्ग हो भन्ने सन्देश यसमा छ । “कोठे कविगोष्ठी” शीर्षकमा काठमाडौँका घरधनीले डेरामा बस्ने मान्छेले धेरै मान्छेको भिडलाई असाध्य ठान्दछन् भन्दै त्यही मर्मलाई यसमा देखाउन खोजिएको छ । श्रीमान्–श्रीमतीको सहकार्य नरुचाउने आमपुस्ताप्रतिको व्यङ्ग्यको रूपमा यो “जोइटिङ्ग्रे” शीर्षकको कथा आएको छ ।
सामान्य घटनाबाट उठान भएको “बागमतीको पवित्रता” कसरी प्रदुषणग्रस्तका रूपमा ढलमति भयो, नातिले हजुरआमालाई बताएको अवस्था छ यसमा । यसमा हजुरआमाको रुवाइ होइन नेपाल आमाको रुवाइ छ । जसको दोषी कोही होइन हामी नै हौँ भन्ने निष्कर्ष निकालिएको छ । “सङ्घर्षशील नारीको कथा” को रूपमा यसलाई लिइन्छ । अन्तर्जातीय विवाह गर्नु, लोग्नेले छोडेर हिँड्नु, शिशु छोरालाई हुर्काउन र जीविकोपार्जनमा गरेका कर्मको मान्छेले उपेक्षा गर्नु, सङ्घर्षमा सफल भएपछि सबैको प्रियपात्र हुनुलाई ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ भनेर नेपाल उखानसँग मेल गराइएको छ । “पुतलीको खेल” शीर्षकमा विश्वासघात गर्ने प्रेमिका र इमान्दार प्रेमीको सम्बन्ध र घटनाक्रम देखाउने काम भएको छ यस कथामा । “स्मार्ट” शब्दको चौतर्फि प्रयोग भए पनि यो शब्दको अर्थगत महŒव र भौतिक व्यवस्थापनको चौतर्फि दुर्दशा मात्र छ भन्ने सन्देश यसमा छ । “आइडिया” शीर्षकमा साहित्यिक संस्था खोल्ने अस्वस्थ प्रतिस्पर्धाबाट साहित्यको अवमूल्यन भएको स्थितिलाई प्रतिबिम्बित गरिएको छ । “हात्तीको दाँत” शीर्षकमा मानवाधिकार तथा बालअधिकारी, महिला अधिकारका नाममा गरिने डलरको खेतीमा रमाउनेहरूको चर्तिकला देखाइएको अवस्थालाई हात्तीको दाँत भनिएको छ । “स्वाभिमान” शीार्षकमा काठमाडौँ उपत्यकामा केटाकेटीलाई बालमजदूर घरको नोकर बनाउने, विद्यालयमा पठाउँछु भनेर गाउँबाट ल्याउने र काम–धन्धामा दलाउने चरित्र बुझेर सीताले पिँजडाजस्तो अवस्थाबाट मुक्त भएको सन्दर्भ यसमा छ ।
“नमुना होमस्टे” नामको कथामा कमाउ वृत्तिमा नेपालको ग्रामीण क्षेत्रमा खुल्नेगरेका होमस्टेहरूको विकृतिलाई यस कथाभित्र नङ्ग्याइएको छ । “जन्मदिनको उपहार” शीर्षकको लघुकथाभित्र त्यस्ता अवसरमा दिइने उपहारहरूमा शुभेच्छा नभई कुभेच्छा पनिहुन्छ भन्दै उपहार संस्कृतिको अतिवादलाई व्यङ्ग्य गरिएको छ । “जसलाई पर्छ उसलाई टर्छ” शीर्षकको कथा कुनै घटनाको भ्रमभूतलाई विषय बनाउनु, कत्ति पनि सहयोगी मित्रले आपूmप्रति देखाएको हार्दिकता र प्रेमलाई उपेक्षा गर्नु र उनले नियास्रो लागेर बोलाउँदा फुर्सद छैन भन्दै गर्दा कुनै दिन उनका छोराले मृत्युको सन्देश दिनुमा मरेपछि फुर्सद हुनेछ भन्ने गम्भीर प्रश्न छोड्नु, “संस्कार” शीर्षकले क्रिश्चियन बन्दै गरेका हरि (ह्यारी) ले अमेरिकी केटी विवाह गरेर पनि आफ्नो धर्म, ईश्वर तथा संस्कार बिर्सन नसक्ने कुरा देखाएको छ । “परिवार नियोजन” शीर्षकमा गाउँमा पुगेका स्वास्थ्यकर्मीले परिवार नियोजनको सुझाव दिँदा भारतीय आप्रवासीबाट लोग्ने र समग्र मानव समाजका विकृति, विसङ्गतिको नियन्त्रण गरे कसो होला भनेर गाउँलेहरूले दिएको महान् सन्देशलाई विषयवस्तु बनाइएको छ ।
समग्रमा यस कथासङ्ग्रहभित्रका सम्पूर्ण कथाहरू आगोका झिल्को बनेर आएका छन् । लघुकथा सिद्धान्त चेतनाको कसीमा खारिएका छन् । अपवादलाई छोडेर सबैजसो कथा सहरी सभ्यताका जल्दाबल्दा समस्यासँग जोडिएका सफल आधुनिक लघुकथाकार गङ्गा दिदीमा हार्दिक साधुवाद छ ।
।। हरि ॐ तत्सत् ।।
(लेखक वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवनमा नेपाली विषयको सह–प्राध्यापक हुनुहुन्छ ।)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।