कौसी खेतीलाई प्रोत्साहित गर्दै गोकर्णेश्वर नगरपालिका
कपन अनलाइन
काठमाडौँ, कात्तिक ५ ।गोकर्णेश्वर नगरपालिकाले कृषि व्यवसाय प्रवर्द्धनका लागि कौशी खेति अनुदान बितरण गरेको छ । स्वच्छ,स्वास्थ्य स्वादिलो र पोषिलो आहारका लागि कौशी खेति गरौ, स्वावलम्बी र व्यवसायी बनौ भन्ने मूल नाराको साथ आज नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगर प्रमुख सन्तोष चालिसेले अनुदान स्वरूप कौशी खेति गर्ने प्रति कृषक रु दश हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।बढ्दो शहरीकरणसंगै खेती योग्य जग्गा कम हुदै गएपछि कौशी खेतीलाई प्रोत्साहन गर्न नगरपालिकाले आज १५५ जनालाई रु १० हजार रुपैयाको चेक अनुदान स्वरुप प्रदान गरेको हो ।
कार्यक्रममा नगरपालिका उप प्रमुख शान्ती नेपाल , प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य,नगर प्रवक्ता एबम वडा नं ८का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल,वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ,वडा सदस्यहरु नगर कार्यपालिका सदस्य ,कर्मचारीहरु र कृषकहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वागत मन्तब्य राख्दै नगर प्रवक्ता एबम वडा नं ८का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।
अनुदान वितरण गर्दै नगर प्रमुख सन्तोष चालिसेले ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा तीब्र गतिमा भइरहेको बसाईसराईका कारणले गर्दा शहरी क्षेत्रहरुमा खेती गर्ने जमिनको अभाव भएकाले सबै किसिमका दैनिक उपभोग्य कृषि वस्तुहरु बजारबाट किनेर खानुपर्ने बाध्यता रहेको बताउदै त्यसमा पनि बढ्दो विषादीको प्रयोगले विशेषत महिला र बालबालिकाहरुको स्वास्थमा नकारात्मक प्रभाव परेको विभिन्न अध्ययनले पुष्टि गरेको बताएका थिए । उनले घरायसी प्राङ्गारिक फोहोरहरुको सदुपयोग गरी आफ्नो घरको छत, वरण्डा, कौसी, पर्खाल र घरका खाली जग्गाहरुको सदुपयोग गरी विभिन्न प्रकारका तरकारी र फलफुल बालीहरुको घरायसी उत्पादनलाई प्रवर्द्धन गर्दै हरित नगर निर्माणमा योगदान पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
नगरपालिकाको कृषि शाखाले बिभिन्न मौसमी तरकारीको बिउ बिजन समेत समय समयमा वितरण गरिरहेको बताउदै कृषकहरुलाई तालिमको समेत व्यवस्था गर्दै आएको बताएका थिए ।कौशीखेती प्रवर्द्धनमा जोड पुगोस् भन्ने लक्ष्यका साथ नगरपालिका अघि बढेको जानकारी दिदै आगामी दिनमा पनि कृषकहरुको लागि बिभिन्न कार्यक्रम ल्याउने बताएका थिए।