जात्रा र समय : इन्द्रकुमार श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १९।
भोकतिर्खा नै भुल्यौं
शोकसुर्ता नै भुल्यौ
जब हेर्ने बानी बसायौं जात्रा आफ्नै आँगनमा
अर्काको त कुरै छोडौं
आफ्नै समस्या र कर्तव्य पनि भुसुक्कै भुल्यौं ।
त्यसैत्यसै चुम्बकिएर रामरौसतिर
आँखै झिमिक्क नगरी त्यतै हेर्न थाल्यौं
अति नै पारखी रसरागप्रेमी भएर–
लाखेहरू गन्न थाल्यौं
मारुनीहरू चिन्न थाल्यौं
वाद्यवादकहरू पछ्याउन थाल्यौं
सबै कलाकारहरू नियाल्न थाल्यौं
आनन्दले ताली बजाउन थाल्यौं
काम न काजसँगले–
तिनैमध्येका एकेकजनालाई
आदर्श देवता छान्न थाल्यौं ।
परम्परागत यो जात्रामा
लाखे, मारुनी, वाद्यवादक
र कलाकारहरू फेरिए
उनीहरूका गीतका भाका र झाँकीहरू फेरिए
नचाइका चाल र हाउभाउ फेरिए
तर पनि जात्रा त सधैं जात्रै देखाइए
र हामी
आनन्दसँग ताली बजाउँदै गयौं
त्यसैत्यसै रमाउँदै गयौं
सुखी, सिर्जनात्मक
र प्रगतिको समय गुजार्दै गयौं ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक