अमेरिका, डिभी र अजनवी : कुमारप्रसाद पोखरेल ( संस्मरणात्मक लेख )

अमेरिका, डिभी र अजनवी : कुमारप्रसाद पोखरेल ( संस्मरणात्मक लेख )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२।

विश्वशक्ति सम्पन्न राज्य ,युवाहरूको स्वप्नभूमी, विश्व बजारमा धनपतिको नामले चिनिएको मूलुक , रङ्गीन सपनाको संसार, जीवनमा एकपटक पुग्नै पर्ने आकर्षक हसिन रंङ्गभूमि , विकशित मूलुकहरूको अग्रपङ्गतिमा रवाफ जमाउन सफल अमेरिकाले बिकासोन्मूख देशहरूबाट सन १९९४ देखि आप्रबासन सुबिधा (Diversity Visa)दिएर वार्षिक ५० हजार मानिसहरूलाई भित्र्याउन थालेको करिब तीनदशक पुग्न लागिसकेको छ ।
यस्तो आप्रबासको लागि अमेरिकाले प्रत्येक वर्षको अक्टोवर महिनामा सूचना जारी गर्दछ र नोभेम्बर भित्रमा डीभी आवेदन लिने काम गर्दछ । डीभी आवेदकहरूले दुवै कान देखिनेगरी हालसालै खिचिएको २”ह्८२” को फोटो सहित अनलाईनबाट आवेदन फाराम भरी पठाउँनु पर्दछ । त्यसरी प्राप्त भएका निवेदनहरू चिठ्ठा प्रणालिबाट छनौट गरी सोको सूचना सार्बजनिक रूपमा जारी गर्दछ । छनौट भएका व्यक्तिहरूको वैयक्तिक विवरण छुट्टाछुट्टै दुईवटा पत्रद्वारा माग गर्दछ र मापडण्ड पूराभए पछि स्वीकृत प्रदान गर्दछ । डीभी चिठ्ठा पर्ने बित्तिकै शत प्रतिशत ग्यारेण्टि भने हुदैन कारण कतिपय डीभी निवेदन कर्ताको प्रथमपत्र आए पनि दोश्रो पत्र नआई त्यतिकै थन्कीएका उध्दाहरण प्रसस्तै देख्न र सुन्नमा आएका छन ।
अमेरिकाको डीभी चिठ्ठा कार्यक्रमका दुबै पत्रबाट छनौट भएका आवेदन कर्ता ब्यक्तिहरूलाई भिसाको लागि आह्वान गर्दछ । यिनीहरूको भिसा प्रकृया अरूको तुलनामा निकै सरल हुन्छ । यस्ता व्यक्तिहरूले स्वास्थ्य परीक्षण गरी निश्चित सम्पति तथा नगद मौज्दात देखाई जायजेथाको मुल्याङ्कन गरेको कागजात पेश गर्नु पर्दछ ।

साथमा अमेरिकामा बस्नेहरूबाट इस्पोन्सर लेटर लिई भिसाको प्रकृयामा जानु पर्दछ । यदि भिसा लागेको खण्डमा ६ महिना भित्रमा अमेरिका प्रवेश गरिसक्नु पर्दछ । यी माथिका प्रक्रिया पुरा गरी जब अमेरिका प्रवेश गर्दछन तब तिनीहरूले करीव १ हप्तादेखि १५ दिन भित्रमा सामाजिक सुरक्षा कार्ड र १ महिना भित्रमा ग्रीनकार्ड प्राप्त गर्दछन ।
अमेरिकी मूलुकमा प्रवेश गर्ने भिसा पाउँन निकै कठिन छ । यँहा सम्मकि पर्यटक भिसामा जानेहरूले समेत आफ्नो निश्चित जायजेथा र सम्पत्तिको मुल्यांकन रजिष्टर्ड कन्सलटेण्टबाट गराउनु पर्दछ ।

निश्चित नगद मौज्दातका लागि तोकिएका बैंकले प्रमाणित गरी दिएको व्यालेन्स सर्टिफिकेट पेश गर्नु पर्दछ । नियमित आयश्रोत देखिने गरी कृषि तथा व्यापार ब्यावसाय संञ्चालन गरेको प्रमाणपत्र, कर कार्यालयमा दर्ता भएको पान वा भ्याटदर्ताको प्रमाणपत्र, आयकर क्लियरेन्सको प्रमाणपत्रको प्रतिलिपि , वासलात र बार्षिक नाफा नोक्सानको हिसाब विवरण आदि रजिष्टर्ड अडिटरबाट अडिट गराएको सम्पतिलाई डलरमा परिणत गरेर देखाइ बैयक्तिक विवरण सहित भिसाशुल्क तिरेको रसिद राखि अनलाइन फाराम भरी अमेरिकी राजदुतावासमा पेश गर्नु पर्दछ ।

पश्चिमी देशहरूको मुल्याङ्कनमा कृषि पेशाबाट भन्दा उद्योग ब्यावसायबाट भएको आम्दानिले उच्च प्राथमिकता पाँउछ । यसरी विधिवत् रूपमा तयार भएका कागजात पेश गरे पछि अन्तरवार्ताको समय लिनु पर्दछ । तोकिएको मितिमा प्रेषित कागजातहरूको हार्डकपी सहित अन्तरवार्ता दिन जानु पर्दछ । भिसाको निम्ति अन्तरवार्तामा जाँदा साथमा भएका वालेट, घडी, पेटी, मोवाइल, कोट, ज्याकेट, जुत्ता समेत खोलेर एक्सरे मेशिनमा राख्नु पर्दछ । सुरक्षाकर्मीहरूले सामाग्रि सहित सम्पूर्ण शरीर चेकजाच गरेर भित्र पठाउँछन ।

यसरी भित्र छिरेपछि दायाँबायाँ हल्लिन नदिइ बडो सावधानी पूर्वक बसाउँदछ । पालो कुरेर बसेको केहि समयपछि अन्तरवार्ताको लागि तोकिएको झ्यालमा जानु पर्दछ । झ्यालमा सानो प्वाल हुन्छ । त्यहिबाट आफुले लिएर गएका कागजातहरू भित्र दिनु पर्दछ। ईलेक्टोनिक्स माध्यमवाट फोटो खिच्ने र दुबै हातको औंठाको छाप (बायोमेट्रिक्स) लिने काम हुन्छ । सामान्यतया भिसा लिने व्यक्तिको नेपालमा रहेको सम्पत्ति र व्यबसायको लोभले अमेरिकामा स्थायी रूपमा नबसोस् तथा कथंकदाचित विरामि परीहाल्यो भने उसको सम्पति खर्च गरेर फिर्ता आउन सकोस् भन्ने उद्धेश्य रहेको देखिन्छ।
अमेरिकाको भिसा लिनु भनेको ठूलै चुनौतिको सामना गर्नु हो । अडिटशुल्क, भिसाशुल्क , बैंक ब्यालेन्स प्रमाणपत्र र जायजेथाको कागजात सहित निवेदन पेश गरूञ्जेल सम्ममा करीव रू. १ लाख जति खर्च भइसकेको हुन्छ । भिसा लाग्ने नलाग्ने कुनै निश्चित हुदैन । अन्तरवार्तामा उनीहरूले सोध्ने प्रश्नहरू कुनै वैज्ञानिक वा विषयवस्तुसंग सम्बन्धित हुदैन । भिसाको बारेमा कुनै छलफल, जिज्ञासा, किन, कसो भन्ने जस्ता प्रश्नोत्तर गर्न र के कारणले भिसा रिजेक्ट भयो ? भनि सोध्न पाईदैन ।

भिसा लाग्ने भन्दा नलाग्नेको संख्या बढी देखिन्छ । समग्रमा अध्ययन गर्दा आवेदकहरू मध्ये ५ प्रतिशत नेपालीहरूले मात्र भिसा पाउदछन् । गरीब मूलुकको विडम्बना सम्पूर्ण जायजेथाका साथ महंगो भिसा शुल्क तिरे पनि भिसा नलागे पछि निन्याउरो अनुहार लगाएर गह्रुरुङ्गो मनले धन्यवाद दिदैं चुपचाप बाहिरीनु पर्दछ।
अमेरिकी भिसा सन्दर्भमा पढन जाने विद्यार्थीहरूको पीडा भनि साध्य छैन । विद्यार्थीहरूका निम्ति अमेरिकाको भिसा लगाउनु भनेको निकै कठिन र चुनौतिपूर्ण काम हो । पर्यटक भिसाको निम्ति प्रेषित कागजातहरूको अतिरिक्त टोफेल, स्याट, जी.आर.ई, आइ.एल.टी.एस. आदिजस्ता परीक्षा दिएर तोकिएको सिमा कटाउनु पर्दछ । त्यसको अलावा अध्ययन गर्न चाहेको विषयको सम्बन्धित कलेज वा विश्व विध्यालयबाट स्विकृत भएको आई. ट्वाण्टीको कागज समेत संलग्न गर्नु पर्दछ ।
नेपाली विद्यार्थीहरू उच्चशिक्षा हासिल गर्नका लागि अमेरिका त जान्छन । तर अमेरिकामा उच्चशिक्षा अध्ययन निकै महंगो र कस्टकर छ । खासगरेर अमेरिकामा स्थायी बसोवास गरी बस्नेहरूले त रोजेको र खोजेको विश्वविद्यालयमा पढाउन सक्तैनन् भने नेपालबाट आएका विद्यार्थीहरुको अवस्था के होला ? छात्रबृत्ती उपलब्ध भएन भने महंगो शुल्क तिरेर पढन सक्ने अवस्था हुदैन । कारण नेपाली रूपियाको तुलनामा अमेरिकी डलर धेरै महंगो छ । १ डलर खरिद गर्न रू.११९। तिर्नु पर्दछ । नेपालीहरूको क्रयशक्तिले खर्च गरेर पढाउन सक्ने अबस्था ज्यादै न्यून हुन्छ ।
नेपालबाट १२ कक्षा मात्र पास गरेर पढनजाने विद्यार्थीहरुका लागि कलेजको फिस, किताब, कलम, कापी, मोबाइल, इन्टरनेट, डेरा भाडा र खानाको जोहो गरेर अध्ययन पूरा गर्न निकै ठूलो परिश्रम गर्नु पर्दछ । नेपाली विद्यार्थीहरू ज्यादै मेहनति ,लगनशील र पढैया पनि छन । तर आर्थिक अबस्थाको उचित ब्यबस्थापन गर्न नसक्दा १२ मात्र पास गरेर पढन गएका विद्यार्थीहरू मध्ये ५ प्रतिशतले मात्र अमेरिकामा उच्च शिक्षा अध्ययन पूरा गर्छन् भने ९५ प्रतिशतको पढाई अधुरै हुन्छ । त्यसको मुख्यकारण कमजोर आर्थिक अवस्था नै हो ।
उच्चशिक्षाका लागि गएका नेपाली विद्यार्थीहरूले खर्च जुटाएर जेनतेन २।३ सेमेष्टर त पूरा गर्लान् तर ब्याचलर्स पूरागर्न पूरै ८ सेमेष्टर पढनु पर्दछ।

नेपालमा बस्ने, खाने, फिस, कलम–कापी आदि सबै सुविधा अबिभावकले जुटाउदा त पढेर पार लगाउन् मुस्किल हुन्छ भने सिङगो शरीरमात्र लिएर अमेरिका पुगेका विद्यार्थीहरूले कसरी स्रोत जुटाएर अध्ययन पूरा गर्न सक्लान ? यो ज्यादै सोचनिय र मननीय कुरा छ ।
अमेरिकामा अध्ययनका लागि जाने विद्यार्थीहरूका निम्ति कलेज फिसको अलावा अर्को विकराल समस्याको रूपमा रहेको चर्को डेराभाडा पनि हो । अबिकशीत मुलुकको आयस्रोतले बिकशीत मुलुक अमेरिकाको, क्रयशक्तिमा देखिएको असमानताका कारण नेपाली बिद्यार्थीहरुले भोग्नु परेका समस्याहरू ज्यादै कस्टकर त छदैछन् । त्यसमा पनि नेपाली चेलीहरूको व्यथा अझबढी दर्दनाक र टिठलाग्दो छ । नँया परिवेश, नौलो स्थान, आय आर्जनको शून्यता, काम र मामकालागि भौतारिनु पर्ने अबस्थामा हिङ्गदेखि हर्दीसम्म जोरजम्मा गरेर अध्ययन पूरागर्नु भनेको निकै ठूलो चुनौतिका चाङको रूपमा देखा पर्दछ ।
अध्ययनको लागि अमेरिका पुगेका विद्यार्थीकालागि नेपालबाट पैशा आउँने कुरै भएन । सबै खर्च जुटाएर अध्ययन गर्न कठिन भएपछि विकल्प खोज्नु पर्यो । पढाइसंग तालमेल मिलाएर काम खोज्नु पर्यो । भन्ने बित्तीकै काम पाउन पनि मुस्कील हुन्छ । काम नपाए पछि कसरी खर्चको व्यवस्थापन गर्ने ? अमेरिकामा कोठाभाडा निक्कै महंगो छ । अर्थ मजबुरीका कारण एक्लै बस्न सक्ने अबस्था हुदैन । साथीसंग मिलेर बस्नका निम्ति रूमपार्टनर खोज्नु पर्यो । महिला साथी भेटिए त ठीकै हुन्छ । नभेटिएको खण्डमा केटासंग मिलेर बस्न बाद्य हुनु पर्दछ । यसरी मिलेर बस्न नेपाली केटा पाउँन धेरै गाह्रो छ । कारण एकातिर नेपाली विद्यार्थीहरूको संख्या ज्यादै कम छ, भने अर्कातिर भएका पनि डिपेण्डेण्टमा श्रीमती लिएर गएका हुन्छन् ।
नेपाली चेली विद्यार्थीले नेपाल मूलका विद्यार्थी रूमपार्टनर नभेटे पछि रहन सहन, कला संस्कृति ,भेषभूषा धर्म परंपरा र परिवेश मिल्ने छिमेकी देश भारतीयमूलका विद्यार्थी दोस्रो प्राथमिकतामा राखी खोज्दछन ती पनि नपाए पछि अन्तमा विदेशी विद्यार्थीसंग मिलेर बस्नवाद्य हुन्छन् ।
हिन्दु मान्यता परंपरा र संस्कृति अनुसार नारीका निम्ति निश्चित मापडण्ड निर्धारण गरिएको हुन्छ । हाम्रो सामाजिक परिवेश र मान्यता तथा नीति अनुसार “एक्लै कोही पुरूष नबस्नु अरूकी एक्लै छ चेली जहा” भनिएको छ ।

यस बिषम परिस्थितिमा यो शास्त्रीय विचार कसरी जिवन्त रहला र ? । एक त अवला नारी कहिल्यै घरको जस्केलो नकटेकी ,ब्यबहारीक ज्ञानको परिपक्वता नभएकी वालिकाले कसरी सात समुन्द्रपारीको मूलुक जहाँ बोली–चाली, भेस–भुषा, रहन–सहन, कला–संस्कृति, संस्कार,मिल्दैन । नाता–गोता, कर–कुटुम्बहरू छैनन् । सबै अपरिचित छन । यस्तो अबस्थामा जो अध्ययनका क्रममा आफन्तबाट धेरै टाडा बसेकी र सुखद् भबिष्य निर्माणका निम्ति कर्ममय गोरेटो बनाउन सिङ्गो शरीर लिएर कम्बर कसेकी नेपाली चेलीको अबस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ?
बिकशीत मुलुक अमेरिका ,जहा व्यष्टिवादी समाज छ । खुला सामाजिक परिवेश छ । खुला बजारीकरण छ । उपभोक्तावादको संस्कृति अचम्मको छ । दैनिक जीवनमा कृतिम मायाप्रेम छ । समयको गतिसंगै कुदाकुद, भागाभागको अबस्था छ । कसैलाई कोहीसँग बोल्ने फुर्सद छैन । राम्रोसंग बनिबनाउ भएर हिडने र स्वयंम् श्रृगार गर्ने पनि फुर्सद छैन ।

मानवताबाद, सहअस्तित्व र विश्वबन्धुत्व भनेको कोरा कल्पना र कथन मात्र हुन । त्यस्तो परिस्थितिमा ती अबोध नेपाली चेलीको के हालत होला ? उनले कसरी आफूलाई सुरक्षित राखि अध्ययन पूरा गर्लीन् ? यो कुरा उनै भुक्तभोगी चेलीले बताउन सक्लीन् म त पर्यटक भिसा लिएर अमेरिका यात्रा गरेको सामान्य मानिस न ठहरिए ?
यु.एसको अर्को महत्वपूर्ण कुरा यातायातको साधन पनि हो । यहाँ सार्वजनिक यातायातका साधन अति न्यून छन् । प्रत्येकले आफ्नो निजी गाडी प्रयोग गर्दछन । परिवारका जति सदस्य छन । ती सबैको निजी कार हुन्छ । ब्यावशायिक तथा ब्यापारीलाई मात्र होइन सामान्य विद्यार्थीलाई पनि आय आर्जन गरी अध्ययन पूरा गर्न गाडी नितान्त आवश्यक हुन्छ । दैनिक जीवनयापनका लागि अमेरिकामा गाडी भएन भने उसले केही पनि गर्न सक्दैन । नेपालमा गाडी भनेको विलासीताको साधनमा गनिन्छ भने अमेरिकामा त्यो अत्यावश्यक बस्तुको रूपमा लिईन्छ ।
नेपालबाट अध्ययनकालागि अमेरिकामा पठाए पछि सबैकाम सकियो भनेर बुवा–आमा मख्ख पर्दछन । समाजमा आफ्नो ईज्जत, प्रतिष्ठा सान सौगात बडेको स्वीकार्द छन । पढनकोलागि खर्च दिनु त परै जावोस उल्टै छोराछोरी अमेरिकामा पढदै छन भन्दै जुँगामा ताउँ लाउँदै गर्वकासाथ धाक लगाउनेहरू छोराछोरीको कहाली लाग्ने अबस्था देखे त बुझ्थे होलान । तर नेपालमा बसेर सामान्य दुःखजिलो गरी जीवन निर्वाह गरेका ती बिचरा श्रमजीवी बावु आमाहरूले कसरी बुझुन ? जुन कल्पना बाहिरको कुरा हो ।
म अमेरिकामा घुम्न गएको बेला त्यहा पढ्न आएकी नेपाली चेलीले सुनाएका जीवनका भोगाईका गाथाहरू अहिले पनि झल्झली सम्झिरहेको छु ।
एकदिनको कुरा हो कनेक्टिकट विश्व विद्यालयमा ईन्जिनियरीङ्ग बिषयमा विद्यावारीधि गर्दै गरेका छोरीज्वाइँको डेरा होलिङ्गकोबाट म युकन विश्व विद्यालयको पुस्तकालय तर्फ पैदल जादै थिए । बाटो काट्ने क्रममा रातो बत्ती बलेकाले केहीक्षण रोकिए ।

त्यसैबेला बाटो काटने पर्खाईमा बसेकी करीब २१।२२ बर्षकी थाईकट कपाल काटेकी, कालो पाईण्ट र गुलाबी भेष्ट लगाएकी, कानमा पहेलो सुनका साना यारलिङग लगाएकी, सामान्य चमक भएको हल्का लिपिष्टीक लगाएकी, आखिभौ माथी बडो जतनसाथ आइब्रोको सरलरेखा बनाएकी, बाटिएका परेली भित्र गोलगेडी जस्ता देखिने काला ठूला आँखा, अनारका दाना जस्तै लहर लागेर मिलेर बसेका बत्तीसदन्त, सुलुक्क परेको नाक, बाटुलो चौडा निधारको बनावट, सलक्क परेको गोरो अनुहार, नाकमा टल्कने हीरा जडेको फुली , लामा–लामा हात पाखुरा, पुक्लुक्क परेका पोटीला गाला, सानो कटी, उच्चास्तन, सर्लक्क मिलेको स्लीम शारीरिक बनावट, करिब ५’ फुट ३” ईञ्च उच्चाई भएकी ब्रह्माण्डका सृष्टिनायक परमपिता परमेश्वर (ब्रह्माजी )ले बडो फुर्सद लिएर रचना गरेकी, प्रकृतिकी सर्वाङ्ग शुन्दरीसंग एक्कासी आँखा जुध्न पुगे ।

चाँदनी रातमा झल्मलाकार चन्द्रमाको किरणले तारागणलाई शोभा दिए झै गरी उनले मृदु मुस्कान छर्दै हाई भनि आदरार्थीभाव प्रकट गरीन् । उनको लोभलाग्दो स्वरूप र शुन्दरतामा लठ्ठिएर एकोहोरीए पनि संयमताका साथ मन्द मुस्कान मात्र दिए । केही बोल्न सकीन । उनले अंग्रेजीमा तपाई कँहाबाट पाल्नु भएको भनि प्रश्न गरीन ? मैले उनको बोलीको लवजमा कताकता नेपालीपन महसुस गरे र जवाफ फर्काए । म नेपालबाट आएको भन्दा सोझै नेपालीमा बुबा भनि सम्बोधन गरीन । म छक्क परे । नेपाली भएकोमा असाध्य खुसी लाग्यो । बाटा भरी कुराकानी गर्दै गयौ । उनी पनि म संगै पुस्तकालय गईन । पुस्तकालयको पाँचौ तलाको उत्तर पश्चिमको एकान्त स्थानमा रहेको सोफामा गएर बस्यौ । मेरो बारेमा पूरा जानकारी लिए पछि उनले आफ्नो परिचय यसरी दिईन ।
नाम ऊल्लेख नगरौं, सान्दर्भिक पनि हुदैन । उनको घर कास्की जिल्लाको पोखरामा रहेछ । उनी हुने खाने घरकी एक्ली छोरी रहिछन । प्रवेशिका परीक्षामा डिष्ट्रिक्सन ल्याई उत्तीर्ण गरे पछि नेपालको राम्रो कलेजबाट विज्ञान विषयमा ८० प्रतिशत अंककासाथ १२ पास गरिछन् । साथीभाइको लहलहैमा लागेर अमेरिकामा पढन जाने एक मात्र उद्देश्य राखेर तयार गर्दा गर्दै १२ पास गरेको दुई बर्ष पछाडी ३ पटकमा बल्लतल्ल भिसा लागेछ । युनिभर्सिटी अफ कनेक्टिकट (युकन) मा ७५ प्रतिशत ईस्कलरसिप पाएर भर्ना भइछन । अमेरिकाको भिसा लागेपछि उनको घरमा नजिकका नातेदार, ईष्टमित्र, कर–कुटुम्ब, छर–छिमेक साथी–संगी, भेटन आउने तथा बधाइ र शुभकामना दिनेहरूको लर्को नै लागेछ । मानौ उनले ठूलै संग्रामको लडाइ जितेर विजय प्राप्त गरे भन्दा पनि अधिक भएछ ।
अमेरिका आउँदा उनले काठमाडौको ठमेल, भेडासिंग र दरवारमार्गमा गएर महङ्गो मुल्यमा सपिङग गरि छन । सपिङगका लागि उनकी ठूलीआमाको छोरो जो नेपाल सरकारको सहकारी विभागमा जागिरे रहेछन ।

उनी १ पटक अफिसको कामले विदेश गएकाले, उनैसंग सर–सल्लाह गरी सामानको लिष्ट उतारेछन । उनी कतिको जानकार थिए थाहा भएन ? जे होस लाटो देशको गाँडो तन्नेरी चाहि पक्कै थिए रे । उसले दिएको अनुमानित सामान र मुल्यका बारेमा उनका वुबा र आमाको बीचमा लामै छलफल भएछ । उनका वुबा त्यो के जान्दछ ? भन्नु हुन्थ्यो । आमाको दिदीको छोरा भएकाले उसको पक्ष लिदै कडकेरै वुबाको सातो लिनु भएछ,। विदेशको नाउँमा रक्सौंल कटेका छैनौं । छोरीले अमेरिकाको भिसा लगाई अब पढन जादैंछे । समाजमा हाम्रो कस्तो सान, मान र ईज्जत छ ।

त्यसको त ख्याल राख्नु पर्नेहो । पैसा भनेपछि पहिले नै १०४ डिग्री ज्वरो आउछ । देशकाल परिस्थितिको ख्याल गर्न जान्नु पर्दैन । महंगि चुलिएर आकास छुन लागि सक्यो । बुबाका पालामा खाएको घ्यू ऐले हात सुगेर हुन्छ र ? व्यवहार आईपरेपछि पैशा छैन, सक्तिन भनेर सुख पाइन्छ ? भनि थर्काए पछि वुबाले आमालाई दिएको रकमबाट सपिङग मलमा गई छानीछानी किनेको सामान ,प्लेनटिकट, र महंगो दरमा डलर साटदा घरमा बेग्लै किसिमको तनाव भएको थियो ।

गाउँघरमा चाँहि दारिमबोटे ठल्दाईकी छोरी अमेरिका पढन जाने ! लौं भाग्यमा त लेखेर ल्याएकी रहिछ भनेको सुन्दा उनको कलिलो दिमागले आफूलाई ठूलै भाग्यमानी ठानेकी रहिछन । अमेरिका आएपछिको भोगाइले ती सबै हेमन्तको मारमा परेका वनस्पति सरह पतझड भए भन्दै खुइइय गरी लामो सुस्केरा हालिन र तंतम्याइलो अनुहार बनाइन र बलिन्द्र आँसुकासाथ आफ्नो वेदना सुनाउदै गइन ।
हेर्नोस बुबा म माथि मेरो घरपरिवार र गाउँ समाजले कत्रो आशा भरोसा र विश्वास राखेको छ । त्यसलाई मन मस्तिष्कमा सिरानी हालेर राखेकी छु । नेपालबाट बडो ताम–झामका साथ यहाँ आए । यहाको परिस्थितिले सृजना गरेका बाध्यतासंग विवश भएर संझौता गर्न पुगे । ऐल म कुन मोडमा संघर्षमय जीवन बिताई रहेकी छु ।

म आफैलाई थाहा छैन । बाध्यताको चपेटामा परेपछि सगरमाथाले पनि झुक्नु पर्दछ भनेको ठीकै रहेछ । नेपालबाट आएर विश्वविद्यालयको अध्ययनलाई निरन्तरता दिन निकै ठूलो परिश्रम गरे । खर्चको अभाव भएपछि घरमा अध्ययन अबधि भरकालागि पैसा पठाइदिन आग्रह गरे । घरबाट उल्टै म आउँदा लिएको ऋण तिर्न सकेको छैन भन्ने जवाफ पाए । नेपालबाट पैसा आउँने बाटो बन्द भयो । दैनिक आइपरेको समस्याहरू पन्छाउँदा पन्छाउँदै किंम कर्तब्य विमुढ भएर साह्रै निरास भए ।

मेरो सामुन्ने बिदेशी भूमिमा गर या मरको अवस्था आयो । या त पढाई वीचमा छोडनु पर्ने भयो होईन भने विकल्प खोज्नु पर्यो । बिकल्प खोज्ने क्रममा नेपाली विद्यार्थीहरू खोजे । भारतीय मूलकै भएपनि मिलेर बस्नु परो भनेर भौंतारिए । पढाई छोडन सकिन । कोही साथी नपाएपछि मनका ईष्टदेवलाई भाकेर कहालीलाग्दो भविष्यले निम्त्याएको चारैतिर निस्पट्ट अध्यारोसंग पौठाजोरी खेल्न पुगे । र मुख्य समस्याको रूपमा रहेको डेराभाडा अफ्रिकी महादेशको केन्याली विद्यार्थी केटासंग साझेदारीमा बस्न बाध्य भए । यो कुरा मैले कसैलाई भनेकी छैन ।

नेपालमा बसेका मेरा बुबाआमाले थाहा पाउनु भयो भने उँहाहरूलाई जिउँदै आर्यघाटमा दागबत्ती दिए सरह हुन्छ भन्दै बलिन्द्र आसुँका धारा बगाइन । उनको कुराले मलाई पनि असैय पिडा भयो । छ महिनाको लागि पर्यटक भिसामा आएको मानिसले के नै गर्न सक्थे र ? उनको यो वेदना सुनेर मन नै अमिलो भएर आयो । उनको हृदयबिदारक भावले मेरो मन छीयाछीया भयो । स्तव्ध भएर आश्वस्थ पार्दै भने । हेर ! तिमी सीता, भृकुटी र पासाङ्गल्हामु जस्ता विरङ्गनाको देश नेपालबाट आएकी कर्मठ छोरी हौ । यसरी हरेस खानु हुदैन ।

सरस्वतीका पूजारीलाई धनको अभाव भई रहन्छ भन्दै शान्वना दिदै पुस्तकालयबाट बाहिर निस्कियौ । बेलुकीको ६.०० बजिसकेको थियो । नजिकैको क्याफ्टेरीया (फास्टफूड क्याफे) मा गएर नास्ता,कफि खायौ र छुट्टियौ । उनका कुराले धेरैबेर सम्म मेरो दिमाग चक्करायो । अमेरीकामा आएर जीवनमा यस्तो कुरा सुन्नु पर्ला भनेर सोचेको सम्म थिइन । सपना जस्तै भयो । मन कुडिएर आयो । उनको शुन्दरता र भोगाइका गाथाहरूलाई तौलिदा एक तमासको भएर आयो । ग्रहणले वेस्ठित चन्दमा जस्तै भए । हातगोडा लल्याक–लुलुक भए । मनमा वेचैनीले डेरा जमायो । बासस्थान फर्कदा बाटाभरी प्राःय बिक्षिप्त जस्तै भए । मनमनले हाम्रो देशको परीस्थिति, उनका जन्मदिने बुबा–आमालाई र ती नरकन्यालाई झल्झली संझदै अमिलो मन लिएर त्यहाबाट कुनबेला आफ्नो बास स्थानमा पुगे पत्तै पाईन ।
नमरी स्वर्ग देखिदैन भने झै अमेरिका आउँनु भन्दा पहिले यहाँको बखान प्रशस्त सुनेको थिए । मेरो घर नजिकका छिमेकी पर्यटक भिसामा अमेरिका ३ महिना बसेर नेपाल फर्केका थिए । उनीसंग जब भेट हुन्थ्यो, अमेरिकाकै बारेमा धराप्रबाह गफ छाँटदथे । उनले सुनाएका थिए । अमेरिकामा गाडी त फालाफाल हुन्छ । घरजग्गाको त कुरागरी साध्य छैन,। रोजी रोजी लिन पाइन्छ । खल्तिमा सुको नभए पनि फरक पर्दैन । अमेरिकामा तपाइले काम खोज्ने होइन कामले तपाइलाइ खोज्दछ ।

कति समय काम गर्ने, २ घण्टा ४ घण्टा (मनलागि) काम गर्यो । तुरून्त पैसा पाइन्छ । लियो हिड्यो । कति आनन्द । हातमा डलर भै हाल्दछ,। बडो मोजमस्तिको जीवनयापन गर्न पाईन्छ । पानी भन्दा बियर सस्तो हुन्छ । केटीहरू त त्यसै झुम्मिन्छन रे । कुनै क्लव, बार जहाँ पनि खुला प्रस्ताव राख्न सकिन्छ रे । कहिले पनि जाडो र गर्मीको महसुस हुदैन । बाहिर ४ फुट बाक्लो हिऊ परेको हुन्छ भने भित्र कोठामा हपहपि गर्मी हुन्छ । अझ रमाइलो कुरा उनलाई एक अमेरिकी दम्पतिले सोधे रे, ? तपाईहरूको जोडी कहिलेदेखिको हो भनेर ? उनले आफ्नो बितेको दाम्पत्य जीवनको कहानी र समयको बारेमा सुनाउदा छक्कै पर अरे ? यति लामो समय सम्म एकै साथ हुनुहुन्छ भनि बढो आश्चर्य प्रकट गर्यो रे ।
अमेरिका प्रवेश गर्न मात्र कठिन हुन्छ,। प्रवेश गरेपछि कुनै अपराधिक क्रियाकलाप नगर्ने हो भने अमेरिकी पुलिसले पनि कुनै प्रकारको सोधपुछ गर्न पाउदैन । यदि कुनै निकायले विना कारण सोधपुछ गर्दछ भने उसको मानव अधिकार हनन भयो भनेर मुद्दा दिन सक्छ । र यस्तो मुद्दा संघीयकानून अन्तरगत कारबाही हुने व्यबस्था हुन्छ रे । अमेरिकाको जुनसुकै भूभाग न्युयोर्क, वासिङगटन डी.सी., कोलोराडो, फ्लोरिडा, मिसिगन, बोस्टन, पेन्शीलभेनिया आदि सबै राज्यमा एकै किसिमका विकास र बिस्तार छ रे । नेपालमा जस्तो काठमाडौ, विराटनगर, नेपालगञ्ज, दार्चुला, हुम्ला, पर्वत, ताप्लेजुङगमा जस्तो असमानता छैन ।

अमेरिका भनेको विश्वको भूस्वर्ग नै हो । आदित्यादि । यी तमाम बखान सुनेर मलाई पनि सुत्दा, उठदा, बस्दा, खाँदा पनि अमेरिकी भूतले निकै दिन झक्झक्याएको थियो । त्यो सुनको स्याउ फल्ने मुलुकमा जाने हुटहुटीले प्रत्येक वर्ष मैले निरन्तर डीभी भरिरहे । बिशौं बर्ष बित्दा पनि कहिले परेको होइन । मेरो कल्पनाको संसार सधै अधुरो रह्यो ।
मेरा छिमेकी मित्रको बखानका साथै विभिन्न कोणबाट सर्भे गर्दा अमेरिका विश्वको एक नम्बर धनी मुलुक र मानव अधिकारको रक्षा कवचको रूपमा रहेको कुरा सबैतिरबाट प्रमाणित भएको थियो ।
एक दिनको कुरा हो सदाझै विहानको नित्य कर्म सकेर श्रीमतीजीले दिएको चियाको चुस्की लिएर गोरखापत्रको समाचार हेर्दै थिए । यतिकैमा एक अजनवी (परिवर्तित नाम) नजिकै आएर उभियो ।

उसले हातमा अमेरिकाको डीभी चिठ्टा परेको जानकारी पत्र देखाउदै भन्यो । मलाई डीभी परो के गरौ ? मलाइ त केही थाहा छैन ? यो पत्र पाएको निश्चित अवधीमा पासपोर्ट र भिसा सहित छ महिना भित्रमा अमेरिका छिरिसक्नु पर्दछ रे । म के गरौं भनेर सोध्यो ? उसको कुरा सुनेर मैले भने, हेर बाबु ! तिमी कति भाग्यमानी रहेछौ । अमेरिका जस्तो देशको चिठ्ठा पर्नु भनेको अघिल्लो जन्ममा लिएर आउँनु पर्दछ । सितिमिति कहाँ यो सुबिधा पाइन्छ र ?
लाखौ खर्च गरेर अमेरिका पढ्न गएका विध्यार्थीहरूले अध्ययन पूरा गरे पछि भिसाको स्ट्याटस परिवर्तन गरेर वर्किङग भिसा लिनु पर्दछ । यस्ता धेरै खुडकिला पार गरेपछि वकिल लगाएर ग्रीनकार्डको लागि प्रकृया चलाउनु पर्दछ । त्यहाँ पनि वकिलको फिस धेरै महंगो छ,। बहस हेरेर ५०० देखि १००० डलर तिर्नु पर्दछ । यी प्रकृया पूरा गर्दैमा ग्रीनकार्ड पाइन्छ भन्ने ग्यारेण्टी हुदैन ।

अध्ययनमा गएकाले स्तरीय शिक्षा प्राप्त गरेको छैन भने ग्रीनकार्ड लिन लामो समय कुर्नु पर्दछ । तर डीभीधारीले अमेरिका छिरेको १५ दिनमा सामाजिक सुरक्षाकार्ड , १ महिना भित्रमा ग्रीनकार्ड र ५ वर्षमा अमेरिकाको नागरिकता पाउने ब्यबस्था छ । यस्तो स्वर्ण अवसर छोडनु हुदैन भनि आफूले जानेको अमेरिकाको बारेमा सबै जानकारी गराएर प्रक्रिया अगाडि बढाउने सल्लाह दिएर बिदा गरे ।
त्यो अजनवी २२ बर्षको लक्का जवान थियो । बी.बी.ए दोश्रो बर्ष, तेश्रो सेमेस्टरमा अध्ययन गर्दै थियो । डीभी चिठ्ठा पर्यो । अमेरिका जाने तयारी गर्दा गर्दै २ महिना वितेछ ।

पढाई बीचैमा छोडेर अमेरिका प्रवेश गर्यो । अमेरिका प्रवेश गर्ने क्रममा इस्पोन्सर लेटर भर्जिनियामा बसोबास गर्ने नजिकका नाताकै मानिसबाट लियो । त्यो अजनवी नेपालबाट बडो तामझामका साथ टीका ,माला, खादा पहिरेर विदा भएर गएको थियो । परिवारका सबै सदस्य, नातागोता, ईष्टमित्र, कर–कुटुम्बहरूको ठूलो जमात जम्मा भएर त्रिभुवन विमानस्थलबाट राजदुतलाई विदाई गरेझै गरी बिदाई गरेका थिए ।
त्यो अजनबि बडो उमंगकासाथ अमेरिका त प्रवेश गर्यो ।

उसले लाखौ करोडौ सपनाको तानावाना बुनी कल्पनातीत भविष्यको रंङगीन ऐश्वर्यमा डुबुल्की मार्ने प्रवल अभिलाषा लिएको थियो । अमेरिका छिर्दा उसंग पुँजी भनेको सिंङ्गो शरीर पुराना र नयाँ लत्ताकपडा भएको सुटकेश एकथान र ५०० डलर भन्दा बढी केही थिएन । उसकोलागि अमेरिका बिल्कुल नयाँ संसार थियो । व्यक्तिवादी समाजको बाहुल्यता भएकाले कसैलाई कसैको मतलब थिएन । चिनेजानेको पनि कोही भएनन् ।

अमेरिकामा उत्रे पछि उसलाई इस्पोनसर गरेका ब्यक्तिले एयरपोर्टबाट पिकअप गरेर घरमा ल्याएर राखे । उसले अमेरिकी संसारलाई पेटीबाट नियाल्यो । चारैतिर जंगल, घर र गाडी मात्र पायो । मानिसको नाममा चरो मुसो केही देखिदैन । कहाँजाने ? के गर्ने ? अत्तोपत्तो केही भएन । एकाबिहानै सबै काममा हिडिहाल्दछन । उ एक्लै घरमा हुन्छ । गोजीमा नेपालबाट लगेको डलर छ तर भोकले पेटका सारंङगी रेटिदा किनेर खाने एउटा पनि दोकान भेटेनछ । बसेको घरका मानिसहरू बिहानदेखि बेलुका सम्म गाडीमा हिडिरहेका हुन्छन । सबैको छुट्टाछुट्टै कार छ । खै के हो ? के हो ? कुरै बुझ्न सकेनछ ।
करिव एकहप्ता बसेपछि घरवाला दाइले उसलाई ईण्डियनमूलको पाकिस्तानीको होटलमा काममा लगाइदिए छन । खाने र बस्ने उसैले दिने रहेछ । काम चाँहि बिहान ६ बजेदेखि रातको ९ बजे सम्म भाँडावर्तन माझ्नु पर्ने रहेछ । भाँडा पनि यति ठूला हुनकी त्यो बिचरा भाँडा भित्र पसेर मोल्नु पर्दथ्यो रे ? यसरी भाँडावर्तन माज्दा माज्दा उसका हात गोडा पानीमा ढाडिएर पुरै फुलेका र निला भएका थिए रे । बिहानदेखि बेलुकासम्म सर्फ र साबुन पानीमा कामगर्दा के हालत हुन्छ ? सजिलै अनुमान गर्न सकिन्छ ।

नेपालमा विद्यार्थी भएर हिडेको, काम नगरेको केटोले यस्तो काम कसरी गर्यौ होला ? बाहिरी संसारमा सम्पर्क गर्न टेलिफोन छैन । साथीसंग मागेर फोनगर्दा पनि मालिकले बाहिरी सम्पर्क नगर्नु भनि गाली गर्दो रहेछ । रात्रीको समयमा कोठामा बस्ने चारजना मध्ये एउटा पाकिस्तानी बुढो रहेछ । उसले कहिलेकाहीँ आक्कल–झुक्कल लुकाएर मोबाइल दिदो रहेछ ।

एक दिनको कुरा हो, त्यो बुढो साथीसंग फोन मागेर नेपालमा सम्पर्क गरेछ । नेपालमा के छ ? कस्तो छ ? सञ्चो बिसञ्चो के छ ? भनेर प्रश्न गरी सकेपछि परिवारका सदस्यसंग पालैपालो गरी टेलीफोनमा कुरा गरेछ । सबैले आईफोन, ल्याबटप ,आईप्याड आदि पठाइदिन भनेछन । बिचराको परिस्थिति के छ ? कसरी बसेको छ ? काम के पायो ? त्यसको कुनै मतलव भएन, नेपालमा बस्ने सबैले आ–आफ्ना माग प्रस्तुत गरेछन । परिवार संगको बातचित र घर संझेर असैह्य पीडा भएर एक्लै बाथरूममा गएर अघौजी रोएछ । भाग्यको खेल र भाविको लेखान्त संझिएर बलिन्द्र आँसुको भेलवाडीलाई रोक्दै पुःन यथावत काममा लागेछ ।
यसरी उसको दिनचर्या बडो कष्टसंग बितिरहेको थियो । २ महिना भैसक्यो ग्रीनकार्ड आएको छैन । के भो भनेर सोध्न जान पनि अन्यौलमा परेछ ? कता जाने ? के गर्ने ? बडो दुविधामा थियो । यत्तिकैमा पहिले बसेको घरकी छोरीले होटलवाला मार्फत ग्रीनकार्ड आएको छ लिन पठाई दिनु भनि खबर गरी छन ।

सो लिन जानको लागि उसले साहुसंग बिदा मागेछ । आज भोलि भन्दा भन्दै करीब १५ दिन पछाडी राती ९ बजे काम सकेर ग्रीनकार्ड लिन हिडेछ । रात्रीको समय बसमा त चड्यो तर कहाँ उत्रने ? स्थान नै बिर्सिए छ । करीब १२ माइल जति पर पुगे पछि ड्राइभरसंग कुरा गरेछ र आफू हराएको कुरा भनेछ । उसले जानुपर्ने ठाउँ बाटो र घर नं . भनेपछि बसको ड्राईभरले गाडी रोकी उभर (ट्याक्सी) बोलाएर पठाइ दिएछ । उभरबाट जाँदा रातको करीब १२.३० बजिसकेको रहेछ ।
त्यो निस्पट्ट रात्रीको बिचमा यदाकदा गाडी चलेका छन । मानिस कही कोही देखिदैंन । चारैतिर सुनसान छ । आफन्त दाइको घरमा पुगेर उसले बाहिरबाट घण्टी बजाएछ ।

मोबाइलबाट अनेकौ पटक फोन सम्पर्क गरेछ । हातले ढोकामा ढ्यापढ्याप गरी नाम लिएर धेरै पटक बोलाएछ ,। कोही उठेनछन् । केही सीप लागेन र अन्तमा निरास भएर कता जाने ? के गर्ने ? भन्ने कुरा सोच्न सकेनछ । त्यही घरको पेटीमा रात विताउँ भने चोर हो ? भनि पकडाउमा परीएला र कारबाही होला भन्ने डरले त्यहाँबाट हिडेछ । नजिकैको स्कूलमा गएर रात बिताउने बिचार गरेछ । फेरी सार्बजनिक स्थानमा एक्लै रात बिताउदा के कसो होला भनि जान सकेन छ ?। त्यसकै साइडमा आर्लिङगटन पार्क रहेछ,। जहा उ पहिले एक पटक गएको रहेछ । त्यही बसेर रात बिताएछ ।

हिन्दु संस्कारमा हुर्किएको कलिलो केटो जसले नेपालमा भूत, प्रेत, पिशाच, ढंकिनी, बनझाक्री, मसान, मुर्कूटा, वीरमसान आदिको चलखेल रात्रीको समयमा हुन्छ भन्ने सुनेको थियो । कसरी त्यो निर्जन पार्कमा एक्लै रात बितायो होला ? रात्रीमा हिडने वन्यजन्तु र चराचुरूङगीका आवाजले कति तर्सियो होला ? त्यो बिचरा । जसको धाति न गुहारी छ । त्यो कालरात्रीमा कही केही छैन । छ भने मनभित्रको अदृष्य र अमूर्त ईश्वर मात्र छ । कति डरायो होला ? कति आतियो होला ? नेपालमा लघुशंका गर्न घर बाहिर जाँदा त साथी लिएर जानेले एक्लै त्यो रात कसरी बितायो ? झ्याँउकिरी र न्याउलीको कर्कसा आवाजको सामना कसरी गर्यो होला ।

मानिसको सबै कुरा लुक्न सक्छ तर डर कही कतै लुक्दैन । झन विकराल रूपमा देखा पर्दछ । आफ्नो प्राण भन्दा प्यारो समाज र मातृभूमिलाई चटक्क छोडेर सुखका निम्ति यस्तो निर्जन ठाउमा आएको डीभीधारी अजनबिको जीवन कति कहालि लाग्दो, अत्यासपूर्ण र पीडादायक रहेछ । सजिलै अनुमान गर्न सकिन्छ । धन्य अमेरिका र धन्य डीभी योजना ।
अन्तमा, यी माथीका कथा, कुथुङ्ग्री र कहानी मन गढन्ते होईनन् । मैले पर्यटक भिषा लिएर तीन पटक अमेरिकाको भ्रमणका क्रममा आफैले भेटेर साक्षातकार गरी उनीहरूले सुनाएका मर्मस्पर्सी वेदनाहरू समेटेर जस्ताको तस्तै पस्केको मात्र हो । यसमा कुनै मनगडन्ते र अतिरंजित भावनाहरू व्यक्त गरिएको छैन । सबैको वेदना यस्तै होला भनेर ठोकुवा गर्न पनि सकिदैन । कारण ‘क’ भन्ने व्यक्तिले भोगेको कुरा ‘ख’ ले पनि भोग्नु पर्दछ भन्ने केही छैन । संस्कृत नीतिश्लोकमा भनिएको छ ‘भाग्यम् फलति सर्वत्र न च विद्या न पौरख’, भाग्यमा लेखिएको कुरा भएर नै छोडदछ । छैटीको दिन भावीले के लेखी दिएको छ ? त्यो कुरा भोग्नु नै पर्दछ । आदि ।
अमेरिकामा विश्वशक्ति सम्पन्न धनी मुलुक हो । यहाको विकासको स्वरूप सर्वत्र एकै प्रकारको छ । यसमा २ मत छैन । मानव अधिकारको पूर्ण पालना छ । यहाँ कसैले कसैलाई विना कारण सोधपुछ गर्ने, छुने, आँखामा आँखा जुधाएर हेर्दा पनि कानूनी कारबाही हुन्छ । अमेरिका प्रवेशका लागि भिसा प्रकृया निकै कठिन छ । झन विद्यार्थीवर्गको लागि शुल्क अरूको भन्दा महंगो त छदैछ त्यसमा पनि लामो प्रकृयाले गर्दा अन्यको तुलनामा भिसा पाउँनेहरूको संख्या धेरै कम छ । यहाँका मानिसको खटाइ मेसिन जतिकै कडा छ ।

काम सजिलै पाउने, मनग्य डलर कमाउने, ऐश आरामका कुरा अमेरिकाको सपनीमा चुर्लुम्म डुबेकालाई बताउनु ठीक हो । तर यथार्थता त्यो होईन । सामाजिक सुरक्षाकार्ड, ग्रीनकार्ड र नागरिकता हुनेले गाडी, घर, जग्गा आदि सरल रूपमा ऋणमा लिन पाउछन । अन्यलाई होइन । टुरिष्ट भिसामा आएको व्यक्तिले अमेरिकामा बैकमा खाता खोल्न त पाउदैन भने अरू डलरको खेतिका कुरा हाँस्यासपद् मात्र हुन्छ ।
डीभीधारीहरूको पिडा धेरै सत्यताको नजिकमा छ । कारण नेपालबाट आउँदा जुन जोस, जागर, उत्साह र उद्देश्य लिएर आउँछन । सुरूका दिनमा ती सबै निरर्थक सावित हुन्छन । डीभीधारीहरुलाई कुनै तालिम र छुट्टै कामको व्यबस्था राज्य वा सरकारले गरिदिएको हुदैन । आफुले नै काम खोजेर जीवन निर्बाह गर्नु पर्दछ ।

न्युन आय भएका सिमान्तकृतहरूका निम्ति निश्चित सीमाभित्र राखि केटाकेटी, गर्भिणी महिला, अपाङगहरुलाई वीकमा (ध्क्ष्ऋ) निश्चित सुबिधा दिन्छ र करको भारबाट उन्मुक्ति दिने काम गर्दछ । तसर्थ अमेरिका भनेको त्यस्तो मूलुक हो । त्यहाँ पुग्दैमा पोल्टाभरी सुनको स्याउ टिप्न पाइन्छ भन्नु थ्री गोल्डेन एपल्सको कहानी सुने जस्तै हो । कामै नगरी केही हुनेवाला छैन । अमेरिका भनेको कर्मलाई पूजा गर्ने मुलुक हो । व्यक्तिवादी समाज छ, नेपालमा जस्तो समष्ठीवादी छैन । जसले राम्रो काम गरी क्रेडिट कमाउँछ, उ नै सम्मानित नागरिक भएर जीवनयापन गर्न पाउँछ भने अपराधिक क्रियाकलाप गर्नेहरूकोलागि कारबाहीको घेरा सधै उसकै वरिपरि घुमिरहेको हुन्छ । अस्तु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।