अल विदा रामप्रसाद चापागाईँ : रमेश शुभेच्छु
कपन अनलाइन
काठमाण्डौ,साउन १६ ।
घाट हो कि अस्पताल चिन्न मुस्किल छ
अल विदा रामप्रसाद चापागाईँ भन्न मुस्किल छ ।
कोरोना हो कि काल चिन्न मुस्किल छ
अनौठो छ जिउडाल चिन्न मुस्किल छ
ढुक्कले क्वारिन्टिनमा बस्नुहोस् हजुर
आफ्नै घर हो कि पाल चिन्न मुस्किल छ
हावा चल्दा छाल बन्छ तलाउको पानी पनि
समुद्र हो कि ताल चिन्न मुस्किल छ
कोही खाँदैछन् लाज पचाएर कोही भोकभोकै छन्
आनिकाल हो कि सहकाल चिन्न मुस्किल छ
मान्छे गएपछि फेरि फर्कँदैन जुन ठाउँबाट
आर्यघाट हो कि अस्पताल चिन्न मुस्किल छ ।
केही दिन अगाडि एउटा कार्यक्रममा रामप्रसाद चापागाईँले वाचन गर्दै गरेको यो गजल सुनेँ । केही दिनपछि रामप्रसाद चापागाई विरामी भएको सुनेँ । केही दिनमा विर्तासिटी अस्पताल पुर्याएको सुने र केही दिनपछि निधन भएको खबर पनि सुनेँ । यी घटना पन्ध्र दिन बिचका थिए । २२ गते पाँचथरका लेखक र पत्रकार साथीहरुले उपचारका लागि विर्तासिटी अस्पताल लगिएको र स्वास्थ्य लाभको कामना गरिएका स्टाटस हाले । २३ गते विहान अवस्था बुझ्दा सामान्य थियो । उहाँकै फोन उठिरहेको थियो । फोन छोरीले उठाएकी थिइन् । स्वास्थ्य लाभको कामना गरेको थिएँ ।
२५ गते बिहानै रामप्रसाद चापागाईँ रहेनन् भन्ने खबर सुन्दा म अलमलिएँ । यस्तो खरबले असार २४ गतेको एक दिन एक वर्षभन्दा बढी लाग्यो । मलाई रामप्रसादको अवस्थाबारे केही थाहा थिएन । म विहान फोनै नखोली अरु काममा व्यस्त थिएँ । फोन खोल्ना साथ नयाँ नंबरबाट फोन आयो । उठाउँदा प्रेम ओझाको आवाज । उनले अरु केही नसोधी भने थाहा पाउनुभयो ? मैले अरु केही नसोची भनेँछु ः थाहा पाएँ । सम्भवत रामप्रसादका लागि होइन दिनदिनै आउने अनिष्ठ खबरका लागि म त्रस्त थिए । थाहा पाएँ भनेको कुरा अज्ञात थियो । ओझाले नयाँ नम्बरबाट उही सन्त्रासको खबर भनिरहेका हरेछन् । सत्य बोलिसकेका रहेछन् । नजिकको सूत्रलाई फोन गर्दा पाँचथर लैजाँदै गरेको बुझियो । साँझ अबेर फिदिम लगेर तमोरमै अन्त्यष्ठि गरेको खबर आयो । साथीहरु मलाम गएको तर आर्मीले नै सद्गत गरेको थाहा भयो । असाध्यै नरमाइलो लाग्यो ।
लेखको आरम्भमा उठाइएको गजल केही दिनअगाडि मात्र उनी वाचन गर्दै थिए । उनी यो जगलमा कोही खाँदैछन् लाज पचाएर कोही भोकभोकै छन् आनिकाल हो कि सहकाल चिन्न मुस्किल छ भन्दै थिए । उनी यसै गजलमा भन्दै थिए मान्छे गएपछि फर्कँदैन जुन ठाउँबाट आर्य घाट हो कि अस्पताल चिन्न मुस्किल छ पनि भन्दै थिए । प्रेम ओझा, रवीन कोर्काली, सानोकाजी यथार्थ, सुदर्शन काफ्ले, डी. एम कन्दङ्वा, भेषराज तिम्सिनालगायत ताली पिट्तै थिए । वावा भन्दै गजलका सेर र मतला दोहोर्याउँदै थिए । आज त्यही आर्य घाट हो कि अस्पताल शब्द मेरा घाँडीमा माछाका घाँटीमा बल्छीझै भएर रोकियो । म स्तब्ध भएँ । मेरो परिवार स्तब्ध भयो । प्रेम ओझासँग पनि लामो कुरा भएन । फेसबुक खोल्दा भटाभट फोटोसहितका श्रद्धाञ्जली देखिए ।
रामप्रसाद चापागाईँको जम्न इलामको सोयाङ गाउँको तत्कालीन वडा नं तीनमा भएको हो । पहिलो चिनजानमै भनिएको यो ठेगाना मेरो मानस पटलमा अहिले पनि ताजा छ । उनी सत्यनारायण चापागाई र नर्मदा चापागाईँका सुपुत्रका रुपमा जन्मिएका थिए । उनी तीन जना दाजुभाइ र चार जना दिदीबहिनीसँग खेल्दै हुर्किएका कान्छा भाइ थिए । उनी आफ्ना दाजुदिदी सबैका कान्छा भाइका रुपमा हुर्किएका थिए । उनको प्रारम्भिक शिक्षा इलाममै प्रारम्भिक शिक्षा आफ्नै पिता पं सत्यनारायणबाट अगाडि बढेको थियो पछि औपचारिक रुपमा भारतका सम्पूर्णनन्द विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालय वनारसबाट आचार्य गरेका थिए । वनारसबाट फर्किएपछि उनले नेपालीमा स्नातकोत्तर गर्ने योजना गरेर तयारी गरे पनि विविध कारणले त्यो परीक्षा उत्तीर्ण गरेनन् ।
उनी २०३० को दशकदेखि नै साहित्यिक क्षेत्रमा लागेका थिए । अध्ययन अध्यापनकै बिच उनको विवाह इलाम सुलुबुङकी विमला सापकोटासँग उनको विवाह भएको थियो । उनका पहिला पहिलाका रचनाहरु प्रेम प्रणयसँग सम्बन्धित छन् । उनको रुचि नाटक, आख्यान र कवितामा थियो । उनका चारवटा नाक मञ्चन भएका छन् । तीनवटा कृति प्रकाशित छन् ।
चापागाईँले एउटा उपन्यास हेरिदिनु पर्यो भनेर भनेको सम्झना छ । त्यो उपन्यासको परिवेश इलाम पाँचथरसँग सम्बनिधत थियो कथा रमाइलो थियो । उनकै कथा हो कि जस्तो लाग्थ्यो । विमला म्यामसँगको भेट र जीवनका उतारचढाव नै रहेको हो कि जस्तो लाग्थ्यो तर शीर्षक सम्झना छैन । त्यो कृति खोजी गरिनुपर्छ । उनका आफ्नै धुन आफ्नै बाँसुरी (२०७०) जगलसंग्रह, चारधाम तीर्थयात्रा एक अनुभव अनेक (२०७२) नियात्रा जस्ता कृति प्रकाशित छन् । उनको सम्पादनमा पं सत्यनारायण चापागाई स्मृतिग्रन्थ पनि प्रकाशित छ । उनले पछिल्लो समयमा निकै राम्रा र परिष्कृत कविताहरुको सङ्ग्रह तयार पारेका थिए । ती कवितामध्ये धेरै मैले सुनेको र पढेको पनि थिएँ । उनी काठमाडौँ आउँदा भेटेर पशुपति बहुमुखी क्याम्पसको क्यान्टिनमा त्यो पाण्डुलिपि देखाएका थिए । मैले घरैमा ल्याएर हेरेर केही बनाएर छाप्ने सल्लाह दिएको थिएँ । पाण्डुलिपि पनि उनले त्यही क्याम्पसमा आएर लिएका थिए । म पनि उनको काठमाडौँको घरमा पुग्न पाइँन उनी पनि मेरो घरसम्म आउन पाएनन् । त्यो सङ्ग्रह प्रेस पुगेको थियो वा थिएन म अज्ञात रहेँ । उनका अप्रकाशित गजलहरु पनि संग्रह पुग्ने गरी छरिएर र डायरीमा थुनिएर रहेको मेरो अनुमान छ ।
उनी मृदुभाषी थिए । सहयोगी थिए । उनी व्यापार व्यवसायमा संलग्न भए पनि आध्यात्मिक थिए । पतञ्जली योगाभ्यासमा निपूर्ण योगगुरु थिए । उनी पाँचथरको पतञ्जली योगसमितिका उपाध्यक्षका रुपमा पनि सक्रिय थिए । आध्यातिम्क र सामाजिक कार्यक्रमहरुमा दानदातव्यमा पनि अग्रसर थिए । उनी योगकै कारण सत्तरी वर्षको उमेरमा प्रवेश गर्दा पनि पचास पचपन्न वर्षका जस्ता हट्टाकट्टा थिए । उनको शारीरिक वनावट र सक्रियता र यो निधन अप्रत्यासित बनेर रह्यो ।
मैले चिनेका चपागाईँ समाजका लागि आवश्यक थिए । उनका लेखनहरु सबै जीवन कालमै प्रकाशन हुनुपथ्र्यो । उनले त्यसो गर्न भ्याएनन् । मैले यो लेख लेख्दै गर्दा अन्तिम अवस्थाका बारे केही कुरा पाँचथरकै पत्रकार लक्ष्मी गौतमसँग अन्तर्वार्ता लिएर संकलन गरेँ । उनको जीवन उनैले लेखेका नाटक र उपन्यास जस्तो रहस्यमय ढङ्गले बितेको थाहा पाएँ । लक्ष्मीजी क्याम्पस पढ्न फिदिम आउँदा सुरुका दिनमा उनकै घरमा डेरा बसेका रहेछन् । पाँचथरलाई व्यापारको सम्भावनाका रुपमा हेरेर चापागाईँ पााचथर पुगेका रहेछन् ।
मैले बुझेसम्म चापागाई दीर्घ रोग मुक्त थिए । यद्यपि पछिल्लो समय चापागाईँलेँ विभिन्न कारणले सत्तरी वर्षे ज्येष्ठ नागरिकलाई दिने खोप लाउन पाएन छन् । दोस्रो चरणमा उनले खोप लाउन खोज्दा उमेर समूह मिलेन छ । उनलाई अलिअलि ज्वरो आउँदा नै फिदिम अस्पताल लगिएछ । त्यहाँ परीक्षण गर्दा १८ गते कोरोना पुष्टि भएछ । त्यति गाह्रो नभएको र आफू योग गर्ने मानिस हुँदा यतै ठिक होला भनेर २२ गतेसम्म त्यहीँ बसेर उपचार गराएछन् । २२ गते अलि गाह्रो होला जस्तो भएपछि एम्बुलेन्समा हालेर झापको विर्तासिटी अस्पताल झारिएछ । छोरी कमला र वसन्तसँगसँगै झरे छन् । बिव्ल्याँटे आइपुग्दा मोटर साइकल दुर्घटनाका घाइतेले एम्बुलेन्स रोकेर त्यसैमा विर्तामोड झर्ने अडान लिएछन् । विरामी अवस्थाका चापागाईँ आफै उत्रिएर उनीहरुलाई सम्झाएर कोरोना भएको विरामी बसेको एम्बुलेन्समा नजाओ भनेर सम्झाएछन् । जाँदै गर्दा माई किनारमा एम्बुलेन्स रोकेर चिया र बिस्कुट पनि खाएछन् । त्यति बेलासम्म उनको अवस्था सामान्य रहेछ ।
विर्तासिटी अस्पतालमा भर्ना भएको तेस्रो दिन अस्पतालको वातावरणले चापागाईँलाई तनावमा पुर्याएछ । त्यहाँ वरिपरि भएका आठ जना विरामीमध्ये एकै दिन छ जनाको मृत्युले उनलाई सन्त्रास भएछ । उनी केही गलेको र हारेको जस्तो गर्न थालेछन् । केही आफन्तका नाम लिन र पुराना कुरा सम्झन थाले छन् । त्यसो गर्दागर्दै औषधीको प्रभावले निधाएछन् । बिऊँझँदा अरु दुई जनाको पनि मृत्यु भएको घटनाले उनलाई बढी नै अत्याएछ । बाहिरबाट देख्दाको यो मनोवैज्ञानिक प्रभाव र आन्तरिक रिपोर्टअनुसार फेक्सोको खराबीले २६ गते विहानै उनले सदाका लागि आँखा चिम्लिएछन् । यो घटनाले चापागाईँ परिवार मात्र होइन फिदिम बजार, पाँथर, प्रदेश एक र सिङ्गो नेपाली साहित्यलाई स्तब्ध तुल्यायो । चापागाईँ त रहेनन् रहेनन् उनीसँगै धेरै अनुभव, ज्ञान र कामको योजना पनि गयो । असमयको मृत्युले जेजे अफ्ठ्यारो पार्छ त्यो सबै भयो । यो मृत्यु अचानक दुर्घटनामा भएको मृत्यु जस्तै बिझ्दो बनेर रह्यो ।
चापागाईँसँग हेलो हाइ मात्र होइन म संस्थागत रुपले पनि जोडिएको थिएँ । २०५८ साल आषाढ ११ गते मेची अञ्चलको फिदिममा माधव कल्पितको अध्यक्षतामा क्षितिज नाट्य समूहको जन्म भयो । त्यस संस्थालाई चापागाइंले आफ्नै घरको एउटा कोठा दुई–दुई वर्षसम्म निःशुल्क उपलब्ध गराएर सहयोग गरेका थिए । म इलाममा भए पनि त्यस संस्थाको स्थापना कालदेखिको सल्लाहकार थिएँ । चापागाईँ संरक्षक थिए । उनले नयाँ युवाहरुलाई रङ्गमञ्च र साहित्यको क्षेत्रमा बाटो देखाउँदै हौसला र प्रेरणा प्रदान गर्दै आफ्नो रुचिको क्षेत्रलाई बचाइराखेका थिए । उनी त्यस नाट्य समूहको संरक्षक रुपमा पछिल्लो समयसम्म सक्रिय थिए । उनी नौलो साहित्यिक विहान प्रतिष्ठानका अध्यक्ष थिए । त्यो संस्थाको साधारण सदस्य म पनि हुँ । पाँचथर बसाइ कम हुँदा कार्यकारिणी पदमा नरहे पनि त्यस संस्थाको साधारण सदस्य र शुभचिन्तकका रुपमा म रहिरहेको छु । आज पााचथर स्रष्टामञ्च र नौलो साहित्यिक विवान प्रतिष्ठनका सहकार्यका कार्यक्रमहरु भइरहेका छन् । उनले इलाममा पढाएको सिंहबाहिनी आवासीय मा.वि मा मैले पनि केही समय पढाएको थिएँ । उनी मेरा गुरु खगेन्द्र चपागाईँका निकट बन्धु पनि थिए ।
चापागाईँले सहरमा रहेर गाउँबाट सहरमा पढ्न आएका केही गरुँ भन्ने युवाहरुलाई सानो हौसला र उत्साहले कति ठुलो काम गर्छ । उनी युवा साथीहरुको समस्यालाई बुझ्न सक्थे र हौसला दिन सक्थे । क्षितिज नाट्य समूहले पाँचथरमा थुप्रै काम गर्यो । त्यस बेला पाँचथरका तत्कालीन ४१ वटामध्ये अधिकांश गाविसहरुमा सचेतनामूलक नाटक मञ्चन गरेको थियो २०५९ सालमा धरानमा आयोजित पूर्वाञ्चल नाट्य महोत्सव मा भाग लिएको थियो । २०६४ सालमा आरोहण गुरुकूलले राजधानीमा आयोजना गरेको आरोहण राष्ट्रिय नाट्य महोत्सवसम्म पनि सहभागिता जनाएको थियो । आरोहणको नाट्यमहोत्सवमा राम सर र मैले नेताको भूमिका निर्वाह गरेका थियौँ । हामी जनताका अगाडि माफी माग्ने नेताका रुपमा उभिएका थियौँ । सहिदको सपना पुरा नगरेकामा पछुतो गर्ने नेताका रुपमा उभिएका थियौँ । म धरानको महोत्सवमा सहभागी भएको थिइनँ तर रामप्रसाद सर धरान पनि पुगेका थिए ।
नौलो साहित्यिक विहान प्रतिष्ठान पाँचथरका अध्यक्ष भएर त्यस संस्थाको पुनरुत्थानमा पनि चापागाइँको योगदान छ । पाँचथरबाट निस्कने दर्जनौँ हवाइ पत्रिकाका कतिपय अङ्क उनका सहयोगमा निस्किएका छन् । त्यहाँ हुने कतिपय कार्यक्रममा उनले सहयोग गरेका छन् । उनी नाटककार भएका कारण उनले पाँचथरको रङ्गमञ्चको विकासमा र साहित्यको एवम् साहित्य सञ्चारको विकासमा टेवा पुर्याएका छन् । उनी सहयोग गरेर पनि नामका पछि नलाग्ने समाजसेवी चरित्रका साहित्यकार थिए ।
चापागाईँसँग इलाम छँदा र काठमाडौँ छँदा पनि जन्मथलो र कर्मभूमि आइजाइ गर्दा हार्दिकतापूर्वक भेट हुन्थ्यो । म इलाम छँदा नजिकिनुको कारण उनी इलाम सोयाङका प्रतिभा थिए । उनको जन्मभूमि इलाम थियो । तत्काल मेरो कर्मभूमि इलाम भए पनि मेरो जन्मभूमि पाँचथर थियो । हामी इलामे र पाँचथरे पाँचथरमा भेट भएका थियौँ । यस अर्थमा पनि हामी हार्दिक थियौँ । म उनका तुलनामा उमेरले कलिलो, व्यवहारले अपरिपक्व, केटाकेटी नै थिएँ । तर चापागाईँले केटाकेटी जस्तो गरी व्यवहार गरेको कहिलै थाहा भएन । म छोराछोरीको उमेरको मानिस भए पनि उनी मित्रवत व्यवहार गर्थे । यो कुरा अरुले पनि महसुस गरेको हुनुपर्छ । यसको मूल कारण उनको साहित्यिक अभिरुचि मात्र नभई उनको विद्वत्व पनि रहेछ । उनी ऊ जमानामा स्नातकोत्तर गरिसकेका मानिस रहेछन् । यो कुरा मैले पछि थाहा पाएँ ।
उच्च शिक्षा लिएर पनि उनले जागिरे जीवन रोजेनन् । राम्रो कमाएर पनि राजनीतिको बाटो लिएनन् । उनी शिक्षा र चेतनाले बेलैमा सम्भावना पहिचान गर्ने भएका रहेछन् । त्यस बेला पाँचथरमा व्यापार व्यवसायको सम्भावना खोज्दै पुगे । उनका लहरमा इलामका विष्णुप्रसाद पौडेल, सूर्यकुमार निरौला, चेतनाथ पोखरेल, टीका पोखरेल, देवी खनाल आदि पाँचथरको व्यापारिक केन्द्रमा पुगे । यो व्यापार व्यवसायको सम्भावनाको खोजी रहेछ भन्ने कुरा म यतिबेला मात्र बुझ्दैछु । शिक्षा, स्वास्थ्य, वित्तीय संस्थाहरुले पनि यस्ता सम्भावनाको खोजी गर्दै ठुला सहरबाट साना सहरतिर आफ्नो पहुँच बढाउने गर्छन् । त्यो दूरदर्शी व्यवहार चापागाईँले उसबेला अपनाएका रहेछन् ।
चापागाईले सुरुका दिनमा पाँचथरको चर्चित विद्यालय नमुना मा.विको शिक्षक भएर काम गरे । त्यो विद्यालय हामी साना केटाकेटी छँदा चर्चाको विद्यालय थियो । शिक्षण गर्दागर्दै उनको अनुभव र दक्षता र व्यवस्थापकीय क्षमतालाई हेरेर दीपकप्रकाश बाँस्कोटाले कञ्चनजङ्घा टी स्टेतको व्यवस्थापक बनाए । बाँस्कोटा विद्यालयका पनि अध्यक्ष थिए । त्यस बेला उनले त्यस चिया कम्पनीको विकासमा विशेष टेवा पुर्याए । यो कुरा टी स्टेटको इतिहासले पनि देखाउँछ । विद्यालयको इतिहासले पनि देखाउँछ । उनले आफू स्टेटमा हुँदा धेरैलाई योग्यताअनुसारका जागिर दिएको पनि पाइयो । आखिर उनलाई अरुका निर्देशनमा जागिर खानुभन्दा आफ्नै स्वतन्त्र व्यवसायमा रुचि रहेछ र उनी निजी व्यापार व्यवसायमै लागे । आफ्नो क्षमताको पहिचान गरेर कर्म क्षेत्रमा लाग्नेहरुका लागि चापागाई अभिप्रेरक पात्र हुन् ।
रामप्रसाद सहरका व्यापारी थिए । उनी व्यापारी भए पनि गाउँठाउँबाट आएका ग्राहकदेखि ठुला सहरबाट आएका साहूसम्मलाई आदर गर्ने व्यापारी थिए । उनकामा सौदा गर्न आउँदा रातपरेका दिन वास बसेर घर फर्किएको अनुभव पाँचथरका पत्रकार लक्ष्मी गौतम सुनाउँछन् । परेका बेला बाँकी सामान दिएर पढ्न र आफ्नो क्षेत्रमा अभिप्रेरित गरेको कुरा कलाकार माधव कल्पित स्वीकार गर्छन् । यस्ता पात्र उनीसँग जोडिएका अनेक होलान् र छन् पनि । मसँग प्रत्यक्ष लेनदेन थिएन, चन्दा आदानप्रदान थिएन, पत्रिकाको ग्राहक आदानप्रदान पनि थिएन, उनको व्यापारको ग्राहक साहुको सम्बन्ध पनि थिएन मात्र मित्रता मात्र थियो । उनी काठमाडौँ आउँदा डेरामै आएर भेट गरेका थिए । म घरमा सरेपछि आउँछु आउँछु भन्दा भन्दै आउन पाएनन् । भेटका क्रममा केही पाण्डुलिपि देखाएर कविताका विषयमा छलफल गरेका थिए । त्यस आधारमा उनीसँग प्रतिभा पहिचान सामथ्र्य थियो । उनी स्वयम् राम्रा प्रतिभा थिए । उनको पुरानो उपन्यास पनि पढ्न दिएका थिए । त्यो प्रकाशनमा आउन पाएन । मैले हेरिदिएका कविताको संग्रह पनि बेलामा छापिन पाएन ।
रामप्रसादले साहित्य क्षेत्रमा धेरै काम गर्न सक्थे उनको रुचि साहित्यसँगै व्यापार व्यवसायतिर हुँदा र ठुलो परिवारको रथ हाँक्नु पर्ने हुँदा उनका कृति बेलामा प्रकाशनमा आउन सकेनन् । यसमा उनको नामको भोक नलाग्ने स्वभाव पनि जिम्मेवार छ । उनको स्वाभिमान वा अन्तरमुखी स्वाभाले नेपाली साहित्यको इतिहासले उनका तीन चार दशक समेट्न पाएन । उनी ७० को दशकमा आएर मात्र कृतिकारका रुपमा देखा परे । उनका नौलो साहित्यिक बिहान प्रतिष्ठानबाट निस्किएका पुस्तकका प्रकाशकीय भूमिका र अन्य केही कृतिका भूमिका र केही पत्रपत्रिकामा छरिएका समीक्षाको संकलन पनि कृति बनाउन सकिने अवस्थामा छन् ।
चापागाईँ झापको शान्तिनगरमा शिक्षण गर्थे । राजनीतिक कारणले उनको जागिर खोसिएको थियो । त्यही विषयलाई लिएर फेरि दश बजेन नाटक नै लेखेका थिए । इलाममा उनले केही समय सिंहबाहिनी आवासीय बोर्डिङममा काम गरेको कुरा पनि पछि आफू त्यसै स्कुलमा काम गर्न जाँदा थाहा पाएको थिएँ । उनी २०४५ सालतिर इलामबाट फिदिम गएका थिए । उनी इलामबाट व्यापारिक केन्द्रको सम्भावनाको खोजी गर्दै पाँचथर हुँदै ताप्लेजुङ सम्मको बाटोको विकाससँगै फिदिम पुगेका थिए । त्यस बेला उनको १२३ नंबरको ट्रक भएको कुरा पुराना बुढापाका बताउँछन् । उनी त्यस ट्रकबाट झापाको चामल पाँचथर ओसार्थे । फिदिमका मगरहरुले १० बोरा चामलमा बारीको पाटो साटौँ भन्दा नमानेकोमा उनलाई पछुतो थियो । उनी अन्तरङ्ग गफगाफमा जीवनका यस्ता अरु पनि रमाइला कुरा गर्थे ।
उनको मूल रुचि र समर्पण व्यापारमै थियो । उनले नमुनामा पढाउँदा विमला गुरुआमा व्यापार समालेर बसिन् । उनी २०५५–२०५६ सम्म टी स्टेटमै थिए । त्यस बेला उनी आफ्नो योग्यताअनुसार दीपकप्रकाश बाँस्कोटाको फेर समाएर राष्ट्रिय नियुक्तिहरु खान सक्थे । उनको निकट सम्बन्ध भएका वाँस्कोटा संसद् मन्त्री हुँदा उनले लाभको पद लिन माग्न गएनन् । उनलाई आफ्ना पौरखमा विश्वास थियो । कुनै चरो रुखका हाँगामा हाँगाको विश्वासले भन्दा पखेटाका विश्वासले बस्छ भन्ने कुरा उनलाई थाहा थियो । उनी टी स्टेटमा रहँदा पनि परिवारले व्यपार व्यवसायलाई अगाडि बढाओस् भन्ने चाहना राख्थे र मेडमलाई सघाउँथे । उनले पदको दुरुपयोग नगरी आफ्नै व्यापारबाट छोराछोहीहरुलाई समय सान्दर्भिक शिक्षा दिनुथियो । उनले खाद्यान्न, किरानादेखि हातेकागजको व्यापार पनि गरे । उनीसँग हातेकागज उत्पादन र पहिचानको राम्रो अनुभव थियो । त्यसलाई उनले निरन्तरता दिन किन सकेनन् परिवारलाई थाहा होला । उनी कावेली यातायात सहकारी संस्थासँग पनि संलग्न थिए । उनले त्यसको पनि नेतृत्व गरेका थिए ।
रामप्रसाद चापागाईँ आफ्नो व्यापार र परिवार संरक्षणका लागि घरै भाडामा लिएर बसेका थिए । उनी इलाममा पहिला अहिलेको गणतन्त्रचोक छेउको बरालको घरमा डेरा बसेका थिए । पछि पुरानो बैक लाइनमा र पछि नेपाल बैक छेउमा गुरुङको भाडामा लिएको घर २०५६ सालमा भीष्म थापाले किनेपछि उनी आफ्नै घर बनाउन लागे । उनी सम्भावनालाई हेर्ने र काम गर्ने मानिस थिए भन्ने कुरा उनले मेन रोडबाट १५ मिटर दुरी छोडेर बनाएको सिटी मार्केट नामको उनको चार तले घरले देखाउँथ्यो । उनले त्यसै घरको भाडा र व्यापार व्यवसायबाट पाँच जना छोराछोरीलाई सक्षम सन्तति बनाए । जेठी छोरी वनुका यापार व्यवसायमा छन् । माहिली छोरी उमा र साहिली कमलाले माणिज्यशास्त्रमा स्नातकोत्तर गरेर वैकिङ क्षेत्रमा सेवा गरिरहेका छन् । कान्क्षी गीताले इन्जिनियरिङ गरेकी छन् । उनी अहिले अमेरिकामा रहेर गरिखाइरहेकी छन् । छोरा वसन्त व्यवस्थापन विषयकै स्नातकोत्तर हुन् । उनी पनि वैङ्किङ क्षेत्रमै कार्यरत छन् । रामप्रसदज्यूका कमाई र आर्जन यी भाइबहिनीहरु पनि हुन् । उनको व्यवार व्यवसायको प्रभावले उनीहरु वित्तीय क्षेत्रमा समर्पित छन् । यो अभिभावकको सकारात्मक प्रभाव पनि हो ।
रामप्रसाद वितेको सुन्ने वित्तिकै फेसबुकका भित्ताहरु उनका तस्बिरले रङ्गिए । मलाई तत्काल फोटो राखेर श्रद्धाञ्जली दिइहाल्न मन लागेन । मनमनले उनलाई श्रद्धाञ्जली दिएँ । भोलिपल्टै उनका दाइ कृष्णप्रसाद चापागाईँको पनि निधन भएको खबर आयो । चपागाईँ परिवारले दुई दुई जना अभिभावक गुमायो । चापागाईँको तेह्रौँ पुण्य तिथि हिजो पर्ने भए पनि दाइको समेत निधनका कारण आज परेको छ । उनकै तेह्रौ दिनको सन्दर्भ पारेर यो लेखबाट औपचारिक श्रद्धाञ्जली अर्पण गर्दैछु । यो श्रद्धाञ्जलीसँगै उनका दाजु पं कृष्णप्रसाद चापागाईप्रति पनि श्रद्धाञ्जली । यी दाजुभाइको भ्रातृप्रेम पनि अनुकरणीय हुनुपर्छ भन्ने लागिरहेको छ । यस बेला विमला मेडम को २०३४ सालदेखिको अटुट हार्दिक दाम्पत्य जीवन अन्त्य भएको छ । र भाइबहिनीहरु जानुका, उमा, कमला, गीता, वसन्त सबै पिताका पक्षबाट अनाथ भएका छन् । उनीहरु सबैमा समवेदना । रामप्रसादका दाजु कृष्णप्रसादका परिवारमा पनि समवेदना । मेरो जन्मभूमि पााचथर र कर्मभूमि इलामका साथै मेरो मूल समर्पणको क्षेत्र साहित्यका एक अग्रज एवम् असल सहयात्री गुमाएको दुःख मभित्र पनि त्यस परिवारमा जसरी नै मडारिइरहेको छ । रामप्रसाद चापागाई कोरोना विश्वमहामारीमा यति छिटै सहिद होलान् भन्ने नलागेको छुक र चुक चुक रहिरकेको छ । विश्वास नलागेरै अल विदा भन्नुपरेको छ । उनले भनेको आर्यघाट हो कि अस्पताल चिन्न मुस्किल परिरहेको छ । तर के गर्नु अब फेरि घर जाँदा उनी भेटिने छैनन् । यो सत्य स्वीकार गर्नुपरेको छ ।
रामप्रसाद चापागाई भौतिक रुपमा हामीमाझ छैनन् । अब उनको भौतिक सानिध्य नरहे पनि उनका तीन प्रकाशित र अरु तीनचार अप्रकाशित कृति हामीसँग छन् । उनले प्रेमपूर्वक संकलन गरेका पुस्तकहरु उनका पुस्तकालयमा छन् । उनले गरेका साहित्यिक, व्यावसायिक र सामजिक कर्महरु अमर छन् । पाँचथर जाँदा चापागाईँ कुनै न कुनै रुपमा भेटिइरहनेछन् । छिटै नै कोरोनाको त्रास हटेर जाने छ । अस्पतालहरु जीवनदायी बन्ने छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक