दूर जा दूर जा त्रासको बादल : परशुराम पराशर (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार १२ ।
आज हामीहरू बन्द छौँ मन्द छौँ
रोगका भोकका त्रासले दग्ध छौँ
के गरी फैलियो व्याधिको यो भल ?
दूर जा दूर जा त्रासको बादल ।१।
प्रेमको पुन्तुरो खोल्न पाइन्न रे
गाउँको दौंतरी भेट्न पाइन्न रे
काट्नु लौ के गरी मित्र यस्तो पल ?
दूर जा दूर जा त्रासको बादल ।२।
मस्त भै गाउने रङ्गमा छाउने
व्यस्त संस्कार थ्यो काम सल्टाउने
खै बज्यो खैँजडी, बाँसुरी, मादल
दूर जा दूर जा त्रासको बादल ।३।
पोटुकी पैरिई हिँड्दथी काममा
फूलबुट्टे बनी पुग्दथी खेतमा
खुम्चिई सुन्तली कामको यो पल
दूर जा दूर जा त्रासको बादल ।४।
पेट भोका भए पौरखी हातका
आङ नाङ्गा हुँदै छन् यही प्रातका
बाँच्नु हो के गरी भैगयौं अल्मल
दूर जा दूर जा त्रासको बादल ।५।
शान्तिले चल्दथ्यँैं कर्म आफ्नै गरी
हिँड्दथ्यौँ कर्मकै मार्गमा सुस्तरी ।
हुन्डरी रोगको आयो लौ यो पल
दूर जा, जा छिटो त्रासको बादल ।६।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक