आमालाई पत्र : सबि सापकोटा(कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १०।
ममतामयी आमा,
आराम छु, आराम चाहान्छु
सोच्दी हौँ– सुखमा भुलेकी छे
हो आमा,
बेसै छ मलाई
तर तिमिबाट टाढा हुँदाको संसार
खै के के नपुगेको जस्तो
किनकी…
किनकी,
माया मनग्य छ
तर तिम्रो ममता छैन
साथ सबैको छ
तर तिम्रो जस्तो संयमता छैन
बिसन्चोमा उपचार पाएकी छु
तर छेउमा बसि
टाउको सुमसुम्याईदिने हात छैन
खुसीमा हासो थप्ने ओठहरु छन्
तर दुःखमा आँसु थाम्ने काख छैन
यस्तो लाग्छ……
यस्तो लाग्छ–
यो ठूलो घरमा
तिम्रो स्नेहको धुरी भैदिए
मीठो निद लाग्थ्यो होला
सिरानी तिम्रो पाखुरी भैदिए
उमङ्गमा अंगाल्न त आफन्त थुप्रै छन
तर तिनमा स्वार्थरहित भावना भेट्दिन
मुखले राम्रो होस भन्नेको कमि छैन
तर आत्मैदेखिको कामना भेट्दिन
त्यसैले…..
त्यसैले आमा,
म भरिपुर्ण छु
तर तिम्रो मातृत्वसामु
यी सबै कुरा फिका लाग्दो रहेछ ।
तिम्री छोरी
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक