भोलिको खोजी : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १०।
१. पियो घामका रम्य चोला प्रसस्तै
चढ्यो दिव्य आकाश भोला प्रशस्तै
गरी चम्कँदै शिष्ट विशिष्ट बोली
भरी आश लाखौँ बस्यौँ खै त भोलि ?
२. कुद्यो त्यो गयो तीब्र बेला बनेर
कहाँ त्यो रहोस् रोकियोस् रोकिएर ?
पुकार्यौँ रमायौँ मिलाएर लोली
कहाँ के दियो खै त आएर भोलि ।
३. उधारो दिनोस् तिर्छु भन्दै गयो त्यो
म मेलो पुरै तुर्छु भन्दै गयो त्यो
सजायौँ निका चम्किला रङ्गगोली
भए ती झुटा खै त आएन भोलि ।
४. फुलेका सबै आजका मोह माया
खुलेका सबै आजका धूप छाया
सबै आजका देख्दछौँ झाल झोली
भयो कल्पना खात मात्रै त भोलि ।
५. नसक्ने भए आज पर्छौँ पसारो
छ तोड्नै स्वयं आज नाना तघारो
भन्यौँ व्यर्थ होला मिलाएर लोली
बुझ्यौँ सारमा छैन निस्सार भोलि ।
६. कहाँ छन् कहाँ गर्छु भन्ने रजाईँ
स्वयं अल्पिए गर्छु भन्ने विदाई
बगेनन् उही बेगमा खेल खोली
र उस्तै दुरुस्तै कहाँ खुल्छ भोलि ?
७. कहाँ बोट त्यै पात जान्छन् झरेर
कहाँ चोट त्यै बस्छ खाटा परेर
कहाँ सुख्ख त्यै नित्य बन्छन् भरेली
भन्यौँ आसका राशमा मात्र भोलि ।
८ बसौँ कुर्न त्यो फर्कँदा छैन जस्तो
कसौँ मुट्ठीमा निस्कँदा हैन जस्तो
अहो ! त्यो कहाँ कल्पनाको छ डोली
म जाऊ कहाँ भेट्न खोजेर भोलि ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक