शुभकामना : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

बसन्त आयो जब चम्किलो भै
आए मुना कोमल गम्किएरै
लाग्यो धराको नव योजना छ
मेरो सबैमा शुभकामना छ ।१।

बाटा अँध्यारा अति तिक्तताका
खाल्डा निराशामय रिक्तताका
नाघेर जाँदा महिमा घना छ
असंख्य मेरो शुभकामना छ ।२।

अशोकमा शोक सुहाउँदैन
विश्वासको श्वास गन्हाउँदैन
माटो खुल्यो जादु छ वा टुना छ
गन्तव्य चुम्ने शुभकामना छ ।३।

आयो उज्यालो अब रोकिँदैन
फाट्दैछ त्यो वादल, छेकिँदैन
हिमाल उठ्ने जुन चाहना छ
साकार होओस्, शुभकामना छ ।४।

फालौँ हटाऔँ सब विध्न बाधा
कुदौँ स्वयं नै नबनेर प्यादा
कुर्ने नहोऊन्, दुखकै कुना त
टेक्ने उचाई शुभकामना छ ।५।

के बस्नु व्यर्थै झगडा सुनेर
बेकार बस्छन् लफडा गरेर
ती सोच बोक्ने मनमा धुवाँ छ
विशाल बन्ने शुभकामना छ ।६।

उमङ्ग भर्ने प्रण लौ गरे रे
भन्ने सुनाओस् अठहत्तरेले
अस्तित्व आस्था सुकिलो हुँदा छ
छ लाख–लाखौँ शुभकामना छ ।७।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।