गुनगान गाऊन : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २८।
जा राजनीति छलछाम निको उतै जा
सिध्दान्तको समय छैन परै कतै जा
जा काम छैन अब छैन भलो कुदेर
जा याम छैन अब संस्कृति क्यै बुझेर ।१।
कैल्यै नथाक्नु गफगाफ गरेर तैँले
के हुन्छ आज अपवाद बनेर तैँले
भो बर्तमान झुट ढाँट रवाफको भो
बेला त यो धन र धाक प्रभावको हो ।२।
तैँले कुरा गरिबका अब गर्नु हुन्न
भो बङ्गलातिर तँ जा अब डर्नु हुन्न
बस्नेहरू सडकका अब चिन्नु हुन्न
उन्मुक्तिका गफ दिँदै अब हिँड्नु हुन्न ।३।
कानून भन्नु तलका तह लाउनै हो
छस् आज औधि बलियो तँ चलाउँने को ?
सोझो बनेर भन को पदमा पुग्यो र ?
चोखो रहेर भन को दुनियाँ उठ्यो र ? ।४।
छाप्रोतिरै प्रिय तिमी नछिरे हुने भो
फोटा अनेकतिरका नभिरे हुने भो
खोज्दै किसान अब झन् नहिँडे हुने भो
साथी छुटे पनि कठै नभने हुने भो ।५।
जा राजनीति हँसिलो भरिलो बनेर
चढ्दै सिँढी शिखर जा दरिलो बनेर
हेरेर नाटक यही दुनियाँ रमाउँन्
भै मख्ख टक्क सबले गुनगान पाऊन् ।६।
(सहकार्य कपन बानेश्वर साहित्यिक साप्ताहिक )