ऊ ढलेको छैन : विष्णुप्रसाद शर्मा पराजुली (कविता )
कपन अनलाइन
काठमाडौं ,चैत्र २।
(सबैलाई थाहै छ, मृत्यु निश्चित छ । कुनै मृत्यु त्यस्ता हुन्छन् जस्लालाई पत्याउँन कठीन हुन्छ । युवराज पोखरेलको मृत्युले धेरैलाई झस्कायो, स्वीकार गर्न सकिएन । समयको गतिसँगै परिवारजन सहित सबैले सत्य स्वीकार गर्न बाध्य हुनै पर्छ । उहाँको सम्झनामा समर्पित कविता )
कविता :
हेर न, मानिसहरू भन्छन् ‘ऊ ढल्यो’
मानिसहरू भन्छन्, ‘ऊ ब्रह्मनालमा सुत्यो’
मानिसहरू भन्छन्, ‘ऊ त चितामा भष्म भयो ।’
तर म भन्छु,
ऊ ढलेको, ब्रह्मनालमा सुतेको, चितामा भष्म भएको छैन
त्यो त मात्र भौतिक तत्व हो ,
यथार्थमा ऊ ढलेको छैन ।
किनभने,
ऊ त सतीसाल हो ठिङ्ग उभिइरहन्छ, ढल्दैन
ऊ त तिम्रो र मेरो मुक्तिको झण्डा हो
अन्यायका विरुद्ध सिंहझैँ गर्जिरहन्छ, ढल्दैन
ऊ त स्वाभिमानको धवलागिरि हिमाल हो
युगौँयुगसम्म गौरवका साथ मुस्काउँदै उभिनै रहन्छ
ऊ त तराईको विशाल फाँट हो
धानका बाला बनेर लहलह झुलिरहन्छ
ऊ त पहाडको भञ्ज्याङ र चौपारी (चौतारी) हो
शीतल हावा बनेर निरन्तर बगिरहन्छ
ऊ त हिमालको लालीगुराँस हो
राताम्मे भएर दुनिया हँसाउँदै युगौँयुगसम्म फुलिरहन्छ
ऊ त प्रेमको प्रतीक हो
कोमल प्याउली पूmल बनेर प्रेमका पखेराहरूमा फुलिरहन्छ ।
त्यसैले म भन्छु, ऊ ढलेको छैन ।
उ… हेर त तिम्रो अघिल्तिर
श्रीअन्तुको सूर्योदय भएर झुल्केको देखेनौँ र ?
उ… हेर त तिम्रो मुटुको नसानसामा
यादहरूको रक्त सञ्चार गर्दै
तिमीसँगै हाँसिरहेको थाहा पाएनौ र ?
तिमी ढुक्क हौ, ऊ तिमीसँगै छ, ऊ ढलेको छैन ।
उज्यालो मुहार पारेर मुसुक्क मुस्काउँदै
तिम्रै अगाडि उभिएर तिमीसँगै हातेमालो गरिरहेछ
तिमी ढल्न खोज्दा
तिमीलाई हौसला दिँदै सगरमाथा चढाइरहेछ
मैले भनेको विश्वास लाग्दैन भने
तिमीले आपूmलाई साक्षी राखेर सोध त
के ऊ तिम्रो हृदयभित्र बास बसेको छैन र ?
त्यसैले, हे मान्छेहरू तिमी भ्रममा नपर
ऊ ढलेको छैन ।
२४ फागुन ०७७