प्यारो छ नेपाल यो : डा.सत्यराज थपलिया ( कविता )

कपन अनलाइन

काठमाडौं ,मंसिर १३।

जन्मी पर्वतमा हिमालयसुता नाच्थिन् यहीँ पार्वती ।
सीता नित्य सखीहरूसित स्वयम् खेल्थिन् बनी कौतुकी ।।
खोज्ने शाश्वत शान्ति भित्र दिलले यो बुद्धको देश हो ।
आफ्नै जन्मथलो सुरम्य गतिलो प्यारो छ नेपाल यो ।।१।।

जिल्ला, केन्द्र, प्रदेश गाउँघरमा मेची र कालीतक ।
रातो, चन्द्र र सूर्य अङ्कित ध्वजा गर्ने सदा फर्पmर ।।
साँच्चै शुद्ध पवित्र भूमि शिवको आवास सत् तीर्थ हो ।
आफ्नै जन्मथलो सुरम्य गतिलो प्यारो छ नेपाल यो ।।२।।

आपैm सक्रिय भै मयूरसँगमा नाचेर डाँफेचरी ।
गर्छन् स्वागत यो वसन्तऋतुको सौन्दर्य सारा छरी ।।
साक्षात् भै अमरावतीसरि यही हो स्वर्ग संसारको ।
आफ्नै जन्मथलो सुरम्य गतिलो प्यारो छ नेपाल यो ।।३।।

कर्णाली कति बग्दछन् कलकली कोशी तथा गण्डकी ।
गङ्गाकै तटमा छ उत्तरगया प्रख्यात बेत्रावती ।।
पुग्ने हर्दम पाहुना भ्रमणमा यो प्राणभन्दा बडो ।
आफ्नै जन्मथलो सुरम्य गतिलो प्यारो छ नेपाल यो ।।४।।

वासन्ती मनमा अनेक वनमा लालीगुँरासै फुली ।
फक्रेको छ जताततै प्रकृतिले फेर्दा स्वयम् काँचुली ।।
फुर्की कोकिल गाउँने दिनदिनै सङ्गीत आनन्दको ।
आफ्नै जन्मथलो सुरम्य गतिलो प्यारो छ नेपाल यो ।।५।।

यै श्लेष्मान्तक नामको वनतिरै डुल्थे किँरातेश्वर ।
हो देवस्थल यो पवित्र छ, यहाँ छन् मन्दिरै मन्दिर ।।
नेपाली जनताजनार्दन सबै छौँ भाग्यमानी अहो १
आफ्नै जन्मथलो सुरम्य गतिलो प्यारो छ नेपाल यो ।।६।।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।