तिहारका लागि चिनियाँ सामान भोलिदेखि भित्र्याउने

धुन्चे (रसुवा), १५ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारका लागि स्थानीय व्यवसायीले चीनबाट पहिलो खेपमा भोलिदेखि स्याउ नेपाल भित्र्याउने तयारी गरेका छन् ।

नेपालमा भित्र्याउने स्याउ केरुङसम्म आइपुगेको र नेपाली कन्टेनरले भोलि रसुवागढी नाकाबाट नेपाल भित्र्याउने तयारी भएको नेपाल–चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलले जानकारी दिनुभयो ।

यस्तै, नेपाली व्यापारीले आयात गरेका चिनियाँ सामग्री चीनको सिगात्सेबाट केरुङतर्फ आउनेक्रम सुरु भएकाले काठमाडौँको बजारमा तयारी कपडासमेत विविध सामग्री तिहारभन्दा अगाडि लगभग १०० कन्टेनर भित्रिने समेत सचिव पौडेलले जानकारी दिनुभयो ।

रसुवागढी नाका खुलेपछि सीमानजिक टिमुरे क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ । नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि दिइने स्थायी परिचयपत्र लिनका लागि स्थानीय बासिन्दा दिनहुँ भीड लाग्न थालेको अध्यागमन कार्यालय, टिमुरेले जनाएको छ ।

भूकम्पपछि सडक अवरुद्ध भई बेरोजगार बनेका स्थानीय बासिन्दा सडक खुलेपछि प्रफुल्लित भई आफ्नो नियमित व्यापार व्यवसाय अगाडि बढाइसकेको टिमुरे गाविसले जनाएको छ ।

यसैगरी, चीनबाट नेपाल आयात भएको पेट्रोलियम पदार्थ बोकेका नेपाल आयल निगमका १२ वटा ट्याङ्कर आज टिमुरेमा नै रहने र भोलि बिहान काठमाडौँ पठाइने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

चीनले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थको भन्सार महसुलबापतको शुल्क रु तीन करोड ६४ लाख नेपाल आयल निगमले भन्सार कार्यालयलाई बुझाइसकेको भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।