ग्रामीण क्षेत्रका बजारमा म्याद गुर्जेका सामग्री छ्यापछ्याप्ती

ग्रामीण क्षेत्रका बजारमा म्याद गुर्जेका सामग्री छ्यापछ्याप्ती

जाजरकोट, ७ असोज । यहाँका ग्रामीण क्षेत्रमा रहेका बजारमा म्याद नाघेका सामग्री बिक्री वितरण भइरहेको पाइएको छ ।

जिल्लाका रिम्ना, कालीमटी, तल्लुबगर, चौखा, स्याउलीबजार, मार्क, पाँचकाटिया, सिलिगिचौर, घाट, सेपुखोलालगायत ठाउँमा रहेको पसलमा म्याद गुज्रेका दैनिक उपभोग्य सामग्री बिक्री वितरण भइरहेको पाइएको हो ।

ग्रामीण क्षेत्रमा प्रभावकारी अनुगमन नहुने हँुदा व्यापारीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरिरहेको पत्रकार सुरेन्द्र सिंहले बताउनुभयो । यहाँका ग्रामीण क्षेत्रमा जस्तोसुकै सामग्री बिक्री वितरण गरे पनि म्याद गएको वा नगएको कसैले पनि मिति नखोज्दा व्यापारीलाई आफ्नो सामग्री बिकाउन निकै सजिलो भएको वीरेन्द्र ऐश्वर्य उच्च माविका प्रचार्य गोरखबहादुर सिंह बताउनुहुन्छ । दुरदराजमा पुग्ने बिस्कुट, चाउचाउ, तेल, चक्लेटलगायत वस्तु एक ६ महिनादेखि एक वर्षसम्म अघि म्याद नाघेको हुने गरेका छन् ।

ती म्याद नाघेको वस्तु खुलेआम बिक्री वितरण गर्दा पनि सरोकारवाला निकाय मौन भएर बस्दा व्यापारीलाई व्यापार गर्न सहज भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेडाईंले सदरमुकाममा अनुगमन गरे पनि ग्रामीण क्षेत्रमा अनुगमन गर्न नसकेको र गाउँबाट आएको जनगुनासोलाई सम्बोधन गर्न गाविस सचिवलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

सदरमुकाममा नै केही पसलमा नेपाल टेलिकमका रिचार्ज कार्डमा समेत तोकिएको शुल्कभन्दा बढी लिएर बिक्री वितरण गरिनुका साथै पसलेले वास्तविक तौल नपुगेको खाद्यान्न बिक्री वितरण गर्ने गरेका छन् । सदरमुकाम तथा ग्रामीण क्षेत्रमा रहेको औषधि पसलमा पसलैपिच्छे मूल्य फरक हुँदा उपभोक्ता हैरान भएका छन् ।

तपाइँको प्रतिक्रिया ।