प्रजिअ र प्रहरी सरुवा

धनगढी, ८ भदौ । कैलालीको टीकापुरमा सोमबार सात प्रहरी र एक नाबालकको निर्ममतापूर्वक हत्या भएको घटनाबाट आक्रोशित स्थानीय अपरिचित युवाले आज मध्याह्न केहीबेर टीकापुर क्षेत्रमा तोडफोड गरेका छन् ।

आक्रोशित युवाको समूहले निषेधाज्ञाको अवज्ञा गर्दै सभासद् जनकराज चौधरीको टीकापुरस्थित घरमा तोडफोड गरेका छन् । त्यस्तै स्थानीयवासी रेशमलाल चौधरीको ‘फूलबारी एफएम’ र रिसोर्टमा समेत तोडफोड र आगजनी गरेका छन् । पहिचान हुन नसकेको सो समूहले स्थानीय सर्वसाधारणका तीन÷चार घर तथा पसलमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

आज अपराह्नपछि उनीहरुको प्रदर्शन र तोडफोड नियन्त्रणमा आई स्थिति सामान्य बनिसकेको छ । त्यहाँ निषेधाज्ञा भने यथावत् नै छ । प्रहरी र सेनाले संयुक्त रुपमा गस्ती गरेपछि स्थिति सामान्य बन्दै गएको छ ।

आज अपराह्न सेनाको हेलिकप्टरले समेत टीकापुरमा हवाई गस्ती गरेको छ । सोमबार भएको हिंसात्मक घटनामा संलग्न भएको भन्दै प्रहरीले चार प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । केही दिनअघि टीकापुरमा भएको थारुको सभामा केही मधेसकेन्द्रित नेताहरुले उत्तेजित अभिव्यक्ति दिएकाले टीकापुर क्षेत्रको सद्भाव खल्बलिन पुगेको बताइएको छ ।

यसैबीच सोमबार टीकापुरमा निधन भएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको शव आज अपराह्न काठमाडौँ लगिएको छ । मृतक दुई प्रहरी निरीक्षक, एक हवल्दार र दुई जनाको शव आफन्तको जिम्मा लगाइएको छ ।

यता सदरमुकाम धनगढीमा आज बिहान ११ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । अहिले बजारमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको छ । टीकापुरको घटनामा सुरक्षाको उचित व्यवस्थापन गर्न नसकेको भन्दै प्रजिअ राजकुमार श्रेष्ठलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । यस्तै सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक खडानन्द चौधरी र नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक रामकुमार खनाललाई पनि प्रहरी प्रधान कार्यालय बोलाइएको छ ।

उहाँहरु तीनै जनाका स्थानमा प्रजिअ मोहन चापागाईं, प्रहरी नायब महानिरीक्षक माधव नेपाल र सशस्त्र प्रहरी नायब महानिरीक्षक सूर्य श्रेष्ठ यहाँ आइपुग्नुभएको छ । उहाँहरुको उपस्थितिमा अहिले जिल्ला सुरक्षा समितिको बैठक बसी जिल्लाको सुरक्षा रणनीतिका बारेमा छलफल गरिएको जनाइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।