भूकम्प पूर्व सूचना यन्त्र जडान कार्य सुरु

भूकम्प पूर्व सूचना यन्त्र जडान कार्य सुरु

काठमाडौँ, २८ असार । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पहिलोपटक भूकम्प पूर्व सूचना यन्त्र जडान कार्य सुरु गरेको छ ।

इन्स्टिच्युट अफ केयर लाइफ नामक चाइनिज संस्थाको सहयोगमा नाष्टले आफ्नै कार्यालय परिसर खुमलटार, काभ्रेको बनेपा र धादिङको धार्केमा यन्त्र जडान गरिसकेको छ । images (2)

भूकम्पको पूर्ण धक्का आउनुभन्दा करिब २० सेकेन्ड अघि (प्रारम्भिक तरङ्ग) को सूचना दिने सो यन्त्र करिब १५ किलोमिटरदेखि २० किमी दूरीभित्र राख्न सकिने नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले जानकारी दिनुभयो ।

चीन, जापानलगायतका विकसित राष्ट्रमा यो यन्त्रको प्रयोग भएको धेरै भइसकेको छ । नेपालमा भने गत वैशाखको ७.६ रेक्टर स्केलको भूकम्प आएपछि मात्रै यो यन्त्रको आवश्यकता बढी महसुस गरिएको हो । यही असारदेखि सो यन्त्र जडानको प्रक्रिया थालिएको हो ।

उपकुलपति पोखरेलका अनुसार यन्त्र जडान गर्न इन्स्टिच्युट अफ केयर लाइफसँग यसअघि ८० यन्त्र जडान गर्न सम्झौता भएको हो । नाष्टको आग्रहमा केयर लाइफले थप ४० यन्त्र जडानका लागि सम्झौता गर्न सहमत भएको छ ।

यस्तो प्रविधियुक्त यन्त्र नेपालमा पहिलो पटक भित्र्याइएको हो । भूकम्पप्रति चनाखो भई मानवीय क्षति कम गर्न यो प्रविधि उपयोगी हुने नाष्टले जनाएको छ ।

यो प्रविधिलाई सर्वसाधारण जनतासामु पु¥याउन एफएम रेडियो, मोबाइल एप्स, अस्पताल र सार्वजनिक ठाउँमा साइरन प्रयोग गर्न सकिने उपकुलपति पोखरेलले बताउनुभयो ।

“नेपालको भौगोलक अवस्थितिका आधारमा यस्ता ३२० यन्त्र क्रमशः देशभर जोड्ने सोचमा छौँ” – उहाँले भन्नुभयो । पूर्व सूचना यन्त्र जडान गर्न प्रतियन्त्र करिब रु २० लाख लाग्छ ।

सो यन्त्रको स्थापनाले मानवीय क्षति न्यून गर्न प्रभावकारी भएको विज्ञको धारणा छ । तर भूकम्पबाट हुने क्षति कम गर्न बलियो भौतिक संरचनाको निर्माण नै पहिलो आवश्यकता हो ।

भूकम्पको जोखिम कम गर्न भौतिक संरचना नै भूकम्प प्रतिरोधी हुनुपर्ने राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीको भनाइ छ ।

“भूकम्पको केन्द्रसँगको दूरी, भौतिक संरचना आदिमा पूर्व सूचना यन्त्रको प्रभावकारिता कति रहने भन्ने निर्भर गर्छ तर भूकम्पीय जोखिम कम गर्ने किसिमको भौतिक संरचना निर्माण नै पहिलो सर्त हो” – उहाँले भन्नुभयो ।

भूकम्प प्रविधि राष्ट्रिय समाजका सञ्चार संयोजक खड्गसेन ओली प्रारम्भिक तरङ्ग आउनासाथ सूचना दिने उक्त यन्त्र जडानले भूकम्पको केन्द्र भएको स्थानभन्दा टाढाका व्यक्ति तथा समुदायलाई विशेष लाभदायक हुने बताउनुहुन्छ । “त्यसका लागि सूचना प्रवाह गर्ने संयन्त्र अत्यन्त प्रभावकारी हुनुपर्छ” – उहाँ भन्नुहुन्छ ।

“बीस सेकेन्डअघि सूचना दिने यो यन्त्रको सङ्केतले मानिसलाई सुरक्षित स्थानमा पुग्न सहज हुने भएकाले मानवीय क्षति घटाउँछ तर भूकम्पबाट हुने नोक्सानी कम गर्न बलियो भौतिक संरचना नै चाहिन्छ” – उहाँले भन्नुभयो ।

भूकम्पविद् डा रमेश गुरागाईंले यन्त्र जडान सकारात्मक भएको बताउनुहुन्छ । “तर त्यसले प्रवाह गर्ने सूचना कुन रुपमा सर्वसाधारणसमक्ष पुग्छ भन्ने कुरा विशेष महत्वपूर्ण छ” – डा गुरागाईंले भन्नुभयो ।

वैशाख १२ को र त्यसपछिका लगातारका परकम्पले करिब नौ हजार मानिसको निधन भइसकेको छ । करिब २२ हजार ५०० घाइते भए भने आठ लाख घरमा क्षति पुग्यो ।

यसअघि १९९० सालमा गएको भूकम्पमा पनि नेपालमा धेरै धनजनको क्षति भएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।