चलचित्र निर्माण निर्देशन मापदण्डविरुद्ध कलाकर्मी

चलचित्र निर्माण निर्देशन मापदण्डविरुद्ध कलाकर्मी

काठमाडौँ, २१ असार । सरकारले स्वीकृत गरेको राष्ट्रिय चलचित्र नीति–२०७० विपरीत चलचित्र विकास बोर्डले चलचित्र निर्माण निर्देशन मापदण्ड ल्याएको विरोधमा ७५ जना कलाकर्मी उत्रिएका छन् ।

film-bikash-board

बोर्डले जारी गरेको चलचित्र निर्माण निर्देशन मापदण्ड नेपालको अन्तरिम संविधान–२०६३ र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको भन्दै चलचित्रकर्मीले सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाललाई आज एक ज्ञापनपत्र बुझाएका हुन् । चलचित्रकर्मी तथा साहित्य कलाका विभिन्न विधामा क्रियाशील ७५ जनाको हस्ताक्षर रहेको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले सिर्जनात्मक कामलाई रोक्न नहुने बताउनुभयो । “सिर्जनात्मक कामलाई नरोकी चटपटे बनाएजस्तो जे पनि चलचित्रमा राख्ने कामलाई रोक्न जरुरी छ, चलचित्र क्षेत्रमा भएका समस्या ठीकसँग समाधान गरिनुपर्ने पक्षमा मन्त्रालय छ” – उहाँले भन्नुभयो ।

 

चलचित्र क्षेत्रलाई गुणात्मक बनाउन तालिम केन्द्रको स्थापना गरिनुपर्नेमा पनि मन्त्री रिजालले जोड दिनुभयो । “बोर्डमा चलचित्र क्षेत्रबाट जम्मा भएको पैसा यो क्षेत्रको गुणात्मक विकास गर्न तालिम केन्द्र स्थापनाका लागि लगानी गरिनुपर्छ, यसका लागि दुई तीनवटा तालिम कार्यक्रम अविलम्ब सञ्चालन गर्न जरुरी छ” – उहाँले भन्नुभयो । ज्ञापनपत्र बुझाउँदै गैरआख्यान चलचित्र निर्देशक अनुप सुवेदी, निर्माता÷निर्देशक निश्चल बस्नेत, निर्देशक विनोद पौडेल, अभिनेत्री ऋचा शर्मा र निर्माता÷प्रचण्डमान श्रेष्ठलगायतका कलाकर्मीले निरङ्कुश रुपमा आएको मापदण्ड सात दिनभित्र खारेज नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।