देश अराजक गतिविधि र अस्थिरताको खाडल बन्दै

कपन अनलाइन\माघ ८, २०७१

पहिलो संविधानसभामा म्याद थप्दै ६ वर्ष लम्ब्याएका सभासद्हरू दोस्रो संविधान सभाबाट कुनै पनि हालतमा संविधान जारी गर्ने भन्दै जनताको घर आँगन पुगेका थिए । एक वर्षको समयसीमा मागेर जनतासँग भोटका लागि हात फैल्याएका सभासद्हरू फेरि जनताको आँगनमा पुग्नुपर्छ भन्ने कुरा भुलेर बसेका हुन् त !

 

जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भएको छ, ग्याँसको अभावले पैसा हुनेले पनि राम्रोसँग जीवनयापन गर्न पाएका छैनन, जहाँतहीँ कालोबजारी, घुसखोरी, भ्रष्टचार अनि अस्थिरता छ । सबैको एउटै ठम्याई संविधान बनेपछि सबै ठीक हुन्छ । संविधानबिना देश विकासमा सिन्को भाँच्न पनि गाह्रो हुने अभिव्यक्ति दिँदै आएका सभासद्हरूले कहिले देशलाई अस्थिरताबाट शान्त एवं समृद्ध मुलुकमा रुपान्तरण गर्ने कदम चाल्ने हो ? सधैँ अशान्ति, अराजकता र अस्थिरता रहिरहने हो भने जनताहरू निराशाको थुप्रोमा बस्न बाध्य हुन्छन् । कानुन नभएर दण्डहीनताको पराकाष्ठ पुगेको देशले शान्तिको स्वास फेर्ने दिन आउन गाह्रो छ ।

 

संविधान एउटा सपना जस्तो भैसक्यो, सबैले जप्ने तर कहिल्यै पुरा नहुने । संविधान कुनै अकाट्य वस्तु त पक्कै होइन, आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ । कहिल्यै परिवर्तन नै नहुने जस्तो खाली विवादमा मात्र रुमल्लिएर सबै नेपालीको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसले दियो ६०१ सभासद्हरूलाई । जनताले दुःख, पसिना बगाएको पैसाबाट कर उठाएर तलब खाएका तमाम संविधानसभाका सदस्यहरूले कि त नैतिकताका आधारमा तलबभत्ता फिर्ता गर्नुप¥यो होइन भने संविधान जारी गर्नुप¥यो । राज्यकोषको ढुकुटी पनि रित्याउने अनि शुन्य उपलब्धी हुने हो भने सभासद् भएर जनताको प्रतिनिधित्व गर्नुको के अर्थ !

 

संक्रमणकाल जति लम्बिन्छ त्यति नै ढाड सेकिन्छ देश र जनताको । एकातिर अस्थिरताले आर्थिक अवस्था नाजुक बनाइदिन्छ भने अर्कातिर विदेशी सहयोगी दाताहरूबाट अपेक्षित साथ र सहयोग पाउन सकिन्न । अझै पनि हाम्रो देशले विकासको गति लिन नसक्नुले विदेशी सहयोग अपरिहार्य भएको छ । अब संविधान निर्माण भनेर वादविवाद गर्न छाडेर विकास निर्माणमा पनि ध्यान दिने हो कि ! सधैँ म्याद थपिरहने संविधानसभाले विकास निर्माणको पाटोमा छायाँ पारेको अवस्थालाई मध्यनजर गर्दै अब चाँडै विकास निर्माण र संविधान निर्माणलाई एकैसाथ गति प्रदान गर्दा नै देशको भविष्य सुनिश्चित हुन्थ्यो कि !

तपाइँको प्रतिक्रिया ।