एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पाको बिधिवत उम्मेदवारी दर्ता, नरेन्द्र श्रेष्ठसँग भिड्ने

एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पाको बिधिवत उम्मेदवारी दर्ता, नरेन्द्र श्रेष्ठसँग भिड्ने

img_1398

कपन अनलाइन, ९ असोज, २०७३

नेपाली फुटबलको सुद्धिकरण अभियानका अभियान्ता भनेर चिनिने एन्फा उपाध्यक्ष कर्माछिरिङले कार्तिक ८ गते हुने एन्फा अध्यक्षको चुनावका लागि उम्मेदवारी दर्ता गरेका छन् । एन्फा कम्प्लेक्स सातदोवाटो उम्मेदवारी दर्ता गर्दै शेर्पाले औपचारिक कार्यक्रमका साथ उम्मेदवारी घोषण गरे । नेपाली खेल क्षेत्रका विशिष्ट व्यक्तिहरुको साथमा उम्मेदवारी घोषणा गर्दा एन्फा जिल्ला अध्यक्षहरुले साथ दिएका थिए । वर्तमान एन्फा पदाधिकारीलगायत सदस्यहरु, बिभिन्न क्लबका अध्यक्षहरुका साथ नेपाली खेलकुद पत्रकारिताको क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कर्माछिरिङ शेर्पाले आफ्नो उम्मेदवारी प्रस्तुत गरे । शेर्पाले अध्यक्षमा तथा उनको प्यानलबाट दीपक खातीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्

img_1437

उम्मेदवारी घोषणा कार्यक्रममा भेला भएका एन्फाका वर्तमान तथा पूर्व सदस्यहरुका साथ जिल्ला अध्यक्षहरुले नेपाली फुटबलको भविष्यका लागि कर्माछिरिङ शेर्पालाई विजय गराउने तयारीमा रहेको बताए । उनीहरुले नेपाली फुटबललाई आशाको केन्द्र बनाउनका लागि फुटबल सुद्धिकरण अभियानका अगुवा शेर्पालाई जिताउन आफूहरु गोलबद्ध भएको बताएका थिए ।

karmaji
उम्मेदवारी दर्ता कार्यक्रममा बोल्दै कर्माछिरिङ शेर्पाले आफ्नो उम्मेदवारी सिंगो नेपाली फुटबलको विकासको लागि भएको बताउँदै नेपाली फुटबल नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढ्ने अभियानमा सबैले गोलबद्ध बन्न आग्रह गरे । शेर्पाले लामो समयदेखि समस्याग्रस्त तथा उपलब्धिहिन अवस्थामा चलिरहेको एन्फा र यसका गतिबिधिलाई विश्वसामु नेपाल पनि फुटबलका लागि संभावित देश हो भनेर चिनाउने बेला एन्फाले आफूलाई बदल्न पर्न अवस्था आएको बताए । शेर्पाले परिवर्तनको संघारमा हुने सानो भूलले सिंगो नेपाल फुटबलको फेरि लामो समय कालरात्रीको अवस्थामा पुग्ने बताउँदै सबैलाई खुलेर आफ्नो पक्षमा लाग्न आग्रह गरेका थिए । कार्तिक ८ गते हुने एन्फा अध्यक्षको चुनावमा शेर्पाले नरेन्द्र श्रेष्ठसँग प्रतिष्पर्धा गर्दैछन् ।

फोटो: बसन्त गौतम

तपाइँको प्रतिक्रिया ।