क्षेत्र नं. ४ तरुण दललाई ८-१२ लाग्यो, अस्तित्वको लडाइँमा संगठन कमजोर बन्ने छाँट

क्षेत्र नं. ४ तरुण दललाई ८-१२ लाग्यो, अस्तित्वको लडाइँमा संगठन कमजोर बन्ने छाँट

कपन अनलाइन, ३ असार, २०७३/ समाचार विश्लेषण/ अशोकराज पाण्डे

नेपाली समाजमा ८ र १२ अंकलाई अशुभ मानिने चलन छ । यी अंकलाई किन अशुभ मानियो यसको पछाडिको प्रामाणिक तथ्य जे भए पनि नेपाली समाज ८ र १२ लाई शुभ मान्ने गर्दैन । यो अंकमा रोकिनु पर्यो भने कसरी अगाडि बढ्ने वा तल झर्नेतिर सोच्न थाल्छ हाम्रो समाज ।

tarun
अहिले काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसको भातृ संगठन तरुण दललाई यही ८-१२ ले रोकेको छ । क्षेत्र नं. ४ मा तरुण दलको इकाइहरु गठन प्रकृया संचालन भैरहेको समाचारहरु आइरहेको बेला यस क्षेत्रका २१ इकाइमध्ये महानगरको ८ नं. वडा र बुनपाको १२ नं. वडाको इकाई गठन हुन नसक्दा यो क्षेत्रको नेका राजनीतिभित्रको गुटगत स्वरुपलाई फेरि एकपटक सतहमा ल्याएको छ । तरुण दललाई ८-१२ लाग्दा यस क्षेत्रका नेकाका सबै तहतप्का प्रभावित छन् । भातृ संगठनको इकाई गठनमा अनावश्यक रुपमा पार्टीको सबै तहले अस्तित्वसँग जोडेर हिँड्न थालेपछि तरुण दलको इकाई गठनले युवाहरुलाई एकिकृत गराउनु सट्टा झन् फुटतिर लैजाला कि भन्ने डर देखिएको टिप्पणीसमेत उठेको छ । सबै इकाई गठन भए पनि महानगरको वडा नं. ८ र बुनपाको वडा नं. १२ कस्तो इकाई कस्तो गठन होला भन्ने विषयले सबैलाई चासोको विषय बनाएको छ । तर ८ १२ परेर होला धेरै दिनदेखि प्रयास गरिरहे पनि यो विषय टुंगोतिर पुगेको छैन ।

त्यसो त नेपाली कांग्रेसभित्र सबैभन्दा निस्कृय भातृ संगठनमध्ये एक पर्दछ तरुण दल । करिब १५ वर्षदेखि केही पात्रहरु निरन्तर यस संगठनको मान्छे म हँु भनेर मन्चतिर झुल्किने गरे पनि तरुण दल भन्ने संगठन न लोकतान्त्रिक आन्दोलनमा देखिने हिसाबले सक्रिय भयो न त्यसपछिका दुई संबिधानसभा निर्वाचनमा । यही निस्कृयताबीच नेकाको १३ औँ महाधिवेशनपश्चात तरुण दललाई सकृय बनाउने कुरा अगाडि आए पनि नेपाली कांग्रेस पार्टीले भने बिधिबतरुपमा देशभरी तरुण दल गठनका खासै खबर आएका छैनन् । एकाध जिल्लामा तरुण दल गठन गरिने कुरा अगाडि बढे पनि काठमाडौं क्षेत्र नं. ४ मा तरुण दल गठन गर्ने क्रममा अलि बढि नै प्रचार र अस्तित्वको लडाइँ देखाउने प्रयास भएको छ ।

गत १३ औं महाधिवेशनसँगै शुरु भएको आन्तरिक कटुताका कारण चर्चामा रहेको काठमाडौं क्षेत्र नं. ४ मा अझै पनि जित्ने र हार्नेबीचको तनाव यथावत छ । अधिवेशनसँगै जितको उन्माद र हारको शोक सकिनु पर्नेमा त्यो रुप अझै लम्बिदै गरेकोमा धेरै स्वतन्त्र कार्यकर्ता तथा बुद्धिजिवीहरु चिन्तित देखिन्छन् । अधिवेशन केन्द्रित गुट वा समूह अधिवेशनपछि मिलेर वा मिलाएर जानु पर्नेमा गुटहरु टसमस नगर्ने मात्र हैन गुटगत कार्यबाट खुशी मनाइनुप्रति धेरैले आपत्तिसमेत जनाइरहेका छन् । कतिपय गुटगत राजनीति गर्न नहुने भन्ने व्यक्तिहरुले दुवै पक्षलाई एक बनाउन प्रयास गर्न खोजे पनि त्यो प्रयाससमेत सफल हुन नसकेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।