मन्त्रीहरूको सरुवा हुदै
कपन अनलाइन
काठमाडौं ,मंसिर १२ ।
यतिबेला सरकारको दायित्व र जिम्मेवारीभित्र रहेका धेरै वटा भौतिक निर्माणका काममध्ये दुईवटा विशेष र युद्धस्तरमा जारी छन् । एउटा सिंहदरबारभित्र बन्दै गरेको नयाँ संसद भवन हो भने अर्को भैंसेपाटी आवास क्षेत्रमा मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रीहरूको आवासको निम्ति भइरहेको निर्माण कार्य हो ।
कोभिड–१९ महामारीले सबैतिर असर पारे पनि कुनै क्षेत्रमा भने यसले अप्रत्यक्ष फाइदा पु¥याएको देखिएको छ । महामारीले अन्यत्र स्वास्थ्य मापदण्ड र सामाजिक दूरीको लफडा निम्त्याएपनि ठूला परियोजनाहरूको निर्माणमा सहयोग पुगेको हो । अधिकारीहरुका अनुसार ठूलो क्षेत्रफलमा पर्याप्त कामदारहरूलाई अस्थायी रूपमा बनाइएको क्याम्पमा राखेर चौबिसै घण्टा काम गर्ने अवसर पनि अहिलेको समयले जुराएको छ । यसबाट ठूला परियोजनाको काम नियमित रूपमा चालु हुन अकल्पनीय सहयोग पुगेको बताइन्छ ।
भवन विभाग स्रोतका अनुसार भैंसेपाटीमा आगामी दशैंसम्म मन्त्रीहरूका निम्ति १२ वटा अत्याधुनिक आवासगृह निर्माण भइसक्ने गरी निर्माण कार्य अघि बढाइएको छ । २९ वटामध्ये बाँकी भवन पनि तोकिएको समयभित्रै बन्नेछन् । भैंसेपाटीमा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष दुबैको लागिसमेत सरकारी क्वार्टर बनाउन लागिएको विभागले बताएको छ ।
उक्त परियोजनाको ठेक्का पाटनको शाक्य थरका एकजना युवा निर्माण व्यवसायीले लिएका छन् । वीचमा ठप्प झैँ हुन लागेको निर्माण कार्यलाई निरन्तरता दिन सरकारले झण्डै आधा दर्जन पटक खरिद नियमावलीमा संशोधन गरेपछि मात्र कामले रफ्तार लिएको बताइन्छ ।
समाचार साभार : जनआस्था साप्ताहिक