प्राकृतिक सौन्दर्यले भरिपुर्ण शंखरापुरको ‘मणिचुड’
कपन अनलाइन
काठमाडौं मंगसिर ७। काठमाडौं बाट नजिक रहेको शंखरापुर नगरपालिका वडा नम्बर ८ को ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल मणिचुड दहमा पर्याप्त पर्यटक भित्र्याउन सकिएको छैन ।आन्तरिकमात्र नभई पर्याप्त विदेशी पर्यटक भित्रिने मुलुककै राजधानी नजिक प्रशस्त्र पर्यटकीय आकर्षणका सम्भावना रहेको उक्त क्षेत्र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।प्राकृतिक, ऐतिहासिक एवम् सांस्कृतिक रुपमा समृद्ध भएर पनि आवश्यक प्रचारप्रसार, पूर्वाधार एवम् पर्यटक आकर्षित गर्ने खालका कार्यक्रमको अभावमा मणिचुड पर्यटकीय वैभव पर्यटकबाट टाढै रहेको छ ।
शहरको धुँवा, धुलो र कोलाहल बाट दिक्क भइरहँदा शरीर र मतिस्क दुवैलाइ पुनर्ताजकी बनाउनकै लागि पनि धेरैजसो मानिसहरु पदयात्रामा जाने गर्छन् ।हाल कोरोना महामारीका कारण पदयात्रा ,भ्रमण अवरुद्द भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई काठमाडौं नजिकका डाँडा काँडाका भ्रमणमा जान थालेका छन ।एक दिनको भ्रमणको लागि उपत्यकावासीको लागि शंखरापुर नगरपालिका वडा नम्बर ८ मा रहेको सानो सुन्दर मणिचूड दह उचित गन्तब्य बन्न सक्छ।
काठमाडौं बाट नजिकै रहेको प्राकृतिक सौन्दर्यले भरिपुर्ण अत्यन्त मनोरम रमणीय र आकर्षक स्थल हो मणिचुड दह । समुद्र सतहबाट करिब २,२१० मिटर उचाइमा अवस्थित उक्त दह हिन्दू धर्मावलम्बी तथा बौद्ध मार्गीहरूको समान धार्मिक आस्था राख्दै आएका छन् मौसम खुलेको बेला दहमा देखिने गाढा नीलो आकाश, वरिपरिको डाँडाको प्रतिबिम्ब देखिन्छ। काठमाडौं बाट नजिकको दुरीमा रहेको सो स्थान बाट सुर्यदय र सुर्यास्तको साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।उकालो चढ्दा थकाई लागे पनि मनमोहक दृष्य र प्राकृतिक सुरन्दरता सबैको मानसपटलमा ताजा हुने हुँदा यात्रा सहजै दह सम्म गर्न सकिन्छ।कुण्डका दाया बायाँ शिव लिंग , शिव पार्वतीको प्रस्तर मुर्ति संगै दुइवटा पाटी र बौद्द स्तुप अनि कुण्डको छेउ बाट अनवरत बगिरहने धारा रहेको सो स्थानमा हरेक नया वर्ष र जनै पुर्णिमाको दिन मेला लाग्ने गर्दछ ।
कुण्डको छेवैको अनवरत बगिरहने धारो यहाँको अर्को आकर्षण हो। आ–आफ्नो रीतिरिवाज, चलन, अनुसार भक्तजनहरू आउँछन्। हरेक नयाँ वर्ष र रक्षाबन्धनका दिन यहाँ मेला लाग्छ। स्थानीयका अनुसार मणिचूड राजाले राज्य गरेकाले उनै राजाको नामबाट यस ठाउँको नाम मणिचूड रहन गएको हो ।
पहिलेको तुलनामा अहिले मणिचूड पुग्ने धेरै बाटोको स्तरोन्नति भएको छ। यहाँको भौगोलिक सुन्दरता, विविध चराचुरुङ्गी, वनस्पति, मौसम अनुसारका विविध खालको जडीबुटि, लालीगुराँस र हिमालको दृश्य अबलोकन लगायतको कारण पर्यटकको रोजाइमा पर्ने गरेको सो क्षेत्र आवश्यक प्रचारप्रसार, पूर्वाधार एवम् पर्यटक आकर्षित गर्ने खालका कार्यक्रमको अभावमा मणिचुडको पर्यटकीय वैभव पर्यटकबाट टाढै रहेका छन् ।
त्यसैलाइ मध्य नजर गर्दै पर्यटन प्रवर्धनका निम्ति प्रत्येक वर्ष ऐतिहासिक धार्मिक सांस्कृतिक एवं पर्यटकीयस्थल बज्रयोगिनी मणिचुड जाऔ, आन्तरिक तथा बाह्य पर्यटनलाई विकास गरौँ “भन्ने मूल नाराका साथ बज्रयोगिनी मणिचुड पर्यटन महोत्सब समेत हुदै आएको छ जसमा मणिचुड क्षेत्रको प्रवर्धनका लागि बज्रयोगिनी मन्दिर परिसरदेखि मणिचुड कुण्ड सम्म म्याराथुन प्रतियोगिता , मणिचुड कुण्ड नजिकै रहेको साढे उचाल्ने प्रतियोगिता लगायतका कार्यक्रम गर्दै आएको शंखरापुर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष हितमान तामाङले कपन अनलाइनलाइ बताए।
सो क्षेत्रमा पर्यटकहरुको सहजताका लागि सडक निर्माण देखि अन्य पूर्वाधार बिकासका कामले समेत गति लिएको छ। सो क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलको रूपमा विकास गर्दै जाने योजना बनाएको शंखरापुर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष तामाङले बताएका छन । हाल कोभिड १९ कोरोना महामारीका कारण भ्रमणहरु अवरुद्द भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई एक दिने भ्रमणको लागि शंखरापुर नगरपालिका वडा नं ८ मा रहेको मणिचुड दह उपयुक्त गन्तब्य रहेको बताउदै बज्रयोगिनी ,मणि चुड भ्रमण गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा सहयोग गर्न समेत अनुरोध गरेका छन ।
मणिचुड पुग्नको सुन्दरीजल आलापोट, सातघट्टे हुँदै जान सकिन्छ । सुन्दरीजल चिसापानी सडक हुदै जाँदा मूल सडकबाट करिब ३ किलोमिटर उकालो लागे पछि मणिचूड दह पुगिन्छ। सुन्दरीजलबाट गागलफेदी सातघट्टे हुँदै मणिचूडसम्मको दूरी करिब १० किलोमिटर छ। अर्को रुट जोरपाटीबाट थली, डाँछी, ब्रह्मखेल, इन्द्रायणी, सलम्बु हुँदै साँखुसम्मको दूरी करिब १२ किलोमिटर छ। साँखु बजारको उत्तर–पश्चिमतर्फको बाटो भएर बज्रयोगिनी, घुमारचोक हुँदै मणिचूड दह पुग्न सकिन्छ । प्रशस्त पर्यटकीय आकर्षण बोकेका स्थानहरु रहेको शंखरापुर नगरपालिकामा त्यस्ता स्थानहरुको प्रवर्धन प्रचार प्रसारमा बिशेष कार्यक्रम तर्जुमा गर्नु पर्ने देखिन्छ ।