शंखरापुर नगरपालिकाको शिरमा बज्रयोगिनी मन्दिर

शंखरापुर नगरपालिकाको शिरमा बज्रयोगिनी मन्दिर

 

कपन अनलाइन

काठमाडौं मंगसिर ४ ।शंखरापुर नगरपालिकाको शिर  वडा नं ८ मा रहेको पौराणिक, ऐतिहासिक  सांस्कृतिक र धार्मिक  महत्व बोकेको बज्रयोगिनी मन्दिर।प्राकृतिक सौन्दर्यले भरिपुर्ण अत्यन्त  मनोरम रमणीय र आकर्षक स्थलमा रहेको बज्रयोगिनी मन्दिर  बौद्द र हिन्दु  धार्मिक पर्यटकहरुको रोजाईमा पर्दै आएको छ ।

यो मन्दिर धार्मिक तथा पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । भगवान बुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तर रूपमा प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन् । यहाँ बौद्ध र हिन्दू परम्पराअनुसार देवीको पूजा गरिन्छ । उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन् ।भृकुटीको विवाह समेत बज्रयोगिनीको प्राङ्गणमा भएको   इतिहासलाइ मध्यनजर गर्दै सो क्षेत्रलाइ   धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्न समेत आवश्यक देखिन्छ ।गुरु रिम्पोछेले हिँडेको चोभार, स्वयम्भु, बौद्ध, बज्रयोगिनी, नमोबुद्धलाई समेटेर धार्मिक पदमार्ग बनाउन  सकेको खण्डमा सो क्षेत्रको प्रवर्धनमा थप टेवा पुग्ने देखिन्छ, उक्त मन्दिरको निर्माण मध्ययुगिन समयमा प्रताप मल्लले  ग्रन्थकुट शैलीमा निर्माण गरेका थिए ।

२०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त उक्त मन्दिर तीन वर्षमा  पुरातत्व विभागले पुननिर्माण सम्पन्न गरेको हो।प्राचीनकालमा निर्मित उक्त मन्दिरलाइ विश्व सम्पदा सुचिमा सुचिकृत गर्नको लागि नगरपालिकाले पनि पहल गर्नुपर्ने आवश्यक रहेको छ।मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ ।सो  मन्दिरमा गएर भगवतीको दर्शन गर्नाले मनोकामना पूर्ण हुने, दुःख पीडा नष्ट हुने, वर्षौदेखिका अधुरा काम बन्ने, सन्तानलाई सुख प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

बज्रयोगिनी माता रातो अनुहार र तीन आँखा भएकी देवी हुन् । देवीले दायाँ र बायाँ हातको बुढी र माझी औंलामा बज्रयान यन्त्रमा अनुष्ठान मुद्रामा खड्ग र निरुपद् धारण गरेकी छिन् । बज्रयोगिनी मूर्तिको दायाँ सिंहिनी र बायाँ बगिनी देवीको मूर्तिहरू आशिन छन् । त्यसपछि दायाँ हेरूप र वायाँ अचल मूर्तिहरू, तान्त्रिक मूर्तिहरू पनि रहेका छन् ।

बज्रयोगिनी मूर्ति उत्पत्तिको विषयमा धार्मिक ग्रन्थमा लेखिएअनुसार पृथ्वीमा भर्खर, भर्खर हिम युग सुरु भएको थियो । हाल मन्दिर रहेको यो स्थानमा ढुंगाको कापबाट पाँच रंगको आगोको ज्वाला उत्पन्न भयो । त्यहि आगोको ज्वालाबाट कालान्तरमा ज्वालामुखी देवी उत्पत्ति भइन् । यिनै देवी बज्रयोगिनीको रूपमा प्रसिद्ध भएको पनि  मानिन्छ  ।भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण भए  संगै  स्थानीय सरकारले यसको प्रवर्धन प्रचार प्रसारमा बिशेष कार्यक्रम  तर्जुमा गर्नु पर्ने देखिन्छ ।

फोटो सौजन्य  : मोनिका मल्ल

तपाइँको प्रतिक्रिया ।