क्याबिनेट र एमाले–माओवादीका कष्ट

क्याबिनेट र एमाले–माओवादीका कष्ट

कपन अनलाइन

काठमाडौं ,कार्तिक ५।

गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो– ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी ।’ लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको रस्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रिक्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने तीन वटा विकल्प दिएर पुनर्गठन नै गर्नुपर्नेमा जोड दिनु भएपनि वहाँ टसमस नहुनुभएको पछिल्लो पुनर्गठनले देखाएको छ ।
उपेन्द्र यादवको पार्टीले सम्हाल्दै आएका स्वास्थ्य र शहरी बिकास पनि उसको सत्ता बहिर्गमनसङ्गै एमालेको भागमा गएको अर्थ लगाइएको छ । रिक्त ती मन्त्रालयमा यसअघि पूर्व एमाले कोटाका मन्त्रीहरू रहेको, त्यसमा पूर्व एमाओवादीले ढिम्किन नपाउने र पार्टी एकता नहुँदैको जस्तो तेरो र मेरोको कित्ताकाट झल्किरहने प्रधानमन्त्रीको आशय बुझेसङ्गै प्रचण्डले केही दिनअघि रिसाएर ‘त्यसोभए तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुुस्’ भनेपछि तीन जना सदस्य थप्ने बाटो खुलेको प्रधानमन्त्रीनिकट समूहले बताएको छ ।
तर, पार्टीभित्र लामो समयदेखि कायम अविश्वासको वातावरणलाई चिर्न पूर्व एमालेबाटै तीन वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्नुअघि प्रधानमन्त्रीले कम्तिमा एमालेकै आफ्ना अग्रज पूर्व अध्यक्ष र महासचिव माधव नेपाल तथा झलनाथ खनालसँग सल्लाह या जानकारी शेयर गर्नुभएको भए परिस्थिति थप जटिल नबन्ने एकथरिको बुझाई छ । एमालेकै भागका मन्त्रालयमा मान्छे भरिए पनि एमाले भनेको एक ब्यक्ति त हैन । तर, पूर्व माओवादी र पूर्व एमाले दुबैतर्फ आफ्ना आलोचकलाई एकै ठाउँमा राखेर पेल्ने मनस्थिति बनाएपछि मन्त्रिपरिषदको पछिल्लो हेरफेर र नयाँ नियुक्तिले पार्टीमा ऊर्जाभन्दा समस्या थपिदिएको छ । भलै अर्थमन्त्री नियुक्त महासचिव विष्णु पौडेलको हकमा दाहालले पहिले नै समर्थन जनाउनुभएको बताइन्छ ।
कोरोना महामारी बढ्दै गएपछि प्रधानमन्त्रीले क्याबिनेट बैठकमा हिजोका दिनमा झैँ लम्बेतान भाषण गर्न छाड्नुभएको छ । एकजना मन्त्रीका अनुसार ‘मुख्य सचिवले एजेण्डा प्रस्तुत गर्ने र आवश्यकताअनुसार सम्बन्धित मन्त्रीले भनाई राख्ने काम झटपट हुन्छ । प्रधानमन्त्रीले यसो मुण्टो हल्लाएपछि एजेण्डा पास भएको मानिन्छ ।’
क्याबिनेट बैठकमा जाँदा प्रधानमन्त्री निवास पस्ने बेलैमा प्रत्येक मन्त्रीको ज्वरो नाप्ने कामदेखि मास्क र स्यानिटाइजरको व्यवस्थापनमा सुरक्षाकर्मीले विशेष ध्यान दिने गरेका छन् । सबैले जुत्ता छोप्नेगरी प्लाष्टिकको खोल लगाए पनि प्रधानमन्त्रीले भने मुखमा मास्क मात्र लगाउने गरेको मन्त्रीहरू बताउँछन् । खाजा पनि महामारी शुरु भएदेखि चिया र बिस्कुटमा सिमित भएकोले पनि बैठक धेरैबेर नबस्ने गरेको हो ।
यसैबीच एक भारी मन्त्री चलाउन नसकेको झोँक सचिवहरूलाई चलाएरै भएपनि प्रधानमन्त्रीले आत्मसन्तुष्टी लिएको एकजना मन्त्रीले बताएका छन् ।सामाचार साभार :जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।