अख्तियारमा आपत !

अख्तियारमा आपत !

कपन अनलाइन

काठमाडौं ,असोज २९।
कोरोना संक्रमणले अन्य क्षेत्रलाई झैँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि हायलकायल बनाएको छ । आयोगमा कार्यरत प्रहरी र प्रशासनिक कर्मचारी गरी थप ११ जना संक्रमित भई कार्यालयमा अनुपस्थित भएपछि सबै काम लथालिंग भएको हो । कोरोना संक्रमणकै डरले हिरासतमा रहेकामध्ये धेरैजसोलाई भटाभट तारिखमा छाडिएको छ ।
साताअघि सुन्धाराको एउटा होटलमा दुईतिर तरुनी र बीचमा ११ लाखको बिटो च्यापेर मस्तिसँग नक्कली बर्थ डे मनाइरहेको अवस्थामा पक्राउ परेका कञ्चनपुरका निमित्त सिँचाइ डिभिजनल इञ्जिनियर प्रचण्डदेव विष्ट पनि भ्रष्टाचारका अरू सात जनासँगै धरौटीमा छुटेका छन् । बयान लिने काम सकिए पनि ती सबैलाई मुद्दा चलाउने वा नचलाउने सम्बन्धमा भने कुनै निर्णय भएको छैन ।
भ्रष्टाचारको आरोप लागेका चार जना अख्तियारभित्रैको हिरासतमा छन् तर ती सबै साना माछा हुन् । कर्मचारीहरू भने नविन घिमिरे सर छउञ्जेल अख्तियारबाट ठूला माछालाई ध्यानै नदिइएको बताउँछन् । प्रमुख आयुक्त घिमिरे भदौ २८ गतेबाट सेवानिवृत्त भएका छन् ।
एक जना प्रमुख आयुक्त र एकजना आयुक्त भएको अवस्थामा पनि हिजोआज साताको एउटा बैठक भने बस्ने गरेको छ । घिमिरे घर गएको तेस्रो दिन भदौ ३० गते आयोगले सबैभन्दा ठूलो फाइल विशेष अदालतमा पेश गरेको थियो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा बलभद्र दास र असोज १५ गते ३ करोड बिगोवाला अर्का इञ्जिनियर सुरेशकुमार शर्माको अकुत सम्पत्तिसम्बन्धी मुद्दा अघि बढाइएको हो । दासमाथि ७ करोड ७१ लाख ९२ हजार गैरकानुनी आर्जन गरेको आरोप छ ।समाचार साभार :जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।