एउटा क्याबिनेटमा तीन मुख्यसचिव

एउटा क्याबिनेटमा तीन मुख्यसचिव

कपन अनलाइन

काठमाडौं ,असोज २१ ।

गत बिहीबार बिहान १० बजे बालुवाटारमा सम्पन्न क्याबिनेट बैठकमा तीन जना मुख्यसचिवको उपस्थिति रह्यो । एक जना बहालवाला, एक निवर्तमान र अर्का निमित्तको एकैपटक उपस्थिति हुँदा सहभागी मन्त्रीहरूले ताली बजाएर स्वागत तथा बिदाइ गरेका थिए ।
शुरुमा निमित्तको जिम्मेवारीप्राप्त महेन्द्र गुरागाईंले एजेण्डा प्रस्तुत गरे ।

बैठक सकिनै लाग्दा प्रधानमन्त्रीले भर्खर राजीनामा स्वीकृत भएका लोकदर्शन रेग्मी र सोही बैठकले मुख्यसचिव नियुक्त गरेका शंकरदास बैरागीलाई बैठक कक्षमा बोलाउन अह्राउनुभयो । बालुवाटारमै स्ट्याण्डबाई रहेका रेग्मी र बैरागी नमस्ते गर्दै छिरेपछि बैठकमा एकैचोटी रेग्मी, गुरागाईं र सुवेदी तीन जना मुख्यसचिव ठडिएका हुन् ।
अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त युवराज खतिवडालाई सोही बैठकले अमेरिका र रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गरेको थियो । ती नाम सुनुवाईको निम्ति संसदीय समितिमा पठाइसकिएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्य चार जनाको नाम पनि पेश गरेको बताइन्छ ।
यसरी प्रस्तावित हुने मुलुक रसिया, श्रीलंका, इजिप्ट, दक्षिण कोरिया हुन् । श्रीलंकाको लागि यादव खनालको नाम प्रस्ताव गरिएको छ । निर्मल काफ्ले इजिप्ट, प्रा.डा. कृष्णचन्द्र शर्मा दक्षिण कोरिया र जंगब चौहानको नाम रुसको लागि पढिएको थियो । यादव खनालको नाम यादव भए पनि मधेशीको कोटामा नियुक्तीको लागि थर यादव हुनुपर्ने मधेशी समुदायका नेता तथा कार्यकर्ता बताउँछन् ।
प्रस्तुत नामावलीमा मधेशी र महिला उम्मेदवारसहितको समावेशी प्रस्ताव नआएकाले पछि प्रचण्डले आपत्ति जनाएमा उतैबाट थपथाप गर्ने योजनासहित त्यो दिन दक्षिण अफ्रिकाका लागि निर्मल विश्वकर्मासहित खतिवडा र रेग्मीलाई मात्र राजदूतमा सिफारिस गरिएको हो ।
प्रायः सधै  मुख्यसचिवले एजेण्डा प्रस्तुत गर्ने क्याबिनेट बैठकमा अस्तिको पटक राजदूत सिफारिसको लागि प्रधानमन्त्रीले ज्ञवालीतर्फ फर्केर यसो मुन्टो हल्लाएपछि परराष्ट्र मन्त्रीले चार जनाको नाम पढेर सुनाएका हुन् ।

तर, मधेशी र महिलाको नाम नभएकोमा केही मन्त्रीले जिज्ञासा राखेपछि औपचारिक रूपमा खतिवडा र रेग्मीको नाम मात्र प्रधानमन्त्रीले पारित भएको बताउनुभएको थियो । उहाँले ‘ल ठीकै छ, अब पछि समावेशी हुने गरी अरू राजदूत नियुक्त गरौंला’ भनेपछि बैठक कक्ष चकमन्न भएको बताइन्छ ।समाचार साभार : जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।