डेरावाल व्यक्ति पिसीआर परीक्षणमा बाध्य नपार्न काठमाडौं महानगरपालिकाको अपिल
कपन अनलाइन
काठमाडौं ,असोज १४।
काठमाडौं महानगर क्षेत्रभित्र घर भाडामा लिइ बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पिसीआर परीक्षणका लागि बाध्य नबनाउन काठमाडौं महानगरपालिका ले घरधनीहरुलाई अपिल गरेको छ । महानगरको जनस्वास्थ्य महाशाखाले आज एक अपिल जारी गर्दै, कसैलाई पनि पिसीआर रिपोर्टका लागि बाध्य नबनाउन अनुरोध गरेको हो ।
डेरामा बस्ने व्यक्ति तथा परिवारलाई घरधनीले र औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई उद्योग तथा कलकारखानाले पिसीआर परीक्षण गर्न बाध्य पारिएको गुनासा आएका छन् । अपिलका विषयमा स्पष्ट पार्दै महाशाखा प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ — संकटको घडीमा समस्या व्यवस्थापन गर्न यस्तो आग्रह गरिएको हो ।
कोरोना (सार्स कोव २) भाइरसको प्रभाव देखिन कम्तीमा ५ दिन लाग्ने भएकोले अनुपयुक्त समयमा परीक्षण गर्नु र नगर्नुमा फरक हुँदैन । त्यसैले लक्षण नदेखिइ परीक्षण नगर्नु भन्ने महानगरको आशय हो । निर्देशक कुँवर भन्नुहुन्छ — लक्षण देखिएका बिरामीको परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले तोकेका जुनसुकै स्वास्थ्य संस्थामा गए पनि हुन्छ । अहिले सचेत हुनुपर्ने समय हो । त्रसित भएर समस्याको समाधान आउँदैन । त्यसैले समाजमा सद्भाव बढाउन र समस्याका समाधानका लागि समन्वय गर्नुको बिकल्प छैन ।
अपिलमा महामारी बिरुद्ध एकजुट भइ लड्न सबैमा आग्रह गरिएको छ ।