सुन्दर र बलियो घर निर्माण

सुन्दर र बलियो घर निर्माण

कपन अनलाइन 

काठमाडौं ,असोज १२ /बिजेन्द्र श्रेष्ठ

कोरोना कहरले सबै क्षेत्रमा नराम्ररी असर गरको छ। अझै पनि कति असर गर्ने हो थाहा छैन। दैनिक मजदूर गरेर जीविकोपार्जन गर्नेलाई मात्र नभएर मध्यम बर्गलाई समेत जीवनयापनमा गरेको असरको लेखाजोखा गर्न बाँकी नै छ र हुँदै गर्छ पनि। एक त बर्षा सिजन उस माथि कोरोना कहरले निर्माण क्षेत्रमा परेको असरका कारण धेरैको रोजीरोटी गुमेको छ।

नेपालीहरुको महान चाँड दशै र तिहार नजिकिदै गर्दा यि चाँडबाँड कसरी मनाउने भनेर सबै मजदूरहरुलाई एकखालको तनाब छ। बाह्रै महिना घर बनाउन सकिने भएता पनि मौषमको हिसाबले भाद्र महिना देखि जेठ महिना सम्म जग हाल्न उपयुक्त मानिन्छ। अब बिस्तारै लकडाउन खुकुलो भए सँगै घर निर्माण कार्य सुरु हुन थालेको छ। घर बनाउने कुरा आफैमा गाह्रो काम हो तर समयमै विचार पुर्याउन सके त्यति गाह्रो भने पक्कै छैन। घर बनाउदा सबैभन्दा पहिला नक्सा डिजाइनमा ध्यान दिनुपर्छ। डिजाइन दुई किसिमको हुन्छ, एक आर्किटेक्चर र अर्को स्ट्रक्चर डिजाइन।

आर्किटेक्चर डिजाइनमा घरको बनोट, आन्तरिक सजावर, कोठा र झ्याल ढोकाको ब्यवस्थापन लगायत पर्छ भने स्ट्रक्चर डिजाइनमा जग कति खन्ने, कति/कुन साईजको डण्डी हाल्ने, पिलर/बिम/स्लाबको मोटाई कति गर्ने आदि पर्छ। सामान्यतया भवन डिजाइनमा आर्किटेक्चर र स्ट्रक्चर इन्जिनियर उत्तरदायी हुन्छ भने निर्माण कार्यमा सिभिल इन्जिनियर बढि उत्तरदायी हुन्छ। बढि पैसा खर्च गरेर घर बनाउदैमा बलियो र भूकम्प प्रतिरोधी घर बन्छ भन्ने छैन यसको लागी धेरै कुरामा विचार पुर्याउनु पर्छ। मान्छेहरुको आ-आफ्नै विचार र स्वभाव हुन्छ तर सबै मान्छेहरुको चाहना भनेको जीवनमा एकपल्ट सुन्दर र बलियो घर बनाउने हुन्छ यसको लागि निम्न कुराहरूमा ध्यान पुर्याउन अतिआवश्यक देखिन्छ ।

  • जग्गाको छनोट
  • घरको डिजाइन
  • प्रयोग गर्ने सर-सामाग्री
  • काम गर्ने जनशक्ति
  • काम गर्ने तरिका

१.जग्गाको छनौट

घर निर्माण गर्नका लागी किन्ने जग्गाको बनोट, त्यहाको माटो, अवस्थित सुविधा बारे राम्रो सँग जानकारी लिएर मात्र जग्गा किन्नु राम्रो हुन्छ। घर बनाउने जग्गा सके सम्म समथर अथवा समतल भएको राम्रो हुन्छ। भिरालो, पहिरो जाने ठाउँ, पानीको मूल भएको ठाउँहरुमा घर बनाउदा धेरै समस्याहरू आउनका साथै त्यस्तो ठाउँमा घर बनाउदा खर्च पनी बढिनै लाग्ने हुन्छ। सामान्यतया घर बनाउन जग्गा कम्तिमा तिन (३) आना र जग्गाको मोहडा कम्तिमा २२ फिट हुनुपर्छ। जग्गा सम्म पुग्ने बाटोको चौडाई, जग्गाको कति सिमानामा बाटो छ र बाटो टुङ्गिने हो या हैन त्यसमा ध्यान दिनु जरूरी छ साथै बिध्युत लाइन र खोला नाला बाट जग्गाको दुरी कति छ त्यसमा पनी ध्यान दिनु जरूरी छ। त्यसका अतिरिक्त निम्न बमोजिमका कुराहरूमा ध्यान दिनु पर्दछ।

  • छिमेकी कस्तो छ?
  • सुविधा कस्तो छ?
  • जग्गाको आकार
  • माटोको किसिम
  • सरकारी मापदण्ड
  • जग्गा वरिपरिको वातावरण

२.घरको डिजाइन

जग्गाधनी सँग छलफल गरी उसको विचारलाई महसुस गरी मूर्तरूप दिने प्रकृया भनेको डिजाइन हो। राम्रो डिजाइनरले मात्र राम्रो डिजाइन गर्न सक्छ। इन्जिनियरहरूको आ-आफ्नै फिल्ड हुन्छ त्यसमध्ये भवनको डिजाइन गर्ने काम आर्किटेक्चरल इन्जिनियरले गर्छ। विभिन्न फिल्डका इन्जिनियरहरूको मेहनत बिना सुन्दर र बलियो भवन बन्न असंभव जस्तै हुन्छ। सुन्दर र बलियो भवन बनाउन आर्किटेक्चरल डिजाइनर, स्टर्चरल डिजाइनर, इलेक्टिकल डिजाइनर, सेनेटरी डिजाइनर, आन्तरिक सजावट डिजाइनर, थ्रि डी डिजाइनर एवम् विभिन्न डिजाइनरहरूको अहम् भूमिका हुन्छ साथै डिजाइन गरेको खर्च कति लाग्छ भन्ने कुरा पनि यिनीहरूमा मै निर्भर हुन्छ। भवन निर्माण अघि राम्रो परामर्शदाता सँग परामर्श नगर्दा करोडौं खर्च गरेर पनी राम्रो र बलियो घर नबनेर पछुताएका धेरै उदाहरण पनि छन्। राम्रो डिजाइनरको सल्लाह र सुझावमा कम खर्चमा राम्रो र बलियो घर बनाउन सकिने कुरामा ध्यानदिन जरूरी छ।

३.प्रयोग गर्ने सर-सामान

डिजाइनरले राम्रो डिजाइन गर्दैमा मात्र घर राम्रो र बलियो हुन्छ भन्ने छैन। सर्वप्रथम घर निर्माण गर्न प्रयोग गर्ने सामाग्रीहरू जस्तै सिमेन्ट, वालुवा, गिटी, डण्डी, ईट्टा, पानी आदि गुणस्तरीय हुनुपर्छ। ईट्टा राम्ररी पाकेको र नियमित आकारको हुनुपर्छ, २४ घण्टा पानिमा डुबाउदा तौलको २५% भन्दा बढि नबढ्ने हुनुपर्छ। वालुवा सफा, माटो नमिसिएको र दानादार हुनुपर्छ। डण्डी खिया नलागेको र कुनै पनि ठाँउमा चिरा नपरेको हुनुपर्छ। रोडा सफा, माटो नमिसिएको कडा खालको हुनुपर्छ। सिमेन्ट उत्पादन गरेको मितिले ४ महिना ननाघेको, हुक नगरेको, डल्लो नपरेको हुनुपर्छ। घर बनाउदा सकेसम्म सिमेन्ट र डण्डी सुरूदेखि अन्त्य सम्म एउटै ब्राण्डको हुनुपर्छ। त्यस्तै ढलान गर्न प्लाईवोर्ड (फर्मा) र फलामे पाईप (prop) पनी राम्रै खालको प्रयोग गर्नुपर्छ।

४.काम गर्ने जनशक्ति

भवन निर्माणमा धेरै प्रकारको जनशक्ति (सुपरभाइजर, मेसन, प्लम्बर, इलेक्टिसियन, कारपेन्टर, पेन्टर आदि) हरूको महत्वपूर्ण भूमिका हुन्छ। भवन निर्माण गर्दा सबै सामानहरूको हेरचाह गर्नका साथै डिजाइन अनुसारको काम गर्न र गराउन दक्ष जनशक्ति चाहिन्छ। जतिसुकै राम्रो डिजाइन र गुणस्तरीय सामान प्रयोग गरेता पनी काम गर्ने र गराउने जनशक्ति नराम्रो भएमा भवनमा लगानी गर्नु भनेको वालुवामा पानि हाले सरह नै हुन्छ। कामदारहरु निर्माण सम्बन्धि ज्ञान भएको र तालिम प्राप्त भएको खण्डमा निर्माण सामाग्रीहरुको सदुपयोग हुनुका साथै राम्रो ब्यवस्थापन पनि हुन्छ।

५.काम गर्ने तरिका

जुनसुकै निर्माण कार्यमा काम गर्ने शैलीले कामको गुणस्तरमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ। गलत काम गर्ने तरिकाले अनन्तकाल सम्म दुःख दिन सक्छ। त्यसैले कुनैपनि काम गर्दा सुरूदेखि अन्त्य सम्म ध्यान पुर्याउनुका साथै कुन काम कसरी गर्ने, कुन पछी कुन गर्ने, कति जना जनशक्ति आवश्यक छ, कहिले सम्म काम सम्पन्न गर्ने आदि कुराहरूको योजना (Schedule) ‍बनाएर काम गर्नु पर्छ। यसो गरेको खण्डमा कुनैपनी काम दोहोर्यै, तेहर्यै गर्नु पर्दैन र काम समयमै सकिनुका साथै काम गुणस्तरीय पनि हुन्छ।

अन्त्यमा, बर्षौको पसिना र मेहनत पछि घर बनाउदा आफ्नो बजेट भित्र सम्भव हुने घर निर्माण गर्नका लागी घर बनाउदा लाग्ने निर्माण सामाग्रीहरूको मात्रा र मूल्य, बजार टेण्ड, डिजाइन गर्दा लाग्ने खर्च, घर बनाउन लाग्ने समय आदि जस्ता विविध कुराहरूको जानकारी हुनुपर्छ साथै घर अहिलेको चलेको प्रवृति र आगामी पुस्तामा आउन सक्ने परिवर्तन दुवैलाई ध्यानमा राखेर घर बनाउदा राम्रो हुन्छ।

 

तपाइँको प्रतिक्रिया ।