शिवपुरीका विभिन्न स्थानमा बटुवालाई पानी खुवाउन परम्परागत ढुंगेधारा निर्माण

कपन अनलाइन

काठमाडौं ,असोज ११
गुर्जे भञ्ज्याङ, वारी काठमाडौँको टोखा नगरपालिका, पारी नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज रहेको डाँडामा जुनसुकै मौसम र याममा बटुवाहरु आवत–जावत गरिरहन्छन् । काठमाडौँवासी र नुवाकोवासीको साझा चौतारी जस्तै हो शिवपुरी जङ्गल ।
परम्परागत रुपमै काठमाडौको टोखावासी र नुवाकोटवासी बीच दैनिक उपभोग्य सामाग्रीको लेनदेन र कारोवार चल्दै आएको छ । काठमाडौँबाट नुन, तेल, औषधी जस्ता वस्तु लाने र नुवाकोटवाट विभिन्नअन्न र पशु धन ल्याउन कारोवार गर्ने गरेको भुक्तभोगी उपभोक्ताहरु बताउँछन् ।
सांस्कृतिक संरक्षित क्षेत्र टोखास्थित अमर मा. वि. का प्रधानअध्यापक हरि दास श्रेष्ठ यस्तै भुक्तभोगी मध्ये एक हुन् । आफ्ना बाजेले त्यस्तै व्यापार गर्ने क्रममा ३० को दशकमा आफ्नो बाल्यकाल नुवाकोटको छहरेको बजारमा बितेको उहाँ स्मरण गर्नुहुन्छ ।
त्यस्तो परम्परागत व्यापार अहिले पनि निरन्तर जारी छ । दिनहुँ सैयौँको संख्यामा बटुवाहरु वारिपारी गरिहन्छन् । त्यसरी विभिन्न आवश्यकीय सामानका भारी बोकेर उकाली ओराली गरिरहने बटुवाका लागि बाटोमा थकाई मेटेर तिर्खा मेट्न अहिले ठाउँ ठाउँमा परम्परागत शैलीमा ढुंगे धाराहरु बनाइएका छन् ।
स्थानीयवासीकै जागरुकतामा बनाइएका त्यस्ता धाराहरु नुवाकोटतर्फ शिवपुरी गाउँपालिका अन्तर्गत वडा नम्बर ६ र ७ का तामाङ गाउँ, गुरुङ गाउँ र समुन्द्रादेवीमा निर्माण गरिएका छन् । त्यसका लागि सहकार्य स्वरुप टोखा संस्कृति सम्पदा संरक्षण दबूले सहयोग पुर्याएको  छ । दबूका अध्यक्ष मनिराज डङ्गोलका अनुसार टोखा र नुवाकोट बिच  नँग र मासु जस्तै सम्बन्ध रहँदै आएको छ ।

परम्परागत जनस्तरको सम्बन्धलाई अझै मजबूतबनाउँदै संस्कृति र सम्पदाको संरक्षण गर्दै जाने क्रममा आफूहरु नुवाकोट सित सहकार्य गर्न पुगेको उनको भनाई रहेको छ ।
यसै क्रममा शनिबार टोखा संस्कृति सम्पदा संरक्षण दबूको टोलीले निर्मित ढुंगेधाराहरुको अवलोकन गरेका थिए  । टोलीमा टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठका साथै दबूका कोषाध्यक्ष राम डंगोल र सदस्य कृष्णहरि श्रेष्ठको सहभागिता  थियो ।
यसै क्रममा स्थानीय तीनधारामा तीनवटै नयाँधारा बनाएर पानी झारिएको छ । त्यसक्रममा स्थानीय युवाहरुले  उत्साहित हुँदै अरु पनि धारा बनाउने योजना रहेको बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।