काठमाडौं बौद्ध बाट रक्तचन्दन तस्कर पक्राउ

काठमाडौं बौद्ध बाट रक्तचन्दन तस्कर पक्राउ

कपन अनलाइन

काठमाडौं ,असोज ६।

प्रतिबन्धित बनस्पति रक्तचन्दनको कारोबार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गएराति महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गरेको अरपेशनमा चार जना रक्तचन्दन कारोबारीलाई पक्राउ गरेको हो ।महाशाखाका अनुसार उनीहरूले डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने गरेको खुलासा भएको छ ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गाउँ पालिका घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् ।

प्रहरीले उनीहरुका साथबाट २१ किलो ९ सय ग्राम रक्तचन्दन बरामद गरेको छ।आठ हजार ५ सय रुपैयाँ किलोको दरले बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई रक्तचन्दनसहित काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

योजनाकार फरार

रक्तचन्दन कारोबारमा संलग्न चार जनाले डमरुमा रक्तचन्दन भर्ने जिम्मा मात्र पाएका थिए । तस्करीका मुख्य योजनाकार भने फरार छन् । नुवाकोट म्याजम गाउँपालिकाका ओमबहादुर तामाङ र रविन गुरुङको भेट नयाँ दिल्लीमा भयो । लकडाउन पछि काठमाडौं आएका ओमबहादुरले रविनलाई डमरु कारखानाका सम्पर्कमा लगे ।

रविनले दुईवटा रक्तचन्दनको मुढा दिएर त्यसलाई डमरुमा सेट गर्न भन्दै आफुसँग अरु धेरै रक्तचन्दन रहेको जानकारी गराए ।

प्रतिकिलो ८ हजार ५ सयमा बेच्नका लागी रविनको योजनामा कैलास र लाक्पा आइतबार ‘ग्राहक डिल’ गर्दै थिए । करिब ५ सय केजी रक्तचन्दन बेचबिखन गर्न लागेको सुराकका आधारमा अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । तर, मुख्य योजनाकार रविन गुरुङ फरार छन् ।

तपाइँको प्रतिक्रिया ।