ताप्लेजुङको दुर्गम हिमाली गाउँमा याकको बच्चा बितरण
कपन अनलाइन
ताप्लेजुङ,भाद्र ३१ / अमृता नेपाली
ताप्लेजुङको दुर्गम हिमाली गाउँ मिक्वाखोला गाउँपालिका वडा न ५ पापुङका किसानहरुलाइ याकको बच्चा बितरण गरिएको छ।याक पालन ब्यबसाय दिनदिनै लोप हुँदै गरेकोले याक पालन प्रबर्द्धन गर्ने र बिपन्न बर्गका किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उदेश्यले मंग्लवार किसानहरुलाइ याक बितरण गरिएको हो।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाचथरको याक चौरी बिकास कार्यक्रम मार्फत उपल्लो तोक्पेगोला बस्तिका १२ घरपरिवारलाई यक बितरणा गरिएको पापुङका वडाअध्यक्ष डण्डु लामाले जानकारी दिएका छन ।
निशुल्क रुपमा याकको बच्चा बितरणले याक पालन प्रबर्द्धन साथै याक पालन पेशा प्रती किसानलाई उत्साहित गर्न समेत सहयोग पुग्ने वडा अध्यक्ष लामाको बिश्वास रहेको छ। यक्कपालन पेशामा संलग्न रहदै आएक बिपन्न परिवारको छनोट गरि याकको बच्चा बितरण गरिएको वडा सदस्य पासाङ शेर्पाले बताएका छन ।
प्रतिगोटा ४० हजार पर्ने याकको बच्चा अनुदानमा पाउँदा स्थानीय किसानहरुमा खुसी छाएको वडा सदस्य शेर्पाको भनाइ रहेको छ। पछिल्लो समय ताप्लेजुङको हिमाली भेगमा याक तथा चौरी पालन पेशा हराउदै गएको छ।
हिमाली क्षेत्रका बासिन्दाको पुर्खयौलि पेशाको रूपमा रहेको याक पालन नयाँ पुस्ताले निरन्तरता दिन नसक्दा हराउदै गएको हो।पहिले पापुङ्को माथिल्लो बस्तिका प्राय सबैले याक पालन गर्ने भए पनि अहिले तोक्पेगोला र सिम्बुकका करिब २२ परिवारले मात्र याक पेशालाई निरन्तरता दिदै आएको पाइएको छ।
(अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )