काठमाडौं महानगरपालिकाको राजस्व भुक्तानी अव अनलाइनबाट प्रणालीमा हुने

काठमाडौं महानगरपालिकाको राजस्व भुक्तानी अव अनलाइनबाट प्रणालीमा हुने

कपन अनलाइन

काठमाडौं ,भाद्र २९।

काठमाडौं महानगरले असोज १ गतेबाट राजस्व प्रणालीलाई अनलाइनमार्फत भुक्तानी हुने प्रणाली थालनी गर्ने तयारी गरेको छ । वडामा कर तिर्ने करदाताले यस प्रणालीबाट आफूले तिर्नु बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुरको प्रारम्भिक मूल्याङ्कन आफैं गर्न र घरमै बसेर कर तिर्न सक्छन् । यसका यसका लागि आज राष्ट्रिय सभा गृहमा वडा सचिव र राजस्व मुल्याङ्कन गर्ने अधिकारीका लागि अभिमुखीकरण सम्पन्न भएको छ ।

अभिमुखीकरणमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने ,” यो महानगरबासीका लागि खुशीको खवर हो भने कर्मचारीका लागि गौरवको बिषय हो । पैसा तिर्ने करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नु पर्ने अभ्यासले शुशासनको प्रत्याभूत गराउँदैन ।

हामीले कोविड महामारीकै बीच साउन १ गतेदेखि खर्च लेखाङ्कनलाई सब—नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र) मा आधारित बनाइसक्यौं । त्यसपछि भवन नक्सा स्वीकृति गर्ने पद्धतिलाई इविपिएस (इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम) प्रणालीबाट कार्यान्वयनमा ल्याएका छौं । अहिले राजस्व प्रणालीलाई अनलाइन बनाउने अन्तिम तयारीमा पुगेका छौं । यस्ता प्रणालीबाट नागरिकलाई सरकारका कामप्रति बिश्वस्त बनाउँछ ।’

अभिमुखीकरण कार्यक्रममा बोल्दै महानगरका सहसचिव राजेश्वर ज्ञवालीले भने , ‘सार्वजनिक सेवा प्रदायकले अब प्रबिधिबाट भाग्न मिल्दैन । महानगरले प्रबिधिको पूर्वाधारमा लगानी बढाउँदै जानेछ ।’ उनले जनशक्तिको मनोविज्ञानमा चर्चा गर्दै थपे   ‘प्रबिधिको प्रयोग प्रारम्भमा असजिलो लाग्न सक्छ । यसलाई सजिलो भनेर बुझ्न सकियो र दैनिक आचरणमा अभ्यस्त बनाउन सकियो भने बिद्युतीय शासनमा ठूलो टेवा हुनेछ ।’
काठमाडौं महानगरपालिकाले लागु गर्न लागेको   यस प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटफर्म छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर जनसाधारण सबैका लागि उपयोग गर्न मिल्ने खालका छन् । साइट खोलेर करदाताले यसैका फिचर प्रयोग गरेर आफ्नो व्यवसाय, घरजग्गा वा अन्य करको प्रारम्भिक मूल्याङ्कन आफैं गर्न सक्नुहुनेछ । यसबाट आफूले कति कर तिर्नुपर्छ भन्ने करदातालाई थाहा हुनेछ ।

यो विवरण फरवार्ड गरेपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मुल्याङ्कनलाई अप्रुभल दिनेछन् । यसपछि करदाताले आफूसँग भएका अनलाइन पेमेन्ट सिस्टमबाट वा वडामा गएर कर दाखिला गर्न सक्नेछन् ।

अभिमुखीकरणमा बोल्दै राजस्व बिभागका प्रमुख नुरनिधि न्यौपानेले भने , ‘महानगरको प्रगतिशील कर प्रणाली निर्माण गर्ने नीतिअनुसार तयार गरिएको, आ. व. २०७७/०७८ लाई करदाता अभिलेखीकरण बर्ष बनाउने कार्यनीतिका आधारमा यो प्रणाली विकास गरिएको हो ।’

राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले भने   ‘प्रणाली कार्यान्वयन गर्न असोज १ गतेदेखि १ महिनासम्म बिकासकर्ताले प्राबिधिक सहयोग गर्नेछन् । बिद्युतीय शासन स्थापना गर्ने यो महत्वपूर्ण अवसर हो । सबै मिलेर कार्यान्वयनमा जोड दिनुपर्छ ।’

 

सफ्टवेयरको प्रयोगात्मक सिकाइका लागि महानगरले भाद्र ३०  र ३१  दुई  दिन वडालाई ४ समूहमा बाँडेर तालिम सञ्चालन गर्नेछ  । भाद्र ३०  बिहान देखि १ बजेसम्म वडा १ देखि ८ सम्म र  वडा ९ देखि १६ सम्मका वडा सचिव र कर मुल्याङ्कन अधिकारीलाई तालिम प्रदान गरिनेछ भने  ३१ गते  बिहान वडा १७ देखि २४ सम्म र मध्यान्न वडा २५ देखि ३२ का अधिकारीलाई तालिम दिइनेछ ।फोटो सौजन्य : काठमाडौं अनलाइन

 

तपाइँको प्रतिक्रिया ।