दाहाललाई चोर, डाँका नभनेको नेपालको प्रष्टिकरण

काठमाडौं, जेठ ११- एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हिजो (बुधबार) गाली गलौज गरेको भनी आएको समाचारबारे प्रष्टिकरण दिएका छन्। विवाद समाधान उपसमितिको बैठकमा उनले दाहाललाई यसबारे स्पष्ट पारेका हुन्।

 बैठकपछि नेपालले सञ्चारकर्मीसँग भने, ‘हिजो मैले बोलेको कुरालाई लिएर प्रचण्ड कमरेडले भन्नुभयो- धेरै चित्त दुख्यो। मिडियामा केसम्म आएछ भने मैले उहाँलाई चोर, डाका, फटाहा भने भनेर। मैले उहाँलाई त्यस्तो भनेको होइन र मेरो आशय पनि त्यस्तो होइन।’

नेपालले भने, ‘प्रचण्डजीले मलाई भन्नुभयो- यस्तो शब्दको प्रयोग गर्नुभएछ धेरै चित्त दुख्यो। यतिका वर्ष सँगै काम गर्दै आएका छौं, सुमधुर सम्बन्ध यस्तै हुन्छ?’ मैले उहाँलाई भने- चित्त नदुखाउनुस्, केही राजनीतिक सन्दर्भमा भनेको हुँ। व्यक्तिगतरुपमा लाञ्छना लगाउन खोजेको होइन।’

एमाले नेता नेपालले हिजो बोलेको आफ्नो भनाईको आशय यसरी ब्याख्या गरे- ‘एमालेका सांसद्हरुसँग उहाँहरु बेग्लै दौडधुप गर्नेलाई हामीसँग छलफल गर्नुभन्दा पनि बेगलै प्रयत्‍न गरेकाले मलाई शंका पैदा गरेको हो।’

‘सहमतिमा जान खोजिएको हो कि? चोरेर दुई तिहाइ पुर्‍याउन हो?’ भन्ने सिलसिलामा उल्लेख गरेको मात्र हुँ,’ उनले प्रष्ट्याए। उनले आफूले तल्लो दर्जाको शब्द प्रयोग नगरेको समेत दाहाललाई बताए। उनले त्यसैले त्यसका सिलसिलामा तपाईँ चित्त नदुखाउनुस् भने। ‘उहाँको चरित्रमाथि आक्षेप लगाउन र उहाँको भावनामाथि चोट पुर्‍याउन भनेको होइन। यो कुरा प्रष्ट पार्न चाहन्छु,’ नेपालले भने।

प्रचण्डको भनाई उदृत गर्दै नेपालले भने, ‘त्यो हस्ताक्षर मैले गराउने काम गरेको होइन।’ यसमा मलाई किन मुछ्नुभो?

हिजो एभरेस्ट होटलको कार्यक्रममा नेपालले दाहाललाई सांसद चोर्न खोजेको र पार्टी फुटाउने षड्यन्त्र गरेको र रक्तपात मच्चाएर भए पनि आफू शक्तिमा आउने प्रयत्न गरेको जस्ता आरोप लगाएका थिए।

तपाइँको प्रतिक्रिया ।