कति जाती हाम्रो मालिक : छायाँदत्त न्यौपाने
कपन अनलाइन
काठमाडौं ,भाद्र २०।
ए ! सन्तु
हामी परिवर्तन भयौं ?
सन्तु हो हजुर परिवर्तन भयौं
हेरिस्यो त कति धेरै परिवर्तन !
मैले देखेका केही परिवर्तन भनुँ हजुर ?
अँ भन् त
भात –भुजा भयो
खानु – जिउनार भयो
चिया – कफी भयो
बस्नुहोस् – राजहोइस्यो भयो
दाइ – राजा भयो
भाउजू –मैसाप भयो
दौरासुरूवाल – टाइसुट भयो
गुनियोचोलो – टिसर्ट पाइन्ट भयो
डोरीकाँइयो – किलाकाँटा भयो
गाउँ – सहर पस्यो
सहर – राजधानी पस्यो
डेरा – महल बन्यो
घरेलुकामदार – सहयोगी भयो
आफ्नो काम गर्ने चलन – नगर्ने भयो
अरूलाई दुख नदिने चलन – सकेसम्म बढी दिने भयो
सार्वजनिक यातायात – निजी कार भयो
साबुनपानी – स्याम्पु र वाटर भयो
स्याम्पु – विदेशबाट आयात भयो
स्वदेशी सामानको ठाउँ – विदेशीले लियो
शृङ्गार सेवा लिन जानुपथ्र्याे – घरै आउने भयो
भान्सा – लन्च, डिनर भयो
खाजा – नास्ता भयो
पाकशाला – किचन भयो
थाल तानातान गर्नेहरू – नचिनिने भए
भेट्न आउनेलाई – नभेटिने भयो
कुरा स्वदेशका – काम विदेशी गर्ने भइयो
घुस – कमिसन – उपचार र डेराभाड भयो
यस्तै यस्तै धेरै परिवर्तन आयो हजुर
हो, सन्तु यति धेरै परिवर्तन भयो !
ल, ठिक भनिस्, आखिर साथ कसको !
ल, यो त तैले मेरो कुरा गरिस् गाउँतिर के छ नि ?
अँ, गाउँतिर पनि परिवर्तन भा’छ हजुर
खेतीयोग्य जमिन – बाँझियो
गाईभैंसी पाल्न – छाडियो
युवाहरू सबै – बिदेसिए
तिनकाश्रीमती – सदरमुकाम छिरे
बाँकी रहेका कताकति बुढाबुढी
बाढी पहिराको प्रतीक्षामा छन् ।
राम्रै परिवर्तन भा’छ हजुर !
विदेश जान पाएर गाउँले खुसी छन् !
स्याबस ! सही जानकारीका लागि
म कार्यालयको लेखापालाई भनेर
एक जोर लुगा तँलाई पनि दिन सिफारिस गर्छु ।
जय होस् मालिक ! जय होस् !!
हाम्रो मालिक कति जाती ?
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक