हतारका हतारोहरू : राजेश अधिकारी (कविता )

हतारका हतारोहरू : राजेश अधिकारी (कविता )

कपन अनलाइन

काठमाडौं ,भाद्र २०।

नौ महिना आमाको गर्भमा
धैर्यतासँग बसेको धीर भ्रुण
धर्तीमा पाइला टेक्ने बित्तिकै
हतार गर्न सुरु गर्छ

कहिले पल्टिने हतार गर्छ
कहिले बामे सर्ने हतार गर्छ
हतारै हतारको घनचक्करमा
जवानीको चन्द्र छुने हतार गर्छ
अल्लारे बैँसको यात्रा गर्दा गर्दै
कसैसँग मुटु गाँस्ने हतार गर्छ
प्रणयको डुंगामा सयर गर्दा गर्दै
जोडी बाँध्ने हतार गर्छ
जोडी बाँधेको प्रथम दिनदेखि
सन्तान प्राप्तीको हतार हुन्छ

बाबुआमा र सासुसरालाई
नातिनातिना खेलाउने हतार हुन्छ
बाजेबज्यैलाई पनातिपनातिनीको
मुख हेरेरै बैकुण्ठ जान हतार हुन्छ
यो हतारै हतारको जीवनचक्र
हतार हतारले नै घुमिरहन्छ

अस्पतालको शैया माथिको
मेरो रुग्ण अर्धचेत तस्विर देखेर
मेरा फेसबुके आफन्तहरुलाई
शुभचिन्ता ओकल्न हतार हुन्छ
कमेन्टमा श्रद्दासुमनको खहरे उर्लिन्छ

चिन्तकका हड्बडे औंलाको हतारोले
मलाई जिउदै तर्पण कोच्याइन्छ
हडबडे इस्टमित्रका हतारे अन्दाजले
मेरो बिद्यमानतालाई हतारमै नश्वर बनाउँछ
जिउँदै मार्ने हतारहरूले मलाई
जीवितताको नजिर पेश्न हतार लगाउँछ

मेरा औंलाहरूले हतार हतार फेसबुकमा
आफ्नै वर्तमान छबिचित्र पोस्ट गर्छन्
मेरो सन्जालले रिंगिएको मथिंगललाई
जीवन्तताको प्रमाण पोख्न हतार हुन्छ
यी उहापोह छचल्किएका
उन्माद मनका झुसी हतारहरूले
जीवनका आरोही–अवरोही मोडहरूलाई
हतार हतार नाघ्दै, छिचोल्दै
हतासोमै जिन्दगीहरू जिइरहेछन्

उमङ्गी हतारहरूको घोडा चढेर
कसैले सफलताको जून चुम्लान्
महत्वाकांक्षी हतारहरूको पङ्ख लगाएर
कसैले लाभको उडान भर्लान्
समय बलवान प्राकृतिक वेग हो

यसको स्वस्फुर्त गतीमा
आफुलाई नबहाउनु मूर्खता हो
समय–सारिणी वक्तको बिधान हो
यसका अकाट्य अक्षुणतालाई
बेपर्वाह गर्नु अपराध हो
पवनको मन्द झोंका सराव पिएर
हतारे बिनाशकारी हुरी बनी
समयका महलहरूलाई भत्काइदिन्छ

कण्ठको मधुर बाणी उन्मत्त मातिएर
हतारे परपीडक गाली बनी
निरपराध मनहरूलाई दुखाइदिन्छ
कतै सूर्य हतारमा शीघ्र नअस्ताइदेओस
पृथ्वी हतारमा छिटोछिटो नघुमिदियोस
ऋतुहरू हतारमा पलपल नबद्लिदिउन्
प्राकृतिक गतीभन्दा हतारहरू नबहकिउन्!

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।