कल्याणकारी स्वयंसेवक संघ नेपाल (WVAN ) खहरे कि नदी ?
कपन अनलाइन
काठमाडौं ,भाद्र १९।
कल्याणकारी स्वयंसेवक संघ नेपाल (WVAN ) खहरे कि नदी ? -यसमा यो शीर्षक देख्दा धेरैको मनमा प्रश्न उब्जिन सक्छ। समाज सेवा र लोक कल्याणका लागि भनेर स्थापना भएको संस्था संग खहरे र नदीको क सम्बन्ध ? पक्कै पनि यसको सिधा सम्बन्ध नभए पनि सो संस्थाको गतीविधिको रफ्तार संग भने यसले मेल खाने छ।
प्रतीकात्मक रुपमा यहाँ खहरे र नदीको रफ्तार संग सो संस्थाको गतिविधि तुलना गरिएको हो। खहरे जव उर्लेर आउछ यसले ठुलै गति पैदा गर्छ तर छोटो समयका लागि मात्र तर नदी निरन्तर बगिरहन्छ। यहाँ पनि कल्याणकारी स्वयंसेवक संघ नेपाल (WVAN ) का शुरूवाती चरणका गतीविधि निकै सक्रिय र जोडदार देखिन्थे तर पछिल्लो चरणमा भने सो संस्थाका गतिविधिहरु निकै सेलाएका छन।
मानव सेवाका विविध पक्षमा निकै सक्रियताका साथ नेपालका सातै प्रदेस र तल्लो तहमा समेत संजाल विस्तार गरेको सो संस्थाका गतिविधिमा एकाएक सिथिलता आउनुले भने यसको सक्रियता र गतिमा प्रश्न सिर्जना गरेको चर्चा व्यापक चलिरहेको छ।
सामान्य समयमा विभिन्न सामाजिक कार्य र लोक कल्याणकारी गतिविधिमा कल्याणकारी स्वयंसेवक संघ नेपाल (WVAN ) को लोगो अंकित ज्याकेट लगाएर सक्रिय रहने स्वयंसेवकहरु कोरोना प्रकोपको महामारीको समयमा भने कतै नदेखिनु निकै दुखद भएको सो संस्थाका एक शुभचिन्तकले बताए।
बुढानिलकण्ठ नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमको आर्थिक विकासको खण्डमा बुँदा नं १८ मा रोजगार सेवा केन्द्र स्थापना र आय मुलक कार्य गर्नका लागि कल्याणकारी स्वयंसेवक संघ नेपाल (WVAN ) संग सहकार्य गर्ने उल्लेख गरेको छ तर अहिले सम्म उक्त संस्थाले नगरपालिकालाई कुनै पनि अवधारणा र कार्यक्रमको खाका प्रस्तुत गर्न सकेको छैन। न त यसले विषम परिस्थितिमा स्वयंसेवक परिचालन र नगरपालिकाको अभियानमा नै अर्थपूर्ण उपस्थिति जनाउन सकेको छ।
देशब्यापी संजाल संगै बुढानिलकण्ठ नगरपालिकामा शुरुवाती चरणमा निकै सक्रिय रहेको यस संस्थाले मौकामा हिरा फोर्न पर्छ भन्ने उक्तिलाई आत्मसाथ गरेर विषम परिस्थितिमा आफ्नो अर्थपूर्ण र दरिलो उपस्थिति जनाउनु पर्नेमा यसरि शिथिल बन्नु निकै आश्चर्यजनक कुरा भएको कल्याणकारी स्वयंसेवक संघ बुढानिलकण्ठका एक सदस्यले बताएका छन।
समाजसेवाको अवसरका रुपमा लिएर राजनीतिक,शैक्षिक,व्यवसायिक क्षेत्रका धेरै व्यक्तिहरु आवद्ध भएर सो संस्थालाई अगाडी बढाएको स्मरण गर्दै ति सदस्यले अहिले धेरैले प्रश्न गर्दा निरुत्तर भएको दुखेसो पोखेका छन।
नेपाल सरकार र स्थानीय सरकारले कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि स्वयंसेवक आव्हान गरिरहेको वेला त्यसै उदेस्यका लागि स्थापना भएको संस्थाले पहलकदमी लिनुपर्नेमा निस्क्रिय बन्नु निकै दुखद र आश्चर्यजनक कुरा रहेको बताउदै अर्का सदस्यले यसको स्थापना वास्तविक समाजसेवाका लागि हो कि कसैको व्यक्तित्व विकासका लागि ? यो प्रश्न ज्वलन्त रुपमा उठिरहेको बताएका छन।