नागार्जुन नगरपालिका भू सेवा केन्द्र स्थापना
कपन अनलाइन
काठमाडौं ,साउन ३०।
नागार्जुन नगरपालिका भू सेवा केन्द्र स्थापना गरिएको छ ।भूसेवा स्थापना भएसँगै सो स्थानीय तहका जनताले आफ्नो जग्गाको लिखत नगरपालिकालाई बुझाए पुग्नेछ भने यसै हप्ताबाट सञ्चालनमा आएको केन्द्रमा हालका लागि नगरवासीले अनलाईनमार्फत नै आफ्नो जग्गाको लिखत विवरणहरु पेस गर्न सक्नेछन ।
गत सोमबार कलंकीस्थित मालपोत कार्यालयको जग्गा प्रशासन र भूसेवासम्बन्धी सेवा भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलले नागर्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतलाई हस्तान्तरण गरेका थिए ।
योसँगै स्थानीय तहको जग्गा प्रशासन अब जनप्रतिनिधिको हातमा पुगेको हो भने नागार्जुन यो सेवा सुरु गर्ने पहिलो स्थानीय तह बनेको हो । सो अवसरमा नगर प्रमुख मोहनबहादुर बस्नेतले मालपोतका काम नगरमा आउनुलाई संविधानको कार्यान्वयन र स्थानीय तहको प्रभावकारितका रुपमा लिएको बताएका थिए ।
उक्त प्रशासनिक हस्तान्तरण पश्चात संसदमा प्रकृयामा रहेको मालपोत ऐन संशोधन भएर आएसँगै हाल मालपोत अधिकृतले गर्ने काम स्थानीय तहको प्रमुख कार्यकारी अधिकृत वा उसले तोकेको व्यक्तिले गर्नसक्नेछन भने नगरपालिकाले केन्द्र स्थापना गरेसँगै जग्गासम्बन्धी लिखत तयार गर्न लेखापढी वा कानुन व्यवसायीको सहयोग लिन नपर्ने भएको छ ।
कलंकी मालपोत कार्यालयले यसअघि नै आफ्नो क्षेत्राधिकार भित्र पर्ने नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरी र महानगरका केही वडाका कर्मचारीलाई यससम्बन्धमा तालिम दिइसकेको छ ।
मालपोत कार्यालयले जनताका लिखत संकलन गर्नका लागि आफ्नो सफ्टवेयरको पासवर्ड नगरपालिकालाई दिइसकेको र त्यसैबाट नागरिकले अनलाईन विवरण राख्नसक्ने नगरपालिकाको जग्गा प्रशासन शाखाका प्रमुख नारायण प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन ।
तत्कालका लागि भूसेवा केन्द्रबाट जग्गा प्रशासनको प्रारम्भिक काम मात्रै हुने भएपनि भविष्यमा जग्गाको किनबेच, लिखत पारित, संशोधन, जग्गा रोक्का, फुकुवा, लेखापढी लगायतका काम स्थानीय तहमा नै गर्न सकिनेछ ।फोटो सौजन्य :तारकेश्वर अनलाइन