बिपदमा परेका स्थानीय तहलाई प्रदेश सरकारको सहयोग

बिपदमा परेका स्थानीय तहलाई प्रदेश सरकारको सहयोग

कपन अनलाइन
हेटौंडा, साउन २७।
बागमती प्रदेश सरकारले बाढी पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बागमती प्रदेश बिपद ब्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ८ वटा गाउँपालिका र एउटा नगरपालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
समितिको निर्णय अनुसार धादिङको बेनिघाट रोराङ गाउपालिकालाई ३० लाख, धादिङकै सिद्दलेक गाउपालिका र गजुरी गाउपालिकालाई २०/२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिका २० लाख, सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल गाउपालिकालाई १५ लाख र बाह्रबिसे नगरपालिका थप १५ लाख, दोलखाको गौरीशंकर गाउपालिकालाई ३० लाख, कालिञ्चोक गाउपालिकालाई १५ लाख र बिगु गाउपालिका १५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रमुख सचिव मानबहादुर बीकेलगायत सहभागी थिए  ।

तपाइँको प्रतिक्रिया ।