काठमाडौं महानगरपालिकाले उपलव्ध गराउदै आएको इन्धन,खाजा तथा भत्ता कटौती
कपन अनलाइन
काठमाडौं ,साउन १९ ।
काठमाडौं महानगरपालिकाले इन्धन, खाजा तथा भत्ता कटाएर प्रशासनिक खर्च घटाउने निर्णय गरेको छ । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको खर्च कटौती सम्बन्धि बैठकले सो निर्णय गरेको हो ।
महामारीले जनतामा परेको सकसमा बढी खर्च गर्न सकियोस् भनेर यसप्रकारको निर्णय गरेको बताउदै प्रमुख प्रशासकीय अधिकृत अर्यालले सरकारको खर्च मितव्ययी सम्बन्धि नीति, अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुधार सम्बन्धि सुझावलाई आधार मानेर महानगरको खर्च कटौती गर्ने निर्णयमा पुगेको बताएका छन।
साउन महिनाबाटै लागू हुने गरी गरिएको निर्णयमा फोहोरमैला व्यवस्थापनमा खटिने चालक र कुचीकार तथा कोभिड — १९ नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीलाई महाशाखा प्रमुखको शिफारिसमा शुरु तलब स्केलको ५० प्रतिशत भत्ता दिने बाहेक अन्य सबैको भत्ता कटौती गर्ने निर्णय गरिएको हो ।
बैठकले साउनबाट प्रमुख प्रशासकीय अधिकृतको मासिक इन्धन १०० लिटर, सहसचिवको ८० लिटर, बिभागीय प्रमुख/महाशाखा प्रमुख र महानगरका सवारीका लागि ७० लिटर र मोटरसाइकल प्रयोगकर्ताका लागि १० लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको छ । प्रशासन यसअघि प्रमुख प्रशासकीय अधिकृतका लागि १२० लिटर,सहसचिवका लागि १०० लिटर इन्धन उपलब्ध गराइँदै आएको थियो ।
यसै गरी बिभागीय प्रमुखहरुका लागि ८० लिटर तोकिएको थियो तर थप माग गरेर १०० लिटरसम्म दिने गरेकोमा अब कुनै सवारीले थप इन्धन लिनु पर्दा लगबुक भरेर किलोमिटरका आधारमा मात्र उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।
यस अघि २५० रुपैयाँ रहेको कार्यपालिका बैठकको खाजा खर्च घटाएर १५० रुपैयाँ कायम गर्ने निर्णय गर्दै सो बैठकले इन्धन उपयोगका बिषयमा अध्ययन गर्न यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यको संयोजकत्वमा ३ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । इञ्जिनियर प्रमोद डंगोल र लेखा अधिकृत श्याम न्यौपाने सदस्य रहेको समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।